छक्कापञ्जा टिमले पार्टी खोल्ने- मुन्द्रे विदेश बिभाग, माग्ने प्रबक्ता…

प्रकाशित मिति: ९ कार्तिक २०७५, शुक्रबार ०४:२७

‘छक्कापञ्जा ३’ को सफलतापछि यो समुहले पार्टी खोल्ने संकेत दिएको छ । अहिले ओली सरकार कछुवा गतिमा र देउवा बिपक्ष दुर्गतीको अवस्थामा छ । यस्तो अवस्थामा ‘छक्कापञ्जा ३’ ले प्राप्त गरेको प्रगतिबाट दीपक-दीपा दङ्ग छन् । यही मौकामा पार्टी खोल्न लागेका हुन सक्छन् !

गजुरियल श्रोतका अनुसार, नयाँ पार्टीको नाम ‘छक्कापञ्जा चलचित्र पार्टी’ राखिनेछ । ‘छक्कापञ्जा ३’को कथा, कथाले दिन खोजेको सन्देश, सन्देशको सफलता/बिफलता, चलचित्रको कमाईं, कमाईको धमाई, कलाकारहरुको अभिनय/क्षमताका आधारमा नयाँ पार्टीको नाम, नारा, कार्यदिशा, बिभाजन हुनेछ ।

‘छक्कापञ्जा ३’को सफल निर्देशन गरे बापत दीपाश्री निरौला अध्यक्ष बन्नेछिन् भने छायाँ निर्देशकका रुपमा दीपकराज गिरीले पार्टी महासचिब बन्ने प्रयास गर्नेछन् । कालान्तरमा दुबैजनाले क्रमस: राष्ट्र्पति र प्रधानमन्त्रीको सपना देखेको हुनुपर्छ !

सबैभन्दा राम्रो अभिनय गरे बापत माग्नेबुढाले पार्टी प्रवक्ता पाउने पक्का छ भने जीतू नेपाललाई बिदेश बिभागमा थन्क्याईने छ । रोल सानो भएपनि दमदार अभिनयका कारण जयनन्द लामालाई उपाध्यक्षमा राखिनेछ भने किरण केसीलाई पार्टी एकता समितिको सभापति बनाईने छ ।

भरखरै पार्टी प्रबेश गरेका शिशिर बाङ्देलले राम्रै हैसियत दाबी गर्न सक्छन् । प्रियंका कोषाध्यक्ष, स्वस्तिमा सह–कोषाध्यक्ष र नव—नायीका दिपिका उप–कोषाध्यक्षमात्रै बन्नेछन् । रमेशरञ्जन झा र बसन्त भट्टलाई क्रमस: संगठन बिभाग र स्कूल बिभागमा राख्न सकिनेछ । लक्ष्मी गिरी र नीर शाहलाई सल्लाहकार समितिमा समावेश गराईनेछ ।

‘छक्कापञ्जा ३’ मा निकै गम्भिर बिषय उठान गरिएकोले पार्टीको मार्गदर्शक सिद्धान्त ‘शिक्षामा समानता, समाजमा महानता’ हुनसक्छ । तर, बिषयको गहिराईमा पुग्न नसकिएकोमा ‘बोर्डिङ्–सरकारी भिन्नता, शिक्षामा गलत मान्यता’ मात्रै पनि मार्गदर्शक सिद्धान्त बन्न सक्छ ।

सिनेमामा ‘गऱ्याको’, ‘भन्याको’, ‘भा’ख’, ‘गा’ख’जस्ता लवजको क्याचिकेचर गरिएको छ । यस आधारमा पार्टी संगठन प्रादेशिक संरचनामा बन्न सक्छ । तर, यी क्यारिकेचरकर्ताहरु बेला बेला चिप्लिने, रड्किने र सड्किने गरेका कारण संगठन गोलचक्करीय संरचनामा पनि जान सक्नेछ ।

मात्र ‘फिलिम हेर्न’ जाने दर्शकले अत्याधिक रुचाएकाछन् । यस अर्थमा छक्कापञ्जा पार्टीले बहुमत ल्याई सक्यो, सरकार बनाउन सक्छ । तर नेपालको सन्दर्भमा दुई तिहाईको सरकारपनि टिक्न गाह्रो छ । त्यसैले छक्कापञ्जा टिमले अर्को पार्टी खोल्नु अघि बिषयबस्तुमाथि घनिभुत, यर्थातपरक, कम अतिरञ्जित, ब्यवहारिक र मिहिन छलफल गर्नु जरुरी देखिन्छ ।

आर्थिक समृद्धिको नारा पार्टीकालागि निकै फाईदाजनक देखिन्छ । अर्काको कमजोरी केलाउन सजिलो हुन्छ, त्यही काम आफुले गर्दा कति गाह्रो हुन्छ भन्ने भन्ने कुरा ‘१०० कडा १०’ सिनेमा गर्दा मैले भोगेको छु । धुमुर्स-सुन्तलीसहित हामीले गर्न लागेको नयाँ सिनेमाको तयारीक्रममा पनि थुप्रै अनुभव लिएको छु । यसअर्थमा, हाम्रा सहकर्मीहरुको सिनेमा ‘छक्कापञ्जा ३’लाई शुभकामना दिनै परेन, शुभ भैसकेको छ ।

अर्को सिनेमा बनाउदा यो भन्दा राम्रो, अर्थपूर्ण र सुन्दर सिनेमा बनोस् । सिनेमाको ब्यापार बन्द भएर राजनीतिको ब्यापार गर्नु नपरोस् । छक्कापञ्जा टिमले पार्टी खोल्दैछ भन्ने मेरो कल्पना कल्पनामैं सीमित होस् । सबैको मंगल होस्, सधैंको मंगल होस् !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com