रेड लाईट एरियाको मुख्यमन्त्रीय कुरा : क-कसले समर्थन गरे, क-कसले बिरोध गरे…

प्रकाशित मिति: २८ भाद्र २०७५, बिहीबार ०३:३३

हाम्रा एक मुख्यमन्त्रीको ‘रेडलाईट एरिया’ मनोधारणापछि देशमा अनौठो तरंग आएको छ । तरंगले ढलेका रुख उठ्ने, उठेका हल्लिने र हल्लिएकाहरु कांप्न थालेकाछन् । दुईदिन अघि देशमा आएको भुकम्प र बाढी पहिरोपनि यसैको तरंग भएको गर्वविद्हरुको धारणा छ ।

 

‘बुद्ध जन्मस्थल, रिसी तपोभुमी, सुसंस्कार र सुसंस्कृतिको मूलुक नेपालमा रेडलाईट एरियाको कुरो आएपछि बाढी पहिरो गएको हो ।’  रेड लाईट एरिया बिरोधी बिद्धानले भने । तर रेड लाईटएक  समर्थकको धारणा फरक छ, ‘संसारका थुप्रै देशहरु रेड लाईट एरियाकै कारणले बिकासको चुचुरोमा पुगेकाछन् । हाम्रोमा बल्ल कुरो उठ्दैछ । यही खुशीमा प्रकृतिले नृत्य गरेको हो, बाढि पहिरो आएको हैन ।’

 

रेड लाईट भनेको रातो बत्ती, रातो बत्ती भनेको खतराको संकेत, खतराको संकेत भनेको जेपनि हुनसक्ने स्थिति ! रेड लाईट एरियाको तरंगले देशमा मात्र हैन, देशबासीमा समेत जेपनि हुनसक्ने संभावना देखिएको छ । सामाजिक बिश्लेषक उत्तेजक उपाध्याय भन्छन्, ‘अब जोडिएका घर बिग्रने, बिग्रिएका भत्किने र भत्किएकाहरु भताभुंग हुन सक्छन् !’

 

रेडलाईट एरियाका संभावित एरिया इन्चार्ज डन बहादुर नेपालीको धारणा छ, ‘रेड लाईट एरिया तोक्दा बलात्कारका घटना रोकिने तथा बेरोजगारीको अन्त्य हुन्छ ।’ उनि भन्छन् । तर रेड लाईट एरियामा धेरै बर्ष ड्युटी गरेका एक ट्राफिक प्रहरीको धारणा फरक छ, ‘रातो बत्तीमा गाडी नरोक्ने हामी नेपालीले रेड लाईट एरियाले बलात्कार रोकिन्छ भन्नु हास्यास्पद कुरा हो ।’  उनि प्रश्तावलाई अस्वीकार गर्छन् ।

‘सभ्य समाज नेपाल’ले भने भावनामा बहकिएर कुनैपनि काम नगर्न मुख्यमन्त्रीलाई सुझाव दिएको छ । उसले भनेको छ, ‘नेपालको सामाजिक ब्यवस्था, नेपालीको सांस्कृतिक अवस्था, देशको आर्थिक स्तर, देशबासीको चेतनास्तर अध्ययन नगरी ‘रेड लाईट एरिया’ ल्याएमा सिंगो देश, समाज र संस्कृतिमा ब्ल्याक आउट हुनेछ ।’

तर ‘अराजक युवा समुह’, ‘बुढो बैंस एसोसियसन’, ‘बेचबिखन मुक्तिमोर्चा’, ‘शरमहिन सोसाईटी’, ‘ससुराली नेपाल’, ‘सोमरस सारथी’, ‘खेलो फड्को ग्रुप’, ‘क्याबिन सोसाईटी नेपाल’, ‘अनमत्त मण्डली,’ ‘उत्तेजना नियन्त्रण अभियान’, ‘छाडा समाज’, ‘लगाम बिहिन एसोसियसन’, ‘कामदेव योग केन्द्र’, ‘ब्ल्यू फिल्म सोसाईटी’, ‘बाल मतलब समिति’ लगायतका संस्थाले भने मुख्यमन्त्रीको ‘रेड लाईट’ प्रश्ताबलाई उन्मुक्त कण्ठले स्वागत गरेकाछन् ।

 

रेड लाईट एरिया शुरु भएमा कसले उद्घाटन गर्ने भन्ने बिषयमा यी संस्थाका अध्यक्षहरुबिच प्रतिस्पर्धा शुरु भैसकेको छ । एक अध्यक्षले हामीसंग दाबी गरे, ‘उद्घाटन मैले नै गर्न पाउछु किनभने म मुख्यमन्त्रीको पुरानो कार्यकर्ता हुं ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com