ट्राफिकले ल्यायो नयाँ प्रविधि, नंबर प्लेट बिनै सवारी चलाउन पाईने ! #कडा कुरा

प्रकाशित मिति: २१ भाद्र २०७५, बिहीबार ०३:३६

 

 

के तपाईंको सवारीमा नंबर प्लेट मेटिएको छ ? ट्राफिकबाट जोगिन चोरबाटोबाट भाग्ने गर्नु भएको छ ? भाग्दाभाग्दै ट्राफिकको फन्दामा पर्नु भएको छ ? छ भने अब ढुक्कसँग हुईंक्याउनोस्, इन्द्रेको बाउ चन्द्रेले पनि सुईक्याउन सक्दैन ।

गजुरीयल डटकमका प्रतिनिधिले केही काम नपाएपछि हिजो काठमाण्डौका सडकमा नंबर प्लेट चेक गर्ने काममा सक्रिय रहे । बिहान बजे ९ देखि ११ बजेसम्म बिभिन्न चोकको स्थलगत भ्रमणपछि उनले केही अनौठा सुचना संकलन गरेकाछन् ।


उनले बस, ट्र्क, कार, मोटर साईकलका नंबर प्लेटहरुको सुक्ष्म अनुसन्धान गरे । उपत्यकामा चल्ने ती सवारी मध्ये २५ प्रतिशतको नंबर प्लेट नबुझिने थिए भने बुझेपनि बुझ पचाउनु पर्ने खालका भेटिए ।

कुनैमा ‘बा ११ प’ मेटिएर ‘ा ०० प्वाँ’ देखिन्थ्यो । कुनैमा ‘२४५५’ नंबरको ‘४५’ मा खिया परेर ‘२ प्वाल ५’ मात्र भेटिन्थ्यो । कुनैमा पुरै नम्बर उडेर खाली थियो भने केही नंबर प्लेटमा ‘बिस्तारै आउनोस्, मास्तिर ठाउँ छैन’ लेखिएको थियो ।

नंबर प्लेटमा अण्डर वेयर सुकाएर कोटेश्वरतिर हुईंकिंदै गरेका टिफरका पाईलटलाई सोध्यौं, ‘यस्तो गर्दा ट्राफिकले समाउँदैन ।’ २२ बर्षपनि नकटेका ती चालकले भने, ‘ईलाका त्यस्का, धमाका यस्का भएपछि कस्ले समाउँने !’

चाबहिल चोकमा ड्युटीरत एक ट्रफिकलाई हाम्रा संवाददाताले सोधे, ‘तपाईंको आँखै अगाडीबाट नंबर प्लेट मेटिएका सवारी गईरहेका छन्, देख्नु भएन ?’ ट्राफिकले भने, ‘दिनभरी धुलो र धुवाँमा उभिएर हाम्रो आँखा कमजोर छ, कहाँबाट देख्नु !’

यस बिषयमा हामीले ट्राफिकका एक अधिकृतलाई सोधेका थियौं,  ‘नंबर प्लेट मेटिएका सवारीले अपहरण, दुर्घटना गराउने खतरा हुँदाहुँदै किन नियन्त्रण गर्नु हुन्न ?’ नाम उल्लेख गरे लाईसेन्स खोस्ने शर्तमा उनले भने, ‘नंबर प्लेट मेटिएपनि गाडीको गती र ड्राईभरको मतिले हामी पत्ता लगाई हाल्छौं नि ।’

ट्राफिक महाशाखाले यस बिषयमा कस्तो कदम चाल्ने हो, त्यस बिषयमा हामी फलोअप गर्ने छैनौं किन भने हाम्रो पनि नंबर प्लेट मेटिएर चम्चा भएको छ  😀

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com