तिहारको उपहार : गजुरियल देउसी २०७५

प्रकाशित मिति: १६ कार्तिक २०७५, शुक्रबार ०२:५३

 

ए भन भन भाइ हो, के भन्ने ? शान्ती सुरक्षा दे भन्ने । भन भन बैनी हो, के भन्ने ? बलत्कारी समाएर ले भन्ने । भन भन बा हो, के भन्ने ? बृद्धभत्ता बढाएर लेउ भन्ने । भन भन आमा हो, के भन्ने ? जेष्ठ नागरिकलाई सुरक्षा देउ भन्ने ।

ए, हामी त्यसै आएनौं, जनताले पठाए, सरकार के के गर्दैछ, चासो राख्न पठाए । महंगी घटाउछु भन्या थेउ, समृद्धिका दिन गन्या थेउ । झन् बढ्यो भाउ तेलको, गफमात्रै भयो रेलको ।

बेरोजगारी बढ्दैछ, उद्योगधन्दा लड्दैछ । युवालाई बिदेश पठाउंदैन, बिकासको डम्फु ठटाउंदै । रेमिटेन्सले देश धानेर, समृद्धि बढेको ठानेर । गफैले बित्यो छ महिना, सरकारलाई थाहा छ छैन ?

ए राम्ररी भन, भन्दैछौं । स्वर मिलाईकन, कन्दैछौं । रिणको भारी बोकेर, अनुदानको गफ ठोकेर । मन्त्रीको कुरा पत्याउंदै, नेताका भाषणले अत्याउंदै । होला कि होला कि भनेर, हुने दिन सधैं गनेर । छ महिना बित्यो यतिकै, बर्षदिन बित्ला त्यतिकै ।

ए, हिलो बाटो । ए, लड्दै पड्दै । ए खाल्टामा पर्दै । हिंड्दैछौं हामी । ए, घुम्दैछौं तिमी । ए, युरोप जापान, ए गरेर चियापान । ए हेल्लो मेयर, बिग्रियो कि गियर । न बन्द हुन्छौ, न अघि बढ्छौ ! ए, कुच्चिएको भांडो, ए जनतालाई घांडो ।

ए, पप्पुको पारा, टार्ने झारा । ए ठेक्का र पट्टा, ए ख्याल र ठट्टा । ए झ्याप पार्ने टेन्डर, जनतालाई हण्डर । ए कमिसनको जालो, ए सबको मुख कालो । ए ठेकदार र नेता, सबका मुख राता ।

ए, यो देश कसको ? नेताको । नेता कसको ? ठेकेदारको । ए ठेकेदार कस्को ? गुण्डाको । ए गुण्डा कसको ? तस्करको । ए तस्कर कस्तो ? पुलिसको । ए पुलिस कसको ? राष्ट्र् कसको ? जनताको । ए जनताको कसको ? नेताको । ए को हो कसको ? कस्को, कसको † ए राजनीतिको जालो, ए काम गर्छन् कालो । ए देशको झण्डा, बनाए पुछ्ने टालो ।

ए भन भन भाइ हो, भन्दैछु । ए तोडले भन, भन्दैछु । ए, हत्याका घटना गन्दैछु । ए बलात्कारका घटना, सुन्दैछु । ए तस्करीका काण्ड, भन्दैछु । ए सुनका डल्ला, गरेर सल्लाह । ए तस्कर र पुलिस, ए नगरी हल्ला । ए मिलेर खाने, ए, जेलचाहीं नजाने ।

ए, सुन सुन भाइ हो, सुन्दैछु । ए मन्त्रीका आश्वासन, गुन्दैछु । ए सिण्डीकेडको कुरो, ए पहिरोले पुऱ्यो । ए ठेकेदारको कुरो, कुरो न सुरो । गफमात्रै ठूला, गन्हाउने मूला ।

ए बोल बोल भाइ हो, बोल्दैछु । ए गोप्य गोप्य कुरा खोल्दैछु । ए पानीका किरो, ए कारवाही जिरो । ए चामलमा ढुंगा, ए कार्वाही सुन्ना । ए करको भारी, ए जनतालाई पारी । ए भ्रमण र यात्रा, ए देखाउंदै जात्रा । ए काम छैन सिन्को, ए फुर्ती कत्रो तिनको ?

ए लेखको काने, ए औलको माने । ए यो बर्ष देउसी, ए यति नै जाने ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com