बाउआमाको विदेश भ्रमणः मनको लड्डु तितो वियरसित खानु

प्रकाशित मिति: ६ कार्तिक २०७५, मंगलवार १६:०२

संप्रस पौडेल ‘दिवस’

छोराछोरी विदेश जानु कुनै अनौठो रहेन । विदेशिनेले बाउआमालाई डाक्नु पनि अनौठो भएन । यसरी केही समय विदेशिने बाउआमाको भिसाचाहिँ पर्यटक भिसा हुने गर्दछ । छोराको बिहा गरिदिनदेखि नातीनातिना स्याहार्नसम्म पर्यटक भिसाले काम गरेकै छ ।

यही लेखबाट भिसाका नविनतम प्रकारहरु बारे गहन अध्ययन हुनु जरुरी भएको कुरा जोडदार माग गर्दछु । कामदार भिसा, विद्यार्थी भिसा, पर्यटक भिसामा नेपालीहरु संसार छरिएका कुरा जगजाहेरै छ । भिसाको प्रयोग बारेका केही प्रसङ्गलाई नै यहाँ उल्लेख गर्नु उचित ठान्दछु ।

अष्ट्रेलिया बस्ने छोरोले लिभिङ टुगेदर रहेकी विदेशीसँग घुम्नका लागि बाबुलाई पर्यटक भिसामा उतै बोलाउनु, बाबुलाई दुई महिनासम्म भेडा चराउने काम जिम्मा लगाउनु र अब भेडाबाख्रा चराउनै अष्ट्रेलिया जानुछ भने खर्क बेच्न लगाएकोमा अचम्मित हुनु कुनै नौलो घटना होइन । बाह्र वर्ष रामायण पढ्यो अन्त्यमा क्रिश्टियन भयो भने अचम्मित मान्नुपर्ला तर बाख्रा चराउन अल्छी लागेर विदेशिएका केटाकेटी बाख्रै चराउने भए भने कुनचाहिँ नौलो कुरा भयो र ?

यस्तै डेनमार्क बस्ने छोराबुहारीले आमालाई २ महिनाका लागि पर्यटक भिसामा बोलाउनु, २ महिनासम्म सन्तान र सुत्केरी बुहारी स्याहारेर नेपाल फर्कनु, डेनमार्कमा एयरपोर्ट र शहरको फ्लाट नम्बर ए-१९९९ बाहेक अन्यत्र घुम्न नपाइनु पनि अनौठो घटना होइन । ब्रिटेनमा बस्ने सालीकी छोरीले विवाहका लागि निम्त्याउनु र सावर र कम्मोड ‘यूज’ गर्न नजानेकोमा गाली गर्दै, सडकमा केराका बोक्रा फ्याँकेकोमा डलरौँ जरिवाना तिर्न परेको निहुँमा यतै मुन्ट्याउनु पनि चानचुने कुरै भैगयो ।

केटी हेर्न भनेर बाउआमालाई पोर्चुगल बोलाउँनु, केटी देखा न त भन्दा यी देखेनौ भन्दै तीन केटीकी आमा देखाउनु, विहा हुनु, फर्किने दिनमै डिभोर्स हुनु, गाउँ फर्केर रोजेकी विहे गर्ने शर्तमा बाउआमा फर्कनु पनि सामान्य नै रह्यो ।

यी सबै कथा, व्यथासँगै जतातता पर्यटक भिसाको दुरूपयोग भैराछ ।

यसर्थ सरकारले अब केही नयाँ भिसाहरुको व्यवस्था गर्नुपर्छ । हाउस वर्कर, टुरिस्ट, केयरगिभर मात्रै नभएर थाङ्ना धुनका लागि थाङ्ने भिसा, माग्ने भिसा, अर्काकी स्वास्नी ब्या गर्न विदेश जानेलाई ल्याइते भिसा, ब्या नगर्दै बच्चा जन्माउनेका लागि ब्याइते भिसा, विदेश गएर देशलाई गाली गर्नेलाई काइते भिसा, घरमा खाएको थालमै चुठ्ने र विदेशमा भाँडा-माझ्ने-चम्काउने काम गर्नेलाई VMC भिसा, भेडा चराउनेलाई गोठालो भिसाको व्यवस्था गर्न नेपाल सरकारले ती देशसँग आग्रह गर्नुपर्छ ।

दक्षताविना अक्षता लाएर दक्षिणा दिने विदेशी कमै भेटिएलान् । सीप सिक्न प्रेरित गरियोस् । पर्यटक भिसाको सदुपयोग गरियोस् ।नेपालमा ‘कोदाकोला’ पनि नखाने बाउआमाहरु मनको लड्डु वियरसित खान विदेशिँदा होश गर्नुहोस्, हैन भने आ-आफ्ना सँस्कार र सँस्कृति सिकाउँन नेपालै राख्नोस् । मनले मान्दै नमाने एक वर्ष अवधिको थाङ्ने भिसाको जोडदार माग गर्नुहोस् ।

––––––––––––––––––––––––––––––––
स्पष्टोक्तीः भेडा चराउन र सुत्केरी स्याहार्न जानुपर्नेलाई पर्यटक भिसामा लैजाने एयरपोर्ट र फ्लाट बाहेक अन्यत्र घुम्न नलैजाने सन्तानहरुलाई भगवानले माफी गर्दिउन् । तिनलाई पनि बाउआमाको आशिर्वाद रहिरहोस् ।
[email protected]

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com