कामठण्डौका मेयरलाई अन्तराष्ट्रिय सम्मान रानी पोखरीमा जङ्गल सफारीको योजना

प्रकाशित मिति: ८ श्रावण २०७५, मंगलवार ०२:२८

कामठण्डौ महा नगरपालिकाका मेयर सिद्यया सुन्दर शाक्यलाई अन्तराष्ट्रि्य सम्मान प्राप्त भएको छ । बंगलादेशको राजधानी ढाकामा आयोजित ‘वर्ल्ड लेजियष्ट मेयर कन्भेन्सन’मा शाक्य सम्मानित भएका हुन् । यो पुरस्कार अद्भुत क्षमता भएका मेयरहरुलाई दिईन्छ ।

अजरवैजानको बाकु शहरका मेयर हिजाबाला इब्राहिमले प्रदान गरेको सम्मानपत्रमा भनिएको छ, ‘जनताको अत्याधिक बहुमत प्राप्त गरि सुन्दर नगरी कामठण्डौका मेयर बन्नु भएका तपाईंले यतिका समयसम्म माखो नमारी गजधम्म परि, अल्छी, बेकामे र अचम्मको मेयरको परिचय बनाउनु भएकोमा तपाईंलाई यो सिरक, डसना र ईयरब्लकको उपहार सहित सम्मान गरिन्छ । भोज गर्नोस्, मोज गर्नोस्, सोधखोज नगर्नोस् ।’

गुगलका अनुसार, कार्यक्रमको आयोजक नगर ढाका विश्वका फोहोर शहरमध्ये एक पर्छ भने सम्मानकर्ता इब्राहिमको नगर अजरबैजानको बाकु अग्रपंक्तिमा पर्दछ ।

सम्मान कार्यक्रमपछि आयोजित रात्रीभोजमा मेयर शाक्यले कामठण्डौलाई पनि विश्वका फोहर नगरहरुको टपटेन सुचीमा पार्न कुनै कसर बाँकी नराख्ने बताए । उपत्यकामा जम्मा हुने फोहोरका थुप्रोमा माउन्टेनिङ्, खाल्डाखुल्डीमा स्विमिङ्, सडकमा एनिमल ट्राफिकिङ्, रानीपोखरीमा जंगल सफारी, दुर्गन्धबाट स्मेल टुरिज्म, ट्राफिक क्राउड ईन्टरटेन्मेन्टको बिकास गर्ने योजना समकक्षीलाई सुनाएका थिए । नेपाली मेयरको योजना सुनेर बुर्किना फासोका मेयर झण्डै पासो लागेका थिए ।

कार्यक्रममा पाकिस्तानको रावलपिण्डी, इरानको खुरामाबाद, माडागास्करको अन्तानारिभो, ईथियोपियाको अदिस अबाबा, भारतको अहमदाबाद, हैंटीको पोर्ट अ प्रिन्स लगायतका सर्वाधिक फोहोरी र अव्यवस्थित शहरका मेयरहरुको सहभागिता थियो ।

अन्तराष्ट्रिय सम्मान लिएर फर्केपछि मेयर शाक्यलाई प्रधानमन्त्रीले रात्रीभोज दिने आशंका गरिएको छ । निमन्त्रणा पर्खेर बसेका मेयर शाक्यले गजुरीयल डटकमलाई भने, ‘खै, मलाई त थाहा भएन ।’

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com