काठमाण्डौको आकासमा खतराको घण्टी : क्याबिन क्रु, रेडी फर ल्याण्डिङ् !

प्रकाशित मिति: १६ बैशाख २०७५, आईतवार १३:१५

‘क्याबिन क्रु, रेडी फर ल्याण्डिङ्’, पाईलटले उद्घोष गरेको २ मिनेटपछि जहाज आकासतिर बतासियो !  ५ मिनेटपछि पुन: अनाउन्स हुन्छ, ‘फाईभ जिरो मिनेट होल्डिङ् ।’ बाक्लो कुहिरो, अग्ला डाँडाकाडा, साघुरो आकासमार्ग, त्यसमापनि इन्टरनेशनल फ्लाईट, ५० मिनेटको होल्डिङ्– धन्न वीर नेपाली थुरथुर कााप्दै नडराई काठमाण्डौमा उत्रिन्छ ।

कुरो आजैको हो । कतारबाट आउने हिमालय एयरलाएन्सका हामी यात्रुहरुले भोगेको घटना । भोगाई हाम्रो मात्र हैन, काठमाण्डौ उत्रिने हजारौं यात्रुको पनि हो । एउटामात्र रनवे, सयौं जहाजको उडान र अवतरण, व्यस्त हवाई ट्राफिक– एयरपोर्ट अथोरिटीको आफ्नै समस्या होला तर, समयमै यस्को व्यवस्थापन हुन नसके काठमाण्डौ उपत्यकाको आकास खतराको खेल केन्द्र बन्न सक्छ । कि त्यस्तो हुंदैन ?

 

मेरो लाटो दिमागले बुझेको कुरा, यहाँ जेपनि हुन सक्छ । धनगढी वा कांकडभिट्टाको रुटबाट नेपाल छिर्दा थाहा हुन्छ, नेपालको हवाईमार्ग कति सांघुरो छ । एउटा झ्यालबाट हेर्दा भारत देखिन्छ, अर्को झ्यालबाट चाईना देखिन्छ । अन्तारष्ट्रि्य जहाजहरु होल्ड गर्नु परेमा चाईनाको सिमाना क्रस गर्नु भएन, भारतले पनि आकासमा सिन्डिकेट खडा गरेको छ । यो खतराको खेल हैन र ?

 


आजैमात्र पनि प्रधानमन्त्रीले यो कुराको संकेत गरेका छन्, भारतले आकासमा पनि कन्जुस्याईं गरेको
छ । मोदीबा आउदा यो कुरो जोडदार रुपमा उठ्न जरुरी छ कि छैन !

 


अस्ती बाग्लुङबाट फर्कंदा म यति एयरलाईन्सबाट पोखरा–काठमाण्डौको उडानमा थिएं । २५ मिनेटमा ल्याण्ड गर्छौं भनेको जहाज ठ्याक्कै १ घण्टा होल्ड भयो । नपत्याए त्यो दिनको फ्लाईट स्टाटस हेरे हुन्छ । त्यहां एकजना भलाद्मी मान्छेले भन्दै थिए, ‘कैलेकाहीं कन्ट्रोलका कर्मचारी र पाईलटको मिसअन्डरस्टाडिङ्का कारण यात्रुहरु होल्डको मारमा पर्छन् ।’ यदि त्यस्तो हो भने तपाईंहरुको मिस अन्डरस्ट्याडिङ्का कारण हामीले खतरा मोल्नु पर्ने !  यो कति जायज छ !!

मन्त्रीहरुका सेलिब्रेटी घोषणाहरु धेरै आएकाछन् । जनताले आश गरेका युवामन्त्री रवीन्द्र अधिकारीले पनि धेरै घोषणा गरेकाछन् । मन्त्रीज्यू, जहाज थप्ने र नयाँ रुटमा पनि जहाज उडाउने काम एकछिन रोकौं, भएकालाई व्यवस्थित पारौं ।

बाहिरी जिल्लाका एयरपोर्टहरुलाई रात्री उडान योग्य बनाऔं । डोमेस्टिक जहाजलाई नाईटमा उडाऔं । यात्रु सुबिधाकालागि ती नगरमा रात्री बस सेवा चलाऔं । डोमेस्टिक उडान रात्री गर्दा काठमाण्डौको ट्राफिक जाम आधा कम हुन्छ । यात्रुहरुको मुटुले पनि ठाउँ छोड्दैन ।

प्राय: काठमाण्डौ जाने आउने अन्तराष्ट्रि्य उडानहरु राती हुँदा रहेछन् । तिनलाई दिउसो पार्नुपर्छ । किनकी राती काठमाण्डौ अवतरण गर्ने पर्यटकले उपत्यकाको सुन्दरता हेर्न पाउदैन । उज्यालोमा काठमाण्डौ उपत्यका छिर्ने पर्यटकलेमात्रै नेपालको बारेमा राम्रो सन्देश लान्छन् । राती आउनेले त भूतको शहर भनेर प्रचार गर्न बेर छैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com