पत्याउनोस् नपत्याउनोस्, आलुले पनि गर्छ नमस्कार

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार १५:११

संप्रस पौडेल ‘दिवस’

कतिपय हाकिमलाई कर्मचारी र सेवाग्राहीले नमस्कार गर्दा नमस्कार नफर्काउने हुन्छन् । कोही कोहीचाहिँ हाकिम हुनु पर्दैन यसै उसै नमस्कार नफर्काउने कोटीका पर्दछन् । खरिदारदेखि मन्त्रालयका सचिव अनी घरमा झोलैझोलको तरकारी खाने झोला कार्यकर्तादेखि विभिन्न आयोजनाका गाडीलाई व्यक्तिगत काममा प्रयोग गर्ने नेतासम्म नमस्कारबाट तर्सिएका पाइन्छन् ।

उही ‘बिजुली तर्सिदा कुन्नि के’ भनेजस्तो ।
व्यस्त थिए कि भनौं भने बाटामा लुरु लुरु हिँडेको मान्छे केका व्यस्त ? नाकका टुप्पोमा झर्लै जसरी चस्मा लगाएर कुर्सीमा उपरखुट्टी लगाएर पत्रिकाका विज्ञापनसम्म ध्यान दिएर पढ्नेहरु कतिको व्यस्त ?

व्यस्त भए छिटो छिटो हिँड्थे, हस्याङफस्याङ गर्दै दौडिन्थे, बाइक चलाउँथे वा गाडी चढ्थे । अर्को कुरा राजनीतिक गफ पछार्दै चिया होटलमा १० रुपियाँको चिया खान एक घण्टा लगाउनेलाई केका हतारो ? यसैले यस्ता ठालुहरुको बचाउ गर्न छोड्नोस् । नमस्कार नगर्ने उनीहरुलाई तपाईँ पनि नमस्कार गर्न  पनि छोड्दिनोस् ।

आफूलाई ठालु ठान्नेहरुलाई आलुसँग तुलना गरेर आलुको मूल्य किन घटाउनु भन्ने पनि लाग्छ कहिलेकाहीँ त । तथापी नेपालमा आलु भन्नेबित्तिकै तल्लो स्तरको भन्ने जनाउने हुनाले तिनलाई आलुकै उपमा दिइराखुँ ।

यसो भनेर ‘भैरव अर्यालको आलु’ प्रति मेरो कुनै प्रतिशोध भने छैन भन्ने कुरा यसैबाट स्पष्ट पार्दछु । नत्र भोली आलु, भटमास, तोफू, चिप्स, कुरमुरे आदि संघ संगठनको विज्ञप्ती पढ्नका लागि कार्यालय नै विदा लिएर बस्नुपर्ने दिन नआउला भन्न सकिन्न ।

त्यस्ता आलुवाला ठालुहरुलाई कसैले दुई हातै जोडी नमस्कार गर्दा टाउको हल्लाउने तथा आँखा जुधाउने गरेको देखिन्छ । कोही कोही त नमस्कार फर्काउँदा ठूलो शास फेरेर नमस्कार फर्काउँछन् जस्तो लाग्छ । उनले मात्रै थाहा पाउने गरी उनैले फेरेको श्वासको कम्पन नाप्ने मेसिन कहाँ खोज्नुपर्ने हो ।

मुन्टो उठाएर पनि नहेर्ने आलुवाला ठालुका अगाडी आफैं पनि हरेक दिन आलु भएर नमस्कार गरिराख्नु पर्ने हो कि !

कसैले कुनै ठालुलाई एक दिन नमस्ते गर्नु भयो । उनले जबर्जस्त नमस्ते बोलेरै फर्काए । अर्को दिन पनि नमस्ते गर्नुभो । उनी टाउको हल्लाएर नमस्ते फर्काउने भए । तेश्रो दिन नमस्ते गर्दा उनी चुपचाप हिँडै ।

चौथो दिन ती आलुलाई नमस्ते गर्दै नगरी अघी बढे । पाँचौं दिन आलुले भेटेर भन्योः “नमस्ते गर्न नि कत्ति गाह्रो ?” यी स्वघोषित ठालुहरुलाई अझै नमस्कार गरेर नेपाली सँस्कृतिको नमस्कार बद्नाम नगराइयोस् । शोषण गर्ने ठालुहरुलाई नमस्कार गर्नुभन्दा पोषण दिने आलुलाई नमस्कार गर्नु बेश होला । धन्यवाद, नमस्कार ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com