ईयूलाई ‘विप्लव’को धम्की, प्रतिवेदन सच्याउ नत्र…

प्रकाशित मिति: १४ चैत्र २०७४, बुधबार ०७:०४

ओए, ईयू, थप्न नखोज आगोमा घिउ ! रोप्न नखोज झगडाको बिउ ! नेपालीसँग नखोज निहुँ ! तिम्रो बोलीले हाम्रो चिलायो जिउ ! त्यसैले धेरै बोल्ने मुख सियोले सिउ ! छिट्टो आउ ! प्लिज, आफ्नो प्रतिवेदन सच्याउ !

हामी वीर नेपालीहरुसँग पैसा नहोला तर गरिब छैनौं । विवेक नहोला तर बुद्धु छैनौं । तिमी युरोले देश चलाउछौ, हामी पनि कुरोले देश चलाउछौं । तिमीसँग हात हतियार होला, हामीसँग पनि लात हतियार छ । तिमीसँग भएको त्यही बिकास होला, हामीसँग सिंगो आकास छ । प्लिज, आफ्नो प्रतिवेदन सच्याउ !

यदि कुटनैतिक हस्तक्षेप रोक्दैनौ भने, राजनैतिक प्रहार बन्द गर्दैनौ भने, साँस्कृतिक अतिक्रमण अन्त्य गर्दैनौ भने, यदि यो प्रतिवेदन फेर्दैनौ भने, सच्याउँदैनौ भने, यदि तिमी सच्चिंदैनौ भने, हो यदि तिमी साँच्चै सच्चिंदैनौ भने, कन्फर्म नसच्चिने नै हो भने, हामी वीर नेपाली……हामी आफैं सच्चिन्छौं !

अब तिमीसँग बुद्धका नाममा माग्ने छैनौं । युद्धका नाममा लिने छैनौं । शान्तीका नाममा सोहोर्ने छैनौं । क्रान्तीका नाममा कुम्ल्याउने छैनौं । नाममा धोक्ने छैनौं । कर्मका कोच्ने छैनौं । संबिधान बनाउन लिने छैनौं । चुनाव गराउन चप्काउने छैनौं । दिशा धुन , पिसाब गर्न, बच्चा जन्माउन, कण्डम लगाउन हामी माग्ने छैनौं ।

हामी सच्चिएर आफ्नै खुट्टामा उभियौं भने तिम्रो डोनेसन कसले लिन्छ ? तिम्रो एड कसलाई दिन्छौ ? तिम्रो मिसिनरी कहाँ खटाउँछौ……..भनेर ईयूलाई सोध्ने आँट हामीमा छ भने राम्रै हो, हैन भने त कुरा गऱ्यो कुरैको दुख !-मनोज ‘विप्लव’ गजुरेल

 

 

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com