अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’

प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार १९:१०

हिजो बालुवाटारमा बिशेष रौनक थियो । कारण, प्रधानमन्त्रीको निमन्त्रणामा ‘लञ्च’ लिन थुप्रै फिल्मी कलाकार त्यहाँ पुगेका थिए । ११ बजेको सेड्यूल दिइएपनि १ बजेसम्म प्रधानमन्त्रीको उपस्थिति भएन ।  त्यो बिचमा कसैले बालुवाटारको बगैंचामा सेल्फी खिचेर समय कटाएका थिए भने केही कलाकार ‘ग्यास्टिकले माऱ्यो’ भन्दै गुनासो गर्दै थिए । १२ बजेर ४५ मिनेटमा प्रधानमन्त्री आएपछि ‘लञ्च महोत्सव’मा बल्ल उल्लास छाएको थियो ।

कलाकारलाई ११ बजे बोलाएर आखिर कहाँ गएका थिए प्रधानमन्त्री ? वालुवाबटार शूत्रका अनुसार, प्रधानमन्त्री निवासभित्रै थिए । कलाकार धुर्मुस-सुन्तली सहित केही अभियन्तासँग अति गोप्य कक्षमा प्रधानमन्त्रीले दुई घण्टा छलफल गरे । मुख्य एजेण्डा थियो, धुर्मुसलाई मन्त्री बन्ने प्रस्ताव !

सहभागी एक अभियन्ताका अनुसार, शुरुमा धुर्मुसले  प्रधानमन्त्रीको यो प्रस्तावलाई ठट्टा ठाने । प्रधानमन्त्रीले सुन्तलीतिर हेर्दै  ‘मन्त्राणी बन्ने हैन त दुलही ?’ भनेर मुसुक्क हाँसेपछि धुर्मुस गंभीर बनेका थिए । जवाफमा सुन्तलीले ‘बाले भनेको कुरा छोरा-बुहारीले काट्न पनि मिलेन क्यारे !’ भनेपनि धुर्मुसचाहीं पन्छिन खोजे, ‘तावाबाट हाम फाल्दा भुङ्ग्रोमा परिने हो कि !’ सुन्तलीले आँखा तरेपछि सम्हालिंए, ‘के त, के त, मन्त्रालयको नाम चाहिं के त ?’

प्रधानमन्त्रीले प्रमुख सल्लाहकार बिष्णु रिमालतिर हेरे । रिमालले भने, ‘अहिले बिना विभागीय गरौं, क्याबिनेट बैठकपछि कतै एडजष्ट गरौंला ।’ धुर्मुस रिसाए, ‘विभागीयले चाहेजस्तो गर्न सक्नु भएको छैन, बिना विभागीय गएर म खरानी हुनु दाजु ?’ भन्दै सिस्नुपानी नेपालका महा—सचिब टंकराज आर्चायतिर हेरे । आचार्यले प्रधानमन्त्रीलाई भने, ‘धुर्मुस भाइ जहाँ छन्, ठिक छन्, अहिलेलाई अभियन्ता नै रहन दिने कि ?’ जवाफमा प्रधानमन्त्रीले आचार्यको मुखमा बुजो लाए, ‘बागमती सफाईमा तपाईं नै हैन ‘हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कैले गर्ने भन्दै कराउने ? यो कुरोपनि त्यस्तै हो ।’

स्वकिय सचिब राजेश बज्राचार्यले प्र.म.का कानमा केही भने । एकछिन सन्नाटा छायो । टिममा रहेका एक हास्यब्यंग्य अभियन्ताले प्रश्ताव राखे, ‘बिना बिभागीय पनि हैन, अरु मन्त्रालयपनि हुँदैन । काम गर्ने मान्छेलाई त काम लाग्ने मन्त्रालय दिनु पऱ्यो नि ।’


प्रधानमन्त्रीले सोधे, ‘भन्न खोज्या के ?’ धुर्मुस बोले- ‘त्यो काम नगर्ने ‘पुनर्निर्माण प्राधिकरण’ खारेज गरौं, र, काम गर्ने  ‘पुनर्निर्माण मन्त्रालय’ गठन गरौं ।’ टिममा रहेका हास्यव्यंग्य अभियन्ता मनोज गजुरेलले प्रष्ट कुरा राखे- ‘अनि धुर्मुस भाइलाई मन्त्री बनाऔं, तपाईंको प्रधानमन्त्रित्वकालको सबैभन्दा राम्रो काम यही मन्त्रालयले गर्नेछ ।’

प्रधानमन्त्रीले प्रमुख सल्लाहकार रिमाललाई सोधे, ‘तत्कालै नयाँ मन्त्रालय जन्माउन संभव छ त ?’ रिमालले ठट्टामै जवाफ फर्काए, ‘मान्छे भए पो नौ महिना लाग्छ, मन्त्रालाय जन्मिई हाल्छ नि !’ अर्का स्वकिय सचिबले कुरा काटे, ‘मन्त्री मात्रै थपेर के गर्नु, बस्ने ठाउँपनि त हुनु पऱ्यो नि । बहालवाला मन्त्रीहरुलाई नै मन्त्रालय र क्वाटर पुगेको छैन !’ सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले भने, ‘धुम्बाराहीमा अर्थमन्त्रीज्यूको घर खाली छ, सिताराम भाइलाई क्वाटर त त्यहीं भैहाल्छ नि, दुवैजना गौरादहकै परे ।’ प्रधानमन्त्री मुसुक्क हाँसे मात्र ।

 


धुर्मुसले भने, ‘क्वाटरको लागि त समस्यै छैन नि । बालकोटमै मनोजदाईको घर खाली छ । तर, मन्त्रालय त फिक्स हुनु पऱ्यो नि ।’ जवाफमा प्रधानमन्त्री बोले, ‘के केपीले धुर्मुसलाई सिध्याउन मन्त्री बनाउ खोज्या हो ? मिलेर देश बनाऔं पो भनेको त ।’ फेरी प्रमुख सल्लाहकारसँग केहीबेर कानेखुशी गरे, त्यसपछि उठेर धुर्मुसलाई धाप मार्दै भने, ‘ल बधाई छ । मोदी गाउँबाट फर्किएपछि पुनर्निर्माण मन्त्रीज्यूलाई झण्डा हल्लाउने ब्यवस्था हुन्छ ।’ उपस्थित सबैतिर एक नजर घुमाएपछि थपे, ‘अहिलेलाई यो कुरा चुपचाप चारआना, हल्ला गरे बाह्र आना—थाहा होला नि, टप सेक्रेसी भन्ने कुरा !’ सबैले मुन्टो हल्लाए । त्यसपछिमात्र प्रधानमन्त्रीको सहितको यो टोली लञ्चमा सहभागी भएको थियो ।

 

 

पुनर्निर्माण मन्त्री बन्ने पक्का भएपछि हिजै बेलुका धुर्मुस—सुन्तली फाउण्डेसन कार्यालय बानेश्वरमा सल्लाहकार समितिको बैठक बसेको थियो । बैठकले धुर्मुस मन्त्री भएपछि गर्ने कामको लिष्टपनि हिजै प्रधानमन्त्रीलाई इमेल पठाईएको छ । लिष्टका अनुसार १ बर्षमा सबै भुकम्प पीडितका घर बनाई सक्ने, धरहराको निर्माण २ बर्षमा पुरा गर्ने, काठमाण्डौ-हेटौडा सुरुङ्मार्ग ३ बर्षमा, अन्तराष्ट्रि्य क्रिकेट मैदान ४ बर्षमा र ५ बर्षभित्रमा काठमाण्डौको आधा आवादीलाई अन्यत्र सार्ने र राजधानीलाई संसारकै शान्त, स्वश्थ र सुन्दर शहर बनाउने प्रतिबद्धता जनाईएको छ ।

 

 

बालुवाटारको यो गोप्य संझौतापछि धुर्मुस क्रिकेट मैदानकालागि जग्गा खोज्न ३ नंबर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलसहित काठमाण्डौ, भक्तपुर र ललितपुरका बिभिन्न स्थानमा घुमि रहेकाछन् ।

 

 

धुर्मुस मन्त्री बन्ने पक्का भएको यो गोप्य सुचना सहभागीबाटै चुहिएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिकृया आउन थालेकाछन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘उहिल्यै धुर्मुससँग एकता गर्नुपर्ने रहेछ, बेकारमा प्रचण्डसँग गरियो ,पछि परियो !’ चर्चित ट्विटे लेनिन बञ्जाडेले ट्विट गरेकाछन्, ‘नाममात्रै लेनिन भएर के गर्नु, बाम सरकारको मन्त्री हुन झापामै जन्मिनु पर्दो रहेछ !’

‘कान्छीको श्रीमान् मो’ नामका एक फेसबुक प्रयोगकर्ताले पुरानो ‘ब्ल्याक एण्ड ह्वाईट’ ग्रुप फोटो राख्दै लेखेका छन्, ‘सीताराम दाइसँग गौरादहमा होली खेल्दै ! तर उहाँ रङ् किन्न जानु भएकाले फोटोमा हुनुहुन्न !’ धुर्मुसपत्नी कुञ्जना घिमिरे ‘सुन्तलीले’ लेखेकी छिन्, ‘कङ्ग्राचुलेसन्स धुर्मु, यु मेड माई लाईफ हनी !’ पत्रकार फुलमान बलले मनोज गजुरेललाई ट्याग गर्दै ब्यंग्य गरेकाछन्, ‘राम्रो मान्छेलाई सिध्याउनु छ भने मन्त्री बनाई दिनुपर्छ, आईडिया त गज्जब निकाल्नु भएछ आस्याङ् !’ सबै कृयाहरुको अन्तिममा हास्यब्यंग्यकार मनोज गजुरेलले प्रतिकृया दिएकाछन्, ‘दिस ईज फेक ! दिस आर्टिकल ईज एब्स्यूलिटली फेक !! बिकाउज टुडे इज अप्रिल फूल, द हा…हा…हा..!!!’

 

 

 

(नोट: यो सामाग्री अनुमती बिना प्रकासन, स्वराङ्कन र चोराङ्कन गर्न पाईने छैन । सर्बाधिकार www.gajureal.com सँग सुरक्षित छ ।)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com