सर्वव्यापी सर्वेन्द्रलाई सफलताको शुभ कामना, सफल शैलेन्द्रलाई स्वागत…

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलवार १६:०२

‘पोलिटिकल सेन्स वीथ ह्युमर’ केपी शर्मा ओली प्रधानमन्त्री, ‘फाइनान्सियल नलेज वीथ स्माईल’ डा. युवराज खतिवडा अर्थमन्त्री, ‘वर्क वीथ डेडिकेसन’ शैलेन्द्र खनाल शशष्त्र आईजीपी, ‘सक्सेसफुल ईन एक्सन ‘ सर्वेन्द्र खनाल जनपद प्रमुख ! देशले यस्ता मान्छे पाउँदा पनि जनताले शान्ती र उन्नतीको अनुभुती गर्न पाएनन् भने पत्याउनै पर्छ, साँच्चै यो देश सतिले सरापेकै रहेछ !!

यसअघि थुप्रै सफल काम गरेका सर्वेन्द्र खनाल आज प्रहरी प्रमुख बनेकाछन् । फुटबलमा फिक्सिङ गर्ने खेलाडी पक्राउको घटना होस् वा विभिन्न हत्या र अपरहरण काण्डका नायकहरूलाई सर्वाङ्ग गराउने योजना होस्, अपराधका यस्ता थुप्रै जालो चुँडाउने सर्वेन्द्र खनाललाई बधाई तथा शुभ कामना ।

पुलिसले चोर समात्यो, यो प्रमुख समाचार होइन । डाका पक्राउ गर्यो, यो पनि हाइलाइट गर्ने न्यूज    मानिँदैन । तस्करलाई कब्जामा लिने, गुन्डालाई गोली ताक्ने, अपहरणकारीलाई अदालत पुर्याउने, हत्यालाई जेल हाल्नेजस्ता कार्यहरू प्रहरीको दायित्वभित्र पर्ने सामान्य कर्तव्य हुन् ।

तर जब प्रहरी यी सामान्य दायित्वभन्दा माथि उठेर काम गर्न थाल्छ, त्यतिबेला समाचार मात्र होइन, उसलाई सहयोग, हौसला र धन्यवाद पनि दिनुपर्छ । ‘प्रहरीद्वारा नेताको भेषमा हिँड्ने डन पक्राउ परेको’ कुरा समाचार बन्नुपर्छ । ‘कर्मचारीको भेषमा हिँड्ने तस्कर समातेको’ कुरा न्यूजमा आउनुपर्छ । ‘खेलाडीको आवरणमा दौडने सट्टेबाज समातेको’ कुरा ब्रेकिङ न्यूज बन्नुपर्छ । ‘वरिष्ठ समाजसेवी’ को मुकुन्डो लगाएर जनता ठग्ने ठगलाई ठेगान लगाएको’ विषयलाई सार्वजानिक रूपमा स्वागत गरिनुपर्छ ।

तर सर्वेन्द्र खनालको मात्र नाम लिइरहँदा अपराध नियन्त्रणको योजना बनाउने प्रहरीको केन्द्रीय संगठनलाई नजर अन्दाज गर्नुहुँदैन । त्यसैगरी, ज्यानको बाजी लगाएर फिल्डमा खटिने जुनियर अधिकृत तथा सिपाहीहरूलाई मन खोलेर धन्यवाद दिँदा चाकडी ठहरिंदैन, गाली र तालीको सिद्धान्तअनुसार नै हुन जान्छ ।
सर्वेन्द्रहरूलाई पनि भ्रष्टको निवासमा खानतलासी गर्न जाँदा ‘बढुवा गराई दिने’ आस देखाईयो होला !
डनका ‘केन्द्रीय कार्यालय’मा छापा मार्न जाँदा ‘जागिर खाइदिने’ त्रास दिईयो होला ! अपहरणकारीका महलहरूमा रेड हान्दा ‘परिवार सिध्याइदिने’ धम्की पनि आयो होला ! यस्तो अवस्थामा पनि ज्यान, लोभ, डरको विषाक्त ग्रन्थिलाई कर्तव्य योगले शमन गर्ने राष्ट्रसेवकहरूलाई साधुवाद दिन किन आइतबार कुर्नु ! अपराध नियन्त्रणमा प्रहरीको सक्रियता जे–जति हुँदैछ त्यो ‘जागिरमात्र खाने’हरूबाट भएको होइन र सम्भव पनि छैन ।

राजनैतिक आवरणमा हुने अपराधहरूको आतंकसँग त्यो मात्र भिड्न सक्छ जसले गुन्डागर्दीको पीडा आफैंले भोगेको छ, तस्करीको जालो आफ्नै आँखाले देखेको छ । अपराधको आतंक आफैं अनुभव गरेको छ । जसले अपहरण र हत्याले पीडितको दर्दनाक कथा हेरेको छ अनि पीडितको व्यथा सुन्न नसकेर कसैले नदेख्ने गरी तरक्क आँसु चुहाएको छ, त्यही राष्ट्रसेवकले मात्र अपराधको आगो निभाउन सक्छ । यसअघि हत्या, अपहरण, भ्रष्टाचारको हाँगा काटिरहेका ‘सर्वेन्द्र’लाई अपराधको जरै उखेल्ने शर्तमा पुन: बधाई तथा शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com