खुट्टा काट्ने प्रमको मन्तव्य : युरोपेली युनियनद्वारा विरोध, विप्लवको समर्थन !

प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार १३:१३

‘जुत्ता नमिले खुट्टा काटेर भएपनि मिलाउनु पर्छ !’ प्रधानमन्त्रीको यो लेटेस्ट ओड्कीलाले बजारमा हजार वाटको झड्का लागेको छ ।  झड्काले एकता विरोधीहरू डङ्र्ङ्ग  पछारिएका छन् भने पक्षधरहरु जुरुक्क उठेंका‌ छन् । प्रस्तुत छ, प्रधानमन्त्रीको भनाइप्रति विभिन्न पक्षको वक्तव्य:

 

‘प्रधानमन्त्रीको खुट्टा काट्ने कुराले शान्ति प्रक्रियामाथि नै प्रश्नचिन्ह खडा भएको छ । हामी खुट्टा काट्ने लाईन छोडेर जुत्ता खोज्ने सिद्धान्तमा अाई सक्यौं, उहाँ चाहिँ काटमार तिरै फर्कन खोज्दै हुनुहुन्छ । यसले पार्टी एकता मात्र हैन, शान्ति उन्मुख नेपाली समाज फेरि हिंसामा जाने खतरा बढेको छ ।’
पुष्पकमल दाहाल, अध्यक्ष
एकीकृत माओवादी

 

‘कम्युनिष्ट सरकार आए रुन पनि पाइँदैन, हाँस्न पनि पाइँदैन भन्ने कुरा अब पुष्टि भएको छ । जुत्ता मिलाउन खुट्टा काट्ने उनको तर्क यही कुराको संकेत हो ।’
शेर बहादुर देउवा, अध्यक्ष
नेपाली कांग्रेस

 

‘बढ्दो क्रान्तिकारी ध्रुविकरण लाई कमजोर पार्न मात्रै ओलीले खुट्टा काट्ने कुरा गरेका हुन् । यदि साँच्चै आफ्नो बोलीमा प्रतिबद्ध छन् भने तुरुन्तै राजीनामा दिएर हाम्रो पार्टीमा आउन् , पक्राउ पुर्जी खारेज गर्छौं । हैन भने अर्को पक्राउ पुर्जी काट्न बाध्य हुने छौं ।’
-‌ नेत्र विक्रम चन्द ‘विप्लव’, संयोजक
नेपाल कम्युनिस्ट पार्टी

 

‘हाम्रो मात्रिपार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको खुट्टा काट्ने भाषणले हामी युवाहरु अत्यन्तै उत्साहित भएका छौँ । देशभरिका लाखौं युवाहरु पार्टी एकताका लागि जोसुकैको खुट्टा काट्न तयार रहेको  जानकारी गराउँछौं ।’
रमेश पौडीवाल, अध्यक्ष
युवा संघ नेपाल

 

‘हिजो लेनिन जयन्तीको अवसरमा कार्यक्रमस्थलमा भएको होहल्लामा हाम्रो संगठनलाई मुछ्ने कामप्रति हाम्रो घोर आपति छ । खासमा हामीले एमाले अध्यक्षको खुट्टा काट्ने कुराको समर्थनमा हुटिङ गरेका थियौं । हाम्रा अध्यक्षले हाम्रो गौरवशाली विगतलाई भुल्दै गएको अवस्थामा एमाले अध्यक्षले क्रान्तिकारी कुरा गर्नु हामी सबैका लागि गौरवको कुरा हो ।’
क. आराम सापकोटा ‘दीपशिखा’, अध्यक्ष
वाइसियल

 

‘हिंसा र अशान्तिको लामो शिलशिला तोड्दै अगाडि बढेको नेपाली राजनीति प्रधानमन्त्रीको खुट्टा काट्ने कुराले हामी अत्यन्तै चिन्तित भएका छौं । बरु पार्टी एकता नहोस् तर काटकुट गरेर एक हुने कुरामा हाम्रो गम्भीर आपति छ ।’
मार्क टुइट, प्रतिनिधि
युरोपेली युनियन

 

‘प्रधानमन्त्रीको कुराले नेपालको चिकित्सा क्षेत्र अत्यन्तै दुखित भएको  छ । खुट्टा काट्ने काम चिकित्सकको हो । मानार्थ डाक्टर उपाधि पाउनासाथ  कसैले खुट्टा काट्न सक्दैन । प्रधानमन्त्रीले आफ्नो भनाई फिर्ता नलिए देब्रे खुट्टाको एक्सरे गरेर दाहिनेको अपरेसन गर्ने कामलाई निरन्तरता दिन बाध्य हुनेछौं ।’
– अध्यक्ष
नेपाल चिकित्सक संघ, काठमाण्डौ

 

‘प्रधानमन्त्री को मन्तव्यप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।  आवश्यक साइजका जुताको उत्पादन बढाउनु पर्नेमा खुट्टै काट्ने कदमले  जुत्ता कम्पनीहरु टाट पल्टने कुरालाई नजर अन्दाज नगर्न प्रधानमन्त्रीज्यूले अनुरोध गर्दछौं ।
अनिरुद्र नारायण चौलागाई, अध्यक्ष
नेपाल जुत्ता उत्पादक संघ

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com