‘ओ, प्रकास’ भन्दै देउवा जंगिदा यसो गर्दै थिए महत…Fakxclusive Report

प्रकाशित मिति: ५ पुष २०७५, बिहीबार ०४:१६

शेर बहादुर दाई फेरी जंगिए । कहिले ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै जंगिए । कहिले ‘तिमी चुप लाग’ भन्दै जंगिए । अहिले ‘ओ प्रकास महत, हल्ला नगर’ भन्दै जंगिए । तपाईं, तिमी तँहुँदै अब ‘मुख छोडेर’मात्र जंगिन बाँकी छ ।

वास्तवमा उहाँको नाम जंगबहादुर हुनुपर्ने, शेरबहादुर कसले राखिदियो ? न्वारान गर्ने पुरेत नक्कली परे कि क्या हो ! खैर, यो कुरा पछि गरौंला, अहिले उनको लेटेष्ट जंगाईको कुरा गरौं ।

महासमितिको त्यो बैठकमा शेरबहादुर दाई माईकमा सल्लाह गर्दै थिए । दर्शकदिर्घामा कार्यकर्ताहरु हल्ला गर्दै थिए । बक्ताको भन्दा हल्लाको पल्ला भारी भएपछि दाई जंगिए, ‘ओ प्रकास महत, एकछिन हल्ला नगर न यार !’

 

 

 

 

 

 

 

यो कुरा भिडियोमा आई सकेको छ, त्यसैले अब भिडियो नआएको कुरा गरौं ।

भिडियोमा नआएको कुरा के हो भने त्यो हल्ला किन भई रहेको थियो ? किन कार्यकर्ताहरुले सभापतिको बिचारलाई अचार बनाई रहेको थिए ? आफ्नो नामै किटेर सभापित जंगिदा के गर्दै थिए प्रकास शरण महत ? मूल प्रश्न यी हुन् ।

बैठकका एक सहभागी शान्तिराम शर्माले नबताउने शर्तमा हामीलाई एउटा गोप्य भिडियो उपलब्ध गराएका छन् जुन खिच्नै बाँकी छ ।

भिडियोका अनुसार, शेर बहादुरदाईले भाषण शुरु गर्नासाथ सहभागीहरु प्रकास शरण महतको वरिपरि झुम्मिन पुग्छन् । कारण, सभापति के भन्दैछन् भन्ने कुरो बुझ्न कार्यकर्तालाइ हम्मे हम्मे पर्छ ।

प्रकास शरण सभापतिको भाषण उल्था गरेर कार्यकर्तालाई बुझाउँदै थिए, सभापति जंगिई हाले, ‘ओ, प्रकास, हल्ला नगर न यार !’  सभापति जंगिएपछि प्रकासपनि जंगिए, ‘राम्रो गर्ने जमाना छैन, उनकै भलोको लागि उल्था गर्दिंदैछु, मैमाथी किन खनिनु !’

यति भनेर प्रकास शरण रिसाउंदै हलबाट बाहिरिए । देउवापनि भुत्भुताउदै मञ्चबाट निस्किए । एकछिनपछि दुबैजनाको भेट ‘लञ्च मेस’मा भयो ।

चुरोटको सर्को तान्दै शेर बहादुर दाई पुन: जंगिए, ‘ अघि किन डिस्टर्ब गरेको भन्देखिनलाई ?’ प्रकास शरण महतले पनि नुकाकोटे झोंक निकाले, ‘डिस्टर्ब गर्नेलाई स्टप गर्न खोजेको थिएँ, तपाईंकै लागि । तर मासमै मेरो बेईज्जत गर्दिनु भो !’

‘ए बाबा, कसरी तिम्रो बेईज्जत भयो भन्देखिनलाई ?’ अर्को सर्को ताने । ‘मेरै नाम तोकेर हल्ला नगर भनेपछि मलाई हल्लाबाज भन्ठानेन् कार्यकर्ताले ?’ महत झोक्किए ।

‘अरु बेला बोलेकै बुझिएन भन्ने तिमीहरु ! यो कुराचाहीं कसरी बुझ्यौ भन्देखिनलाई ?’ शेर बहादुर जंगिए । ‘चाहिने कुरा पो बुझिन्न, नचाहिने कुरा त बुझि हालिन्छ नि !’ प्रकास शरण झोक्किए । ‘तिम्रो फन्टुस कुरा सुन्नु पऱ्या छैन मलाई भन्देखिनलाई ।’ यति भनेर शेरबहादुर दाई एकातिर लागे । ‘तपाईंको महा–फन्टुस कुरा पनि किन सुन्नु ?’ यसो भन्दै प्रकास शरण अर्कोतिर भागे । नभएको यति हो ।

अब भन्नोस्, नेताले त नेताकै कुरो सुन्न चाहाँदैनन् भने जनताले नेताको कुरा सुन्नैपर्छ भन्ने के छ ? हल्ला त हुने नै भयो नि, कसो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com