चाबहिल-जोरपाटी खाल्डे खण्ड विश्व सम्पदा सुचीमा, मन्त्री र मेयरलाई पौडी खेलाईने…

प्रकाशित मिति: १८ असार २०७५, सोमबार ०७:१२

देश विश्वकपमा र सरकार सत्ताकपमा भिँडिरहेको बेला पूर्वोत्तर काठमाण्डौका जनता भने संसारकै समृद्ध सडकमा हिंडि रहेकाछन् । चावहिल–बौद्ध–जोरपाटीबाट सुन्दरीजल र साँखु जाने यो सडक विश्वकै ‘एडभेन्चरस डेस्टिनेशन’को रुपमा बिकसित हुँदैछ ।

‘बर्षामा हिलो र हिउँदमा धुलोको मज्जा लिने यस्तो सडक संसारको कुनै पनि राजधानीमा छैन’– सोही क्षेत्रका सांसद कृष्ण राईले गजुरियल डटकमलाई बताउन खोजे ।

क्लिनिक सञ्चालनका लागि दैनिक जोरपाटी पुग्ने डा. रवीन्द्र समीर भन्छन् , ‘गाडी चलाउँदा डुङ्गा चढेजस्तो र पैदल हिंड्दा पौडी खेलेजस्तो मज्जा आउँछ ।’ धेरै पटक पटकको ओहोर दोहोरमा डाक्टरका थुप्रै करंग हल्लिएको बिरामीहरु बताउँछन् ।

‘सडकका बिशाल पोखरी र खाल्डाहरुमा माछा पालन गर्ने योजना प्रदेश सरकारको छ ।’ ३ नं. प्रदेशका सांसद रामईश्वर फुँयालले बताएनन् ।

समाचार अनुसार यही सडक भएर सयौं पर्यटक बौद्ध स्तुपा पुग्छन् । देशी–बिदेशी पाहुनाहरु गोकर्ण रिर्सोट धाउँछन् । हजारौं बिरामीहरु केएमसी अस्पताल जान्छन् । थुप्रै पहुँचवालाहरु यही बाटो हिंडेर घर जान्छन् तर सडक जस्ताको तस्तै छ । किन त ? काठमाण्डौका मेयर सिद्या सुन्दर शाक्य भन्न भन्न खोज्छन् ‘रकमको अभावमा सडक नबनेको हैन । करोडौं पैसा खेलाउने गुम्बा व्यवस्थापन समिति यतै छ, ठुल्ठूला कार्पेट र माला ब्यापारीपनि यतै छन्, अर्बौ खर्च गर्ने मेलम्चीपनि यही बाटो भएर काठमाण्डौ पस्छ । खास कुरो के हो भने केही पनि हैन ।’

सबै सरकारीले कानमा तेल हालेर बसेपछि स्थानीयबासीले आगामी साता त्यहाँ बिषेश सडक महोत्सव गर्दैछन् । महोत्सवमा मन्त्रीहरुको दौड प्रतियोगिता, मेयरको खाल्डे पौडि कम्पिटिसन, सांसदको बाईक एडभेन्चर गर्नेछन् । वडाध्यक्षहरु मास्क र एयरब्लाक बिनै एक घण्टा सडकमा उभिनेछन् । ठेकेदारले धान रोप्नेछन् । डिजी ४ पटक उक्त सडक पैदल ओहोर–दोहोर गर्नेछन् ।

आयोजक समितिका अनुसार, महोत्सवमा आउन नमान्ने भिआईपीलाई जर्वजस्ती सहभागी गराईनेछ । यो खतरालाई ध्यानमा राख्दै बौद्ध प्रहरीले कुनै पनि भिआइपीलाई बैकल्पिक बाटोको रुपमा मित्रपार्क– माकलबारी रुट प्रयोग गर्न सुचित गरेको छ । यो कुरा थाहा पाएपछि माकलबारीबासीले पनि त्यस्तै महोत्सव आयोजना गर्ने भएकाछन् ।

खबरको पुष्टीलागि त्यहाँ पुगेका हाम्रा संवाददाताको बाईक र मोबाईल सोही सडकको खाल्डोमा हराएको छ । अत: यो समाचार पुष्टी भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com