अख्तियार प्रमुखलाई क्याथार्सिस् !

प्रकाशित मिति: ११ श्रावण २०७३, मंगलवार १६:३२

Lokअख्तियार प्रमुख लोक महान् सिंह कार्कीले शुसासन समितिलाई गज्जबको जवाफ दिएकाछन् । समितिले कार्कीसँग दुईवटा बिषयमा सोधेको थियो । एउटा, ‘के.यू.को परिक्षामा अख्तियारले किन हस्तक्षेप गऱ्यो ?’ अर्कोे, ‘समग्र चिकित्सा क्षेत्र बिकृतिमा अख्तियारको संलग्नता बारेमा के भन्नु हुन्छ ?’ पहिलो प्रश्नमा कार्कीले ‘घाँटीमा संक्रमण भएकोले’ लेखेका थिए भने दोश्रोमा ‘सात दिनसम्म बोल्न मिल्दैन ।’ भन्ने जवाफ फर्काएका थिए ।

 

लिखित रुपमा पठाईएको कार्कीको जवाफपछि समितिका पदाधिकारीहरु रुनु न हाँस्नु बनेकाछन् भने सरकार उनको स्वाश्थ्यलाई लिएर गंभीर बनेको छ । ‘भावी प्रधानमन्त्री’ रुपमा समेत आशंकित कार्कीको स्वाश्थ्य सुरक्षाकालागि बैद्य, चिकित्सक, योगाचार्य, ध्यानविज्ञ, मनोविज्ञ सहित्को टिम निर्माण भएको भएको छ ।
योगाचार्य डा. दाजु अधिकारीका बिचारमा लोकमानलाई ‘कण्ठग्नी’ भएको हुनुपर्छ । ‘चाहिनेभन्दा बढि सिंहासन गर्नेहरुमा यो समस्या देखिन्छ ।’ डा. अधिकारी सुझाव दिन्छन्, ‘उहाँले सिंह गर्जासन हैन, कोईली बासासन गर्नुपर्छ ।’ यसो गरेमा ‘टिकासन’ हुने नत्र ‘निकासन’को समस्या बढ्ने उनको उनको बुझाई छ ।

नरदेवी आयुर्वेद अस्पतालका बरिष्ठ चिकित्सक आरामदेव साहको भनाईमा ठ्याक्क सातै दिन बोल्न नमिल्ने रोगलाई ‘झुलान्जाईटिस्’ भनिन्छ । भन्छन्, ‘यसकालागि ६ दिनसम्म लगातार ‘दबाब चुर्ण’ खुवाउनु पर्ने हुन्छ । सातदिनसम्मपनि ठिक नभए ‘कण्ठशुद्धी प्रकृया’मा जानुपर्छ, जुन एकदमै गाह्रो हुन्छ ।’
काठमाण्डौ मोडेल अस्पतालका इएनटी प्रमुख डा. गंभीर थाहा’पा छक्क पर्छन्, ‘कि छ दिन हुन्छ, कि त आठदिन हुन्छ, ठ्याक्कै सातैदिन बोल्न नमिलेर आठौंदिनमा फ्याट्टै बोली फुट्ने रोग बिल्कुल नयाँ हो ।’ उनले भने, ‘हामी प्रमुखज्यूको घरमै गएर निशूल्क डाइग्नोसिस गर्न चाहान्छौं ।’

ओशो तपोबनमा प्रमुख स्वामी आनन्द तरुणले कार्कीको घाँटीमा रोग नभएर ध्यान योगको असर परेको बताए । ‘डाईनामिक ध्यानको क्रममा क्याथार्सिस अलि भएजस्तो छ ।’ ओशो सन्यासी कार्कीलाई स्वामी तरुणले सुझाव छ, ‘क्याथार्सिस कम, यर्थाथिस् ज्यादा हुनु पऱ्यो ।’

‘क्याथार्सिस’ ओशोको त्यो ध्यान पद्धती हो जसमा साधकले मनका संपूर्ण भावहरु अभिब्यक्त गर्दछ । रुने, कराउने, चिच्याउने, उफ्रिने, पछारिने, गाली गर्ने, मुख छाड्ने, मनमा जे जे दमित छन्, ति सबै बाहिर फाल्नाले मन शान्त हुन्छ भन्ने ओशोको सुझाव छ ।

*तस्वीर: तानतुन डटकम

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com