लौ लिनोस्, मेरो पुरा परिचय…

प्रकाशित मिति: १३ श्रावण २०७५, आईतवार १५:३९

सबैलाई जय नेपाल तर म कांग्रेस होईन,
संग्रामी सलाम, तर म माओवादी होईन,
हार्दिक अभिवादन तर म एमालेपनि होईन ।

म कांग्रेस हैन, माओवादी हैन, म राप्रपा हैन,
राजावादी हैन, महाराजावादी हुने कुरै भएन
झाले, माले, केही हैन, म एउटा कुमाले हुँ ।

हो, म कुमाले हुँ,
हाँसोको गिलो माटोसँग रमाउँछु,
ब्यंग्यका बलिया बर्तन बनाउँछु,
कुमालेको चक्र झैं योदेखि त्यो सम्म घुमि रहन्छु,
किनकी म झाले, माले केही पनि हैन, कुमाले हुँ ।

प्रजातन्त्रको प्रसंग आउँदा, म कांग्रेससँग नजिक हुन्छु,
गणतन्त्रको कुरा चल्दाखेरी, म माओवादीलाई मान्छु,
स्वाधिनताको सवालमा, एमालेलाई संझन्छु,
पहिचानको कुरा गर्दा, म जनजाती हुन्छु,
आत्म संमानको कुरा गर्दा, म मधेशी बन्छु ।

म पहाडी हुँ, कञ्चनजंघा काख जन्मिएको हिमाली हुँ,
म लेखक हुँ, म कलाकार हुँ, म पुर्वेली हुँ, म झापाली हुँ,
तर सबैभन्दा ठुलो कुरा……म गोर्खाली हुँ, म नेपाली हुँ ।

-मनोज गजुरेल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com