सरकारी जहाज डुब्दा धेरै नेता हिलोमा फँसे भने…

प्रकाशित मिति: २१ आश्विन २०७५, आईतवार ०९:३१

नेकपाका नेता कमरेड जनार्दन शर्माले भन्नु भएका तिनवटा भनाईले हामीलाई फनफनी घुमाएको छ । *पहिलो- ‘मैले तिनदिनमा सक्ने काम दुइजना अध्यक्षले दुई वर्षमा पनि किन गरेनन् ?’ *दोश्रो- ‘सरकारले रणनीतिक कुरा मात्रै गरेर जनतालाई तत्काल सेवा सुविधा दिन सकेन ।’ *तेश्रो- ‘फोहोरी राज्य सत्ता सफा गर्न पठाईएका केही मन्त्री त्यही फोहोरमा डुबेर हराउने खतरा बढ्यो ।’

तपाईंको कुरोमा कहानी थप्दा के हुन्छ भने जनार्दन कमरेड, तपाईँले रोग पहिचान गर्नु भयो, अब औषधि खोज्नुस् । अध्यक्षद्वयको जहाँसम्म सवाल छ, वहाँहरुलाई यो भन्दा माथि पाउनु नै के छ र ! पटक-पटक प्रधानमन्त्री भइहाल्नु भयो । एकआपसमा सौदाबाजी पनि गर्नु भएकै छ । अनि किन तँछाड मछाड गरेर पार्टी एकता नगरुन् त ! आखिर एकता टुङ्गिदै जाँदा त महाधिवेशन पनि गरिहाल्नु पर्छ ।

दुईमा एकमात्र अध्यक्ष हुने हुन् । माधव कमरेडको रडाको हेर्दा त्यो पद पनि वहाँहरूकै पोल्टामा आउँछ भन्ने निस्चित छैन । अर्कोतिर, दुबै अध्यक्षका पक्ष र विपक्षमा ब्यापक नेता तथा कार्यकर्ता छन् । यो जम्बो एकतामा सबैले पद पाउने सम्भावना छैन । नपाउनेले हंगामा कसरी मच्चाउँछन् भन्ने कुरा वहाँलाई राम्ररी थाहा छ ।

त्यसैले परिस्थिति बिस्तारै सेलाउँदै जान्छ । इमान्दारहरु निरास भएर किनारा लाग्दै जालान् अनि आफ्ना पकेटका मान्छेलाई काखी च्याप्न सकिन्छ कि भन्ने आशा पनि मरेको छैन होला । वहाँहरुलाई जनता र कार्यकर्ताले चाहे जस्तै गर्दा के फाइदा छ र ! अलि ढिला गरे डुब्ने पनि केही छैन । देशमा हुँदा चिल्ला गाडी, विदेश जाँदा चिलगाढी छँदैछन् ।

अलिअली पदीय संकट आउला जस्तो लाग्यो भने कुनै नयाँ मुद्दा उठाएर अन्यत्र ध्यान मोड्न जानेकै छ । त्यसैले…सरकारले बिगत देखिको फोहोर हटाउन लागे पनि केही मन्त्रीहरु त्यही दलदललमा डुब्ने सम्भावना रहेको कुरामा पनि केही सत्यता होला तर हुने बिरुवाको चिल्लो पात भनेझैं, संकेतमा सुरु भएको हेर्न चाहने आम जनताको आशामा तुवालो लाग्दैछ । केवल प्रधानमन्त्रीज्युको सपनामात्र पूर्ण सत्य हो । योजनाहरु फितला र क्षणिक लोकप्रियतामा केन्द्रीत देखिन्छन् ।

चोरलाइनै सूचना दिएर पक्रिन जाने शैली सबभन्दा कमजोर र नाटकीय देखिन्छ। अब कारबाही गरिने छ, कुनैहालतमा छोडिने छैन, सरकार पछि हट्दैन, कसैलाई छूट दिइने छैन आदी ईत्यादी भनिरहने तर गर्न माखो नमार्ने हो भने तीनै कारबाहीका भागीदारहरुले सरकारलाई खिसिटीउरी गर्दै भन्नेछन, ‘भो भो नखोक, तिम्रा खुट्टी देख्दै चाल पाइयो ।’ हो साँच्चै मन्त्रीहरु दलदलमा फँस्दैछन् । सुनकाण्डको दलदल, सेण्डिकेटको दलदल, वाइडबडीको दलदल, निर्मला कान्डको दलदल आदी ।

छोटो समयमै सरकारलाई यति धेरै हिलाम्मे बनाउने हो भने बाँकी साढे ४ बर्षमा अरु कति कुहाउने हुन् हाम्रा मन्त्रीहरुले ? इतिहासकै शक्तिशाली सरकार यतिचाँडै कमजोर र अलोकप्रिय त बन्ने हैन, म ट्वाँ पर्छु ! त्यसैले बेलैमा सोच्नाेस् है कमरेड, यो सरकारी जहाज हिलोमा डूब्यो भने तपाईंको मात्र हैन धेरै,धेरै,धेरै नेताहरु दूर्गन्धमा फस्नु हुनेछ । त्यस्तो नहोस जहाँ सफाइको निम्ति साबुननै बन्या नहोस् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com