बुद्धको जन्म नेपालमा भएको हो तर ?

प्रकाशित मिति: १९ आश्विन २०७५, शुक्रबार १४:२४

हामी सबैलाई थाहा छ, नेपालको लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । उनीहरूले पनि थाहा पाइसके, झूटो प्रचार नटिक्दो रहेछ, सत्य कुरा नछिप्दो रहेछ । कपिलवस्तुका ढुंगा, माटो, रूख, बिरुवा, पशुपन्छीसमेत बोलिरहेका छन्, बुद्ध वाज बर्न इन नेपाल !

जन्मका बारेमा हरेकलाई थाहा भैसक्यो, अब बुद्धको कर्मका बारेमा कुरा गर्नुपर्छ । सिद्धार्थ गौतमले के कर्म गरे र बुद्ध बने ? उनको देशना के थियो र एसियाको तारा भनिए ? बुद्धको ज्ञानलाई हामीले व्यवहारमा कति लागू गर्‍यौं र कतिले बुद्धत्व प्राप्त गर्‍यौं ? बुद्ध जन्मस्थलवासी हामी नागरिकले अब यो प्रश्नको उत्तर आफैंभित्र खोज्नुपर्छ ।

यो स्तम्भकारले उत्तर पाइसक्यो भन्न खोजेको हैन तर उत्तर खोजिरहेको भने पक्का हो । बुद्ध महासागर हुन्, उनलाई यो लेखमा मात्र बुझ्न सकिँदैन, तर जे–जति थाहा भयो त्यो यो स्तम्भमा प्रस्तुत गर्ने प्रयास गर्दैछु । बुद्ध के हुन् ?

मोटिभेटर हुन्

अंगुलीमाल नामक अपराधीको कथा सुन्नोस् । ऊ मान्छे माथ्र्यो र मारिनेको औंला काटेर माला लगाउँथ्यो । सबैजना ऊसँग अत्यन्तै डराउँथे, तर महात्मा बुद्धले उसलाई यसरी उत्प्रेरणा दिए कि अंगुलीमाल बुद्धको पाउमा पर्‍यो र भिक्षु बनेर उनको चेला भयो । यो अर्थमा बुद्ध एक प्रभावशाली मोटिभेटर हुन् ।

साइकोलोजिस्ट हुन्

राजादेखि रंकसम्म सबैको जीवनमा दु:ख छ । दु:ख मानिसको कर्मको फल होइन, त्यसको वैज्ञानिक कारण छ । बुद्धले मनको गहन अध्ययनपछि यही घोषणा गरे । भाग्यवाद र कर्मवादमा जकडिएको तत्कालीन समाजलाई यस्तो तथ्य दिने यी महात्मा मनोवैज्ञानिक पनि हुन् ।

चिकित्सक हुन्

जीवनमा दु:ख छ, दु:खको कारण छ, कारणको निराकरण छ— बुद्धले पत्ता लगाएको तथ्य यही हो । दुखको कारण हाम्रो मन हो । मनको मनोवैज्ञानिक शल्यक्रिया गर्नुपर्छ । संयक् दृष्टि, संयक वाणी, संयक भोजन, संयक साधनाद्वारा दु:खको महासागरबाट मुक्ति सम्भव छ । यो कुरा बुद्धले लाखौं भिक्षुहरूलाई प्रयोग गरेरै देखाइदिए । यस अर्थमा गौतम बुद्ध एक चिकित्सक पनि हुन् ।

सामाजिक अभियन्ता हुन्

बौद्ध धर्मका प्रवर्तकका रूपमा मात्रै बुझियो भने गौतम बुद्धको अपमान हुन जान्छ । बुद्ध भनेको नाम होइन, चेतनाको त्यो अवस्था हो जहाँ जन्म, जीवन र मृत्युको रहस्य बोध हुन्छ । त्यसलाई बुद्धत्व भनिन्छ । प्रयोग, बोध र अनुभूतिबाट प्राप्त ज्ञानद्वारा तत्कालीन समाजलाई शिलवान् बन्न उप्रेरणा दिने बुद्ध सामाजिक अभियन्ता पनि हुन् ।

अनुसन्धानकर्ता हुन्

मान्छे बिरामी हुन्छ, बुढ्यौली लाग्छ र ऊ एक दिन मर्छ, तर किन ? यो विषयमा सिद्धार्थ गौतमले लामो अनुसन्धान गरे । घरबार छोडे, समाज त्यागे, शरीरको माया मारे । अनुभूतिको गहिराइमा पुगे । त्यसपछि उपरोक्त प्रश्नहरूको उत्तर निकाले । यस अर्थमा गौतम बुद्ध अनुसन्धानकर्ता पनि हुन् ।

आध्यात्मिक नेता हुन्

बुद्धको धार्मिकता बोध र अनुभूतिमा आधारित छ । कुनै शास्त्र वा प्रवचनबाट बुद्ध आएका होइनन्, गहिरो साधनाद्वारा पत्ता लगाएका वैज्ञानिक अनुभव नै बुद्धका सन्देशहरू हुन् । धनी–गरिब, सानो–ठूलो, बलियो–कमजोर सबैलाई उनका देशनाले जागृत गराउँछ । अन्धविश्वास, शोषण, उत्पीडन, भेदभावभन्दा पर छ उनको देशना । समतामूलक स्वभाव र समतामूलक समाज नै बुद्धको मुख्य सन्देश भएकाले उनी सफल आध्यात्मिक नेता पनि हुन् ।

अन्त्यमा,

आउनोस्, बुद्धको जन्मसँगै उनको कर्मको पनि चर्चा गरौं । उनको ज्ञानलाई बुझौं । अनुभवलाई व्यवहारमा लागू गर्ने सानो प्रयास सुरु गरौं । महान् दार्शनिक ओशो भन्नुहुन्छ— बुद्धको चार आर्य सत्य र अष्टांगिक मार्गमा लाग्ने हरेक मान्छे बुद्ध हुन सक्छ । आजलाई यति, सबैको मंगल होस् †

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com