स्वयम्भुका दुईटा आँखालाई प्रधान न्यायधिश बनाईने, न्याय अन्याय छुट्याउन गोरखा जाने…

प्रकाशित मिति: १६ श्रावण २०७५, बुधबार ०५:२१

प्रधान न्यायधिस नियुक्तिमा सरकार र प्रतिपक्षबिच कुरो मिल्न मिल्न आँटेको छ । कामु प्रधान न्यायधिसबारे विवाद भएपछि तेश्रो विकल्प खोजिएको हो । तेश्रो विकल्प अनुसार, नेपालको निर्विबाद न्यायधिशमा स्वयम्भुका दुईटा आँखालाई नियुक्ति गरिनेछ ।

यस अघिका प्रधानहरुपनि निर्विवाद थिएनन् । कोही घुसको कुराले ढुस्, कोही उमेरको बिषयले फास्फुस् र अहिले सर्टिफिकेटको प्रसंगले झसंग बनाएको छ । न्यायग्राही जनता भन्छन्, सर्बोच्चको उच्च पद सधैं विवादित बन्नु न्यायालयमाथी नै अन्याय हुनु हो !  ‘न्यायालयको सम्मानकालागि नै हामीले यो तेश्रो बिकल्प अपनाउन खोजेका हौं ।’ संसदीय समितिका एक सदस्यले नाम बताएपनि फरक नपर्ने शर्तमा भने ।

‘स्वयम्भुका दुईटा आँखाले न्याय अन्याय छुट्ट्याई हेर्ने’ साँस्कृतिक मान्यताका आधारमा प्रमुख न्यायधिस बनाउन खोजिएको हो । उमेरको हदवन्दी पनि नलाग्ने, घुसको कुरो पनि नआउने, सर्टिफिकेटपनि नचाहिने, बोल्दापनि नबोल्ने, खोल्दापनि नखोल्ने कारणले श्री स्वयम्भुनाथ नै उत्तम विकल्प रहेको अर्का सदस्यको भनाई छ । उनले थपे, ‘खास न्यायमुर्ती स्वयम्भुनाथ हुनुहुन्छ, अरु मुर्ती हैनन्, धिशमात्र हुन् ।’

स्वयम्भुका दुईटा आँखालाई मुख्य न्यायधिस बनाएपछि मुख्य न्यायालयचाहीं गोर्खामा बनाउने प्रश्ताव गरिएको छ । ‘न्याय नपाए गोर्खा जानु’ भन्ने राम शाहको उक्तीलाई पछ्याउँदै यो प्रश्ताव आएको छ ।

बुद्धि, विकेक, ज्ञान, योग्यता भएका संसदीय समितिका १५ जना मान्छेहरुले एउटा न्यायधिस छान्ने क्षमता नदेखाएपछि स्वयम्भुनाथ र गोर्खालाई छान्नु परेको बताईन्छ । तर न्यायधिस र न्यायालय अन्तै सारेपछि साविकको स्थानमा के गर्ने भन्ने अन्योलता छ । यसै कारण यो तेश्रो बिकल्पलाई काल्पनिक विकल्पको रुपमामात्रै मुल्तबी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com