यस्तो छ टिपर आतंकको नेता कनेक्सन, ट्रिपर आंतक बन्द गर्ने उपाय !

प्रकाशित मिति: २८ असार २०७५, बिहीबार ०५:२२

शहरमा अहिले ट्रिपर आतंक छ । आतंकमात्र हैन, हत्या आतंक नै भन्नोस् । हप्तामा एकजना यसको शिकार हुन्छन् । शिकारी २,४ दिन थुनिन्छ । १,२ लाख तिर्छ । निस्कन्छ र फेरी शिकार खेल्न सडकतिर जान्छ । ट्रिपर चालक भाइहरु देख्दा यस्तो लाग्छ, भरखर आमाको दुध छोडेर आएकाछन् । तिनको हंकाई देख्दा लाग्छ, काठमाण्डौ टु कतार हिडि रहेकाछन् । उनिहरुको ट्रिपरको स्पिड देख्दा लाग्छ, भाइहरु पुरा ट्रिपमा ट्रिपर चलाई रहेकाछन् !

 ट्रिपर आतंक रोक्ने केही उपाय यस प्रकार छन्।

पहिलो उपाय हो, फु गर्दा फुर्र उड्ने साईजका भाईहरुले टिपर न चलाउन् । । दोश्रो, अविवाहितले नहांकुन् । बिवाहितलाईपो परिवारको चिन्ता हुन्छ र स्टेयरिंग नियन्त्रणमा बस्छ । सिंगल म्यानलाई त न आफ्नो जिउको चिन्ता नत अर्काको ज्यानको चासो ! आयो क्या्च्च किच्यो मिति पुग्यो, टारेर टर्दैन त्यो !

तेश्रो, ट्रिपरको रुट क्लियर हुनुपर्छ । कमिलाको ढाडमा हात्ती चढ्दा के हुन्छ ? हो, त्यस्तै हुन्छ, काठमाण्डौका सडकमा ट्रिपर कुद्दा ! सडकबिज्ञहरुले भनि सके, काठमाण्डौको सडक ट्रिपरमैत्री छैन । बिज्ञले भनिसकेपछि पनि पावरमा बसेका अनबिज्ञहरु किन चुप् छन् कुन्नी ?

चौथो, बालुवा ठेकेदार, ब्यापारी, प्रसासन र नेताको चौपक्षिय सिण्डिकेटको अन्त्य । ठेकेदारलाई बालुवा बेच्नु पऱ्या छ । ब्यापारीलाई सुरक्षा चाहिएको छ । प्रशासनलाई कमिसनको लोभ छ । नेतालाई चन्दा चाहिएको छ । यी चार भाइ चाउरेहरुको मिलेमतो हुन्जेल ट्रिपर आतंक अन्त्य हुन्न ।

पांचौ , मुर्खंदेखी दैब पनि डराउनु । तपाईं राम्रो चालक हुनुहुन्छ । ट्रफिक नियमको जानकारी छ । पालना पनि गर्नु हुन्छ । लेन, लाईट संबन्धी ज्ञान पनि राम्रो छ । तरपनि ढुक्कसंग नहिड्नोस् । जुनसुकै बेला ट्रिपरले टिपेर लाने खतराप्रति सचेत रहनोस् । सडक नियम अनुसार हैन, ट्रिपरको अवस्था अनुसार चल्नोस्, हिंड्नोस् ।

पांचौं, सकेसम्म ट्रिपर १०० मिटर अगाडी पछाडी नउभिनोस्, नहिड्नोस्, नबस्नोस् । ट्रिपर अर्थात् ट्रिप लगाउने गाडी । जति धेरै ट्र्पि लगायो, त्यति धेरै कमाई हुन्छ । अगाडी गाडी छ वा पछाडी बाईक छ, त्यो मतलब हुन्न । त्यसैले यस्तो मानेर चल्नोस्, यो ट्रिपरमा ड्रईभर छैन, अटो ड्राईेभिंग मोडमा चलिरहको छ, आफ्नो ज्यानको सुरक्षा आफैं गर्नुपर्छ ।

याद राख्नोस्, ट्रिपर सडकको डन हो । पैदलयात्री, साईकल र बाईकरहरु निरिह जनता । कुनै डनका अगाडी निहत्था जनताले केही गर्न सक्छ ? अहं, लुट्न आयो भने खुरुक्क दिने, कुट्न आयो भने लुसुक्क भाग्ने । ट्रिपरसंग पनि हामीले गर्ने यति हो ।

अब दीर्घकालिन समाधान चाहीं सरकारले दिने हो । सरकारलाई सुझाव दिने हैसियत हामीसंग छैन । किनभने सरकार बोल्दैन । प्रसासन सुन्दैन । तर, त्यहां बस्ने मान्छेहरुलाई भनौं, जुनसुकै बेला तपाईंपनि यो आतंकमा पर्नसक्नु हुन्छ । साथीभाइ वा आफन्त पनि ट्रिपरले सिध्याउन सक्छन् । त्यसैले यो कहां चल्ने, कसरी चल्ने, कसले चलाउन पाउने, स्पिड कति हुने र कुन सडकमा कुदाउन मिल्ने, नमिल्ने, यो कानुन बनाउनोस् । नत्र जुनसुकै बेला राम नाम सत्य हुन्छ, आफन्तको अन्त्य हुन्छ, थाहा हुन्न ।

शहरका कलिला सडकमा डरलाग्दो ट्रिपरको आतंक देख्दा यस्तो लाग्छ, एउटी नाबालक नानीलाई अर्को मुस्दण्डे अपराधीले दिउंसै बलात्कार गरि रहेको छ । कडा कानुन बनाएर ट्रिपरले सडक र सडकयात्रीमाथी गरि रहेको बलत्कार रोक्नु पऱ्यो सरकार !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com