नेपालमा भारतीय जनता पार्टीको संगठन कमिटी

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलवार ०९:४४

पत्याउनु हुन्छ, नेपालमा भारतीय जनता पार्टीको पनि संगठन छ !  चिनियाँ कम्युनिष्ट पार्टी, अमेरिकन कङ्ग्रेस, पाकिस्तान पिपुल्स पार्टी, अवामी लिग, बङ्गालादेश…सबैको संगठन नेपालमा छ !
पत्यार त हामीलाई पनि लागेको छैन तर पत्याउनु पर्ने खतरा बढेर गएको छ । नेपाली पार्टीका संगठन युरोप, अमेरिकामा हुन्छन् भने अफ्रिकन, अष्टेलियनका संगठन नेपालमा नहोलान् त ! नभएपनी अब बन्छन्, नबनेपनी बनाउनु पर्छ भन्ने हाम्रो अ-सम्पादकीय लाईन हो ।
विद्वानहरु भन्छन्, बिश्वको जुनसुकै देशमा गएर राजनीति गर्न मानिस स्वतन्त्र छ तर त्यही देशको राजनीति गरोस् जुन देशको स्थायी वासिन्दा हो । यस्तो गर्दा उसको जन्मभुमी र कर्मभुमी दुबैको कल्याण हुने हनुमान छ ।
उदाहरणको लागी, नेपालका हरि भन्डारी अमेरिकी डेमोक्र्याटिक पार्टीमा ह्यारी भन्डारी हुन्छन् ! बिस्तारै त्यो पार्टीको केन्द्रमा पुग्छन् ! अलिपछि नेपालका लागि अमेरिकन राजदुत बन्छन् ! दुबै देशको मर्म बुझेका उनले अमेरिका – नेपाल संबन्धलाई सांस्कृतिक, सामाजिक र राजनैतिक रुपमा गर्विलो र दरिलो बनाउनेछन् ! कल्पना गर्दापनी क्या मज्जा आउँछ !

रमाईलो त अहिलेपनि लाग्छ जब  अमेरिकामा  नेकपा भेटिन्छ ! युरोपमा  नेपाली काङ्ग्रेस देखिन्छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी अष्ट्रेलिया, मधेसी फोरम युके हुन्छ । यस्तो बेलामा बिदेश गएको जस्तो पटक्कै लाग्दैन ।

नेपालमै नभएका नेपाली पार्टीहरु बिदेशमा हुन्छन्  भने भारतको काङ्ग्रेस (आई) वा अमेरिकाको रिपब्लिकन संगठन पनि त खुल्ला नेपालमा !

देश बाहिरका नेपालीले देशका नेतालाई निमन्त्रणा गरेजस्तै नेपालका बिदेशीले आफ्ना नेतालाई नेपालमा बोलाउँदा हुन् ! हाम्राले जस्तै भुमिगत रुपमा बैठक र सम्मेलन गर्दा हुन् !
उनिहरुको देशमा चुनावको बेला हाम्रो देशमा चन्दा संकलन गरेर पठाउँदा हुन् ! नेतालाई बोलाएर विवादास्पद भाषण गराउँदा हुन् ! मोबाईल र ल्यापटप र उपहार दिँदा हुन् ! नेतासँगकाे  फोटो फेसबुकमा राखेर गजक्क पर्दा हुन् !  संम्पर्क र पहुँचकाे आत्मरतीमा रमाउँदा हुन् ! ‘अवैतनिक दुत’को सपना देख्दा हुन् ! नेताले बाल नदिएपछी लाष्टमा बबाल  बिद्रोही बनेर निस्कँदा हुन् !
साँच्ची धान काट्न आउने बङ्गालादेशी मजदुरहरुले नेपालमा अवामी लिग खोलेका छन् कि छैनन् होला ? काठमाण्डुका भारतीय ब्यापारीहरुले आम आद्मी पार्टीको शाखा बनाएका  छन् कि छैनन् होला ! विभिन्न मिसनरीमा आउने अमेरिकनहरु रिपब्लिकन पार्टीको नेपाल शाखा गठन गरेका छन् कि छैनन् होला !
भारत, बङ्गालादेश, श्रीलंका, भियतनाम, फिलिपिन्स, इन्डोनेशिया, केन्या, उगान्डाका नागरिकहरुले अर्काको देशमा गएर आफ्नो देशको पार्टी संगठन बनाएका छन् कि छैनन् होला !?
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com