योगीजी, जरा धिरे चलो- बिजली खडी त्यहाँ बिजली खडी…

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार ०६:३९

आज बिवाह पञ्चमी । त्रेता युगमा सीताजीको बिवाह भएको दिन । श्रीराम जन्ती लिएर आएका थिए, अयोध्याबाट । आज यसै बिषयमा केही कडा कुरा गरौं ।

जनकपुर हाम्रो घर । सीता हाम्री दिदी । राम हाम्रा भिनाजु । भिनाजुको घर भारतमा । सबै भारतीय भिनाजुका दाजुभाइ । नेपाली चलन अनुसार, भिनाजुका सबै दाजुभाइहरु हाम्रा पनि भिनाजु ।

हुन त भिनाजुका दाजुभाइलाई सोल्टा-सोल्टिनी पनि भनिन्छ तर सोल्टिनीभन्दा कोल्टिने खतरा हुन्छ ! त्यसैले भिनाजु नै सजिलो र सुरक्षित साईनो हो ।

हो, राम भिनाजु । भरत भिनाजु । लक्ष्मण भिनाजु । गान्धी भिनाजु । नेहरु भिनाजु । आड्वाणी भिनाजु । मोदी भिनाजु । प्रणव भिनाजु । आदित्यनाथ भिनाजु आदि । भिनाजुहरुलाई सधैं स्वागत छ ।

भिनाजुहरु ससुराली आई रहनुपर्छ । जनै पुर्णिमामा, कुशै औंशीमा, चैते दशैंमा, सोह्र श्राद्ध भिनाजुहरु आउने मुख्य अवसर हो । तर, चाडपर्व बिना नै लगातार आउन थाले भने सोच्नुपर्छ, दालमें कुछ काला तो नही है!

उत्तर प्रदेशका मुख्यमन्त्री समेत रहेका योगी भिनाजु आज जनकपुर पाल्नु भएको छ । नोट: उहाँलाई रामका आफन्त भएकालेमात्र भिनाजु भनिएको हो, योगी स्वयम् भने अविवाहित हुनुपर्ने मेरो अनुमान छ । हनुमानका अनुमान समेत फेल खाने युगमा मेरो अनुमान सही नै हुन्छ भनेर ठोकुवा गर्दिंन ।

हुनत साँझका पाहुना देउता बराबर, दिउँसोका पाहुना सौता बराबर भन्छन् । तर, योगीजीलाई त्यसो भन्न मिल्दैन । उहाँ जन्ती आउनु भएको हो । जन्तीलाई स्वागत गर्नु बेहुली पक्षको नैतिक दायीत्व हो ।

तर कहिलेकाहीं भिनाजुहरु यसरी आई दिन्छन् कि जन्ती हुन् कि चोरका खन्ती हुन्, छुट्याउन गाह्रो हुन्छ । यस अघि पनि प्रवण मुखर्जी भिनाजु र नरेन्द्र मोदी भिनाजु जनकपुर पुग्नु भएको थियो । त्यति बेलापनि हामीले स्वागत गरेकै हौं । भलै त्यो जनै लाउने दिन पनि थिएन । श्राद्ध खाने दिन पनि थिएन ।

भन्न खोजेको के हो भने, भिनाजुहरुको कर्के नजर किन जनकपुरमामात्रै हुन्छ ! यसको जवाफ हनुमानसँग त पक्कै छैन , सुपरम्यानसँग पनि छैन होला !

भिनाजुहरुलाई थाहा हुनुपर्छ, सिंगो नेपाल राम दादाको ससुराली हो । जनकपुरमात्र हैन, टनकपुर र भोजपुरपनि भिनाजुहरुलाई स्वागत गर्न चाहान्छ । कञ्चनपुर र भद्रपुरमा पनि सालासालीहरु पर्खि रहेछन् । तर, भिनाजुहरुको नजर जनकपुरमा मात्रै केन्द्रीत भई रहँदा ‘दाल नै काला तो नही है !’ जस्तो लाग रहा है । आपको कस्तो लाग रहा है कुन्नी !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com