सरकार नढल्ने पाँच प्रमाणहरु

प्रकाशित मिति: ३१ असार २०७३, शुक्रबार ११:१३

Pmo-Office-2वर्तमान् सरकार ढाल्ने चौतर्फी प्रयास भएपनि कुनै हालतमा सरकार नढल्ने निचोडमा बिज्ञहरु पुगेकाछन् । डाक्टर, ईन्जिनियर, भाषाशाष्त्री, ज्योतिषशाष्त्रीहरु सम्मिलित विज्ञ समुहले बिभिन्न तर्क प्रश्तुत गर्दै ओली सरकारलाई ढुक्क भएर बस्न सुझाव दिएकाछन् ।

गजुरीयल डटकमसंग कुरा गर्दै बरिष्ठ ईन्जिनियर कऱ्याप् केसीले भने, ‘ढल्नकालागि पहिले उम्रिनु वा गाडिनुपर्छ तर टालाटुली बटुलेर बनाईएका कुनैपनि सरकारहरु ढल्ने कुरै आउंदैन ।’

बरिष्ठ स्त्रिरोग बिशेषज्ञ डा.होला रिजालका अनुसार संसारका कुनै पनि सरकारलाई कसैलेपनि ढाल दिन सक्दैन । उहाँ भन्नुहुन्छ, ‘सरकारलाई ढाल दिएपनि उसलाई त्यो चिज काम लाग्दैन । बरु दिने नै भए जसलाई त्यसको आवस्यकता छ, उसलाई दिएमा साधनको सदुपयोग हुनसक्छ ।’

स्खलित ज्योतिषाचार्य त्रिकालदेव पण्डितको भनाई छ, ‘सरकारलाई ढाल दिने कुरा अनैतिक, अमांगलिक र अप्रासंगिक छ । बरु त्यो आफैं प्रयोग गर्ने हो भने जन संख्या नियन्त्रणमा काम लाग्न सक्छ । प्रकृति र परमेश्वरको कल्याणपनि यसैमा छ ।’

सर्व साधारणहरुले पनि सरकार ढल्ने कुरा पत्याएका छैनन् । रत्नपार्कमा भेटिएका हेटौंडाका टेक्सी चालक चतुर वाईवा प्रश्न गर्छन्, ‘बुढ्यौलिएको रुख, कुहिएको खम्बा, मक्किएको किलो वा भत्किएको घरजस्तो भए पो ढाल्ने र ढलाउने कुरा हुन्थ्यो ! बन्ने र बिग्रिने कुरालाई ढाल्ने र ढलाउने भनेको सुन्दा कम्ति हाँस उठ्दैन भन्या !’

बरिष्ठ भाषाविद् डा. माधव पोखरियाल त झन् सरकार ढल्ने कुरा पत्याउंदापनि पत्याउंदैनन् । उनले आफ्ने फेसभुकमा लेखेकाछन्, ‘सरकार परिवर्तन हुनसक्छ, हट्न सक्छ, अर्को आउन सक्छ, चेन्ज हुन सक्छ तर सरकार ढल्छ र ढालिन्छ भन्ने कुराचाहीं पटक्कै पत्याउंन सकिन्न । ‘

बिज्ञहरुको यो निष्कर्षपछि ओली सरकार ढल्ने पिरले छटपटाएकाहरु र भोली सरकार ठडिने खुशीले उफ्रिएका दुबै पक्षहरु  ‘ढालदिने’ र ‘ढलाउने’को साटो बैकल्पिक शब्द खोज्नका लागि त्रिभुवन विश्व बिद्यालय, नेपाली भाषा बिभागमा धाउन थालेको बिभागका प्रमुख नेत्रपाणी नेपालले बताउनु भयो ।

disclaimer: उपरोक्त रचनालाई आधिकारिक र सत्य ठानेर विश्वास पर्न गएमा हास्यास्पद हुनेछ । यो रीयल कुराहरुमाथी गजुरीयल टिप्पणीमात्र हो ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com