चिन्नु हुन्छ, ज्योतिष विज्ञानलाई बदनाम गराउने र मान्छेको घर बरबाद बनाउने यी ज्योतिषिलाई ?

प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार ०१:०८

ज्योतिष बिज्ञानमा अहिले अज्ञानको बाहुल्यता छ । यही अज्ञानतको कारण ज्योतिषिहरुप्रति जनताको बिश्वास कम भएको हो । यसलाई ग्रह हेर्नेको नै दशा बिग्रिएको मान्न सकिन्छ । ज्योतिष दुई प्रकारका हुन्छन् रे, फलित र गणीत ! गणीत ज्योतिषले ताराहरुको र फलितले ग्रहहरुको अध्ययनबाट ग्रहदशा हेर्छन् रे !  ‘रे’ यस कारण कि  शुद्ध ज्योतिषि भेट्ने मौका मैंले अहिलेसम्म पाएको छैन ।

फलित र गणीत बाहेक धेरै प्रकारका ज्योतिषिहरु भेटेको छु, जसले ज्योतिष बिज्ञानलाई नै बदनाम गनेका छन्। आउनोस्, तिनिहरुको ग्रह दशा केलाऔं ।

 

जडित ज्योतिषि: यिनीहरु दर्जनौं माला जडित भएर हिंड्छन् । दश वटा औंलामा बाह्र वटा औंठी, एउटा घाँटीमा दर्जन मालाको फन्दा लगाएर धन्दा गर्छन् । ग्रह मिलाउने भन्दै पथ्थर बेच्नु तथा दशा सम्हाल्ने भन्दै औंठी भिंडाउनु यिनिहरुको पेशा हो ।

 

लडित् ज्योतिष: यिनिहरुको टिभीमा हल्ला गर्छन् । रेडियोमा कुर्लन्छन् । पत्र पत्रिकामा प्रचार प्रसार हुन्छ । मिडियालेपनि निकै उचाल्छ । तर, यिनीहरुका प्रत्येक भविश्यवाणीहरु असफल भएर जनताको नजरमा नराम्रोसँग पछारिने भएकाले यिनलाई लडित् ज्योतिष भनिएको हो ।

 

सडित् ज्योतिषि: सडित्हरु यति सडिएका हुन्छन् कि परस्त्रि देख्यो कि ब्यभिचारको दुर्गन्ध छोडि हाल्छन् । अबोध नारीको कमजोरीको उठाउन सडितहरु एकदमै सडिएका हुन्छन् । संबन्ध बिच्छेद गराउनेदेखि ब्यक्तिगत स्वार्थ पुरा गर्नेसम्मको कला सडित्हरुसँग हुन्छ ।

 

गलित् ज्योतिषि: यिनले मानिसलाई यसरी गलाउँछन् कि जिन्दगीभरी उसको पछि लाग्न बाध्य हुन्छ । जतिसुकै बैज्ञानिक सोंचको मान्छेलाईपनि लोभ, लालच, डर र त्रास देखाएर गलाउन सक्ने क्षमता राख्दछन् ।

 

चलित् ज्योतिषि: यिनिहरु मान्छेको मुड अनुसार चल्ने गर्छन् । के सुन्दा ग्राहक खुशी हुन्छ, त्यही भनिदिएर चलितहरु दोकान चलाउछन् । चाकडी र चुक्लीमा अत्यन्तै चालु देखिने चलित्ले राजा, महाराजा, सेना, प्रहरीका हाकिमदेखी ठूला ब्यापारीसम्मलाई चंगुलमा राखेका हुन्छन् ।

छलित् ज्योतिषि: छलछाम छलितहरुको शैलि हो । मणीभन्दै छडी बेच्नु तथा सुन भन्दै पितल भिंडाउनु यिनको कर्म हो । दुर्गम गाउँका सोझा जनताहरु छलितका मुख्य ग्राहक हुन् । छलितहरुको छलछाममा परेर धेरै नेपालीहरुको घर बरबाद भएको छ ।

 

जलित् ज्योतिष: कालीको भक्त, दुर्गाको उपासक, भस्मेश्वरको चेला, ध्वस्तेश्वरको भतिजा भन्दै यिहिरुको घर घरमा डुल्ने गर्दछन् । आफुले भनेको नमाने भस्मेश्वरले भस्म गराउने, जलेश्वरले जलाउने भन्दै हावावाणी यिनको मूल काम हो । बैज्ञानिक चेत भएका मान्छेसँग कहिल्यै अगाडी नपर्ने जलितहरु सोमरसका पारखी हुन्छन् ।

 

हलित् ज्योतिषि: हतिलहरु कुनै निश्चित उद्धेश्यकालागि भविश्यवाणी गर्छन् । कसैको कुत्सित मनसाय पुरा गर्न काल्पनिक कुरा गर्नु हलितहरुको काम हो । अर्काको हलि भएर ज्योतिष बिज्ञानलाई अज्ञान बनाउन लागि पर्ने भएकाले यिनलाई हलित् ज्योतिष भनिएको हो ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com