सरकार छोड्ने वक्तब्य

प्रकाशित मिति: २८ असार २०७३, मंगलवार ०७:२७

maoist
पत्रकार साथीहरु,
हाम्रो नहान् तथा गौरवखाली पार्टी इतिहासमै गम्–भीर मोडमा आईपुगेको छ । गत बैसाख २१ गते सरकार छोडेर तातो पानीले नुहाउने निर्णय सुनाएका हामीलाई प्रधानमन्त्री ओलीले भद्र सहमतीको गोलीद्धारा चिसै पानीले नुहाउन बाध्य गराएको सर्बबिदितै छ ।

यही सरकारले बजेट उडाएपछि सत्ताको जेट उडाउने जिम्मा हामीलाई दिने तिनबुँदे इन्ट्रक्सनलाई लोप्पा खुवाउंदै ओलीले बोली फेरेपछि हामी यो निचोडमा पुगेका छौं कि, यी कुमाईं घुमाई घुमाई खान पल्केका ढाँट रहेछन् भन्ने बुझेर सरकार छोड्ने आँट गरेका हौं ।
जनता कन्भिन्स हुनेगरी सरकार छोड्नुको खास कारण नभएपनि खासखुस कारण चाहीं सत्ता नै हो । भुकम्प पींडितलाई राहत दिन नसकेकाले भनौं भने हामीले पनि केही लछारपाटो लगाउन सक्ने हैनौं । बिकास निर्माणको कुरा गरौं भने जनताहरु ओलीको सपनामा नै लठ्ठ छन् । राष्ट्रियता जोगाउन असफल भएकाले सरकार छोड्नु परेको भन्दा भारतसंग आंखा जुधाएरै बोल्न सक्ने प्रधानमन्त्री अहिलेसम्म देखिएन । त्यसैले ‘बिबिध कारण’ले सरकार छोड्नु परेको जानकारी गराउंछौं ।

सरकार बनाउन कांग्रेसले आश्वासन दिएतापनि उसको एमाले जतिकोपनि बिश्वास छैन । हामीलाई थाहा छ, यो मूलूकमा जुन सरकार आएपनि हुने केही हैन । देउवालेपनि ३,४ महिना हामीलाई सत्ताको चारो छरेर फेरी डोकाले छोप्ने नै हुन् । तरपनि हामी सरकार छाड्नै पर्ने अवस्थमा पुगेका छौं, किनकी इतिहासकै क्रान्तीकारी गोलचक्करमा हाम्रो पार्टी आई पुगेको ठम्याई छ ।

सरकार बनाऔं, थाहा छ, देशी बिदेशीले टिक्न दिंदैनन् । प्रतिपक्षमा बसौं, संबिधानको हत्या गरिदेलान् !
ओलीलाई खान दिऔं, सरकार छोड्न कार्यकर्ताको दबाब ! सरकार छोडौं, यही सरकारलाई सहमतीय आकार दिन जनताको दबाब † चुप लागेर बसौं, ‘निर्णय लिन नसक्ने’ भन्ने पारिवारिक आरोप् ! उफ्, यिनै गोलचक्करका बिच हामी सरकार छोड्ने निर्णयमा पुगेका छौं ।

अन्त्यमा, ओईलाउनुभन्दा मौलाउनु निको, मर्नुभन्दा बौलाउनु निको † यही सिद्धान्तका आधारमा, सके आफ्नै नेतृत्वमा सरकार बनाउने, नसके राष्ट्रि्य सहमतीय सरकारका नाममा शेरबहादुरलाई सत्ता सुम्पिने हो । शेर बहादुरले अन्तराष्ट्रि्य सहमतीका नाममा भारतलाई गुर्हालान् । भारतले हिन्दु राष्ट्रि्य सहमतीका नाममा राजतन्त्र पुर्नस्थापित गर्ने कोशिष गर्ने होला । आ, जेसुकै होस्, सके छोराले दोश्रो पटक प्रधानमन्त्री खान्छ, नसके मेरा बाबुको के जान्छ ।

भ्रान्तीकारी अभिवादन सहित्
क.अड्चन्द्र

disclaimer: उपरोक्त रचनालाई आधिकारिक र सत्य ठानेर विश्वास पर्न गएमा हास्यास्पद हुनेछ । यो रीयल कुराहरुमाथी गजुरीयल टिप्पणीमात्र हो ।

WhatsApp Transparent Mod Download

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com