हेर्नोस् जिब्रोको अद्भुत शक्ति : चलाउन जाने चमत्कार, नजाने बेकार…

प्रकाशित मिति: १२ पुष २०७५, बिहीबार ०२:५१

हाड नभएको जिब्रो चिप्लिन्छ । जिब्रो चिप्लिँदा इमान खुस्किन्छ । इज्जत भाँचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ । त्यसैले जिब्रोको स्पिड कन्ट्रेल जरुरी छ । जुनसुकै बेला ब्रेक फेल हुनसक्छ, नियन्त्रणको कला सिक्नु जरुरी छ ।

प्रधानमन्त्री, मन्त्री, पक्ष, प्रतिपक्ष, समाजसेवी, शाषक, प्रशासक, भिआईपी, सेलीब्रेटी, सर्वसाधारण सबैको जिब्रो चिप्लिने खतरा हुन्छ । कतिपयको त जिब्रो नै यति चिप्लो हुन्छ कि चिप्लिएको र बोलेको छुट्याउनै सक्दैनन् । दिमाग चिप्लिंदा उपचार गर्न सकिन्छ, खुट्टा चिप्लिंदा उठ्न सकिन्छ  तर जिब्रो चिप्लिएपछि न सिलाउन मिल्छ, न टाल्न मिल्छ मात्र काटेर फाल्न मिल्छ ।

त्यसैले टङ्को स्पिड रोक्ने उपाय खोज्नुपर्छ ।आउनोस्, आज जिब्रो नियन्त्रणको गजुरीयल उपाय पढौं ।

पहिलो उपाय, शरीरका प्रत्येक अंगहरु दिमागसँग जोडिएका हुन्छन् । जिब्रो त झन् दिमागको सबैभन्दा नजिकको अङ्ग हो । तातो दिमागले जिब्रोलाई लटर पटर बनाईदिन्छ । लटर पटर जिब्रोले भन्नुपर्ने कुरो बिर्सिन्छ, नभन्नु पर्ने बोलिदिन्छ । सबैभन्दा पहिले दिमागलाई ठण्डा राख्नु पर्दछ ।

दोश्रो, शब्दको निर्माण मनमा हुन्छ । मनमा निर्माण भएको शब्दलाई दिमागले सम्पादन गर्छ । सम्पादित शब्द जिब्रोको माध्यामबाट बाहिर निस्किन्छ । अशान्त मनले कुन शब्द सही हो, कुन वाक्य गलत हो थाहा पाउँदैन । कुन कुरा सोच्नु हुन्छ, कुन कुरा भन्नु हुन्न भन्ने कुरा पनि जान्दैन । जिब्रोको अराजकता नियन्त्रणकालागि योग र ध्यानको जरुरी हुने गजुरीयल ठम्याई छ ।

तेश्रो, आफ्नो शरीरको भाषा बुझ्नुपर्छ । शब्द बन्नुअघि शरीरमा संबेदनाहरु पैदा हुन्छन् । राम्रो संबेदना आयो भने राम्रै शब्द बन्छन्, नराम्रा संबेदना आए भने नराम्रै शब्द बन्छन् । त्यसैले शरीरमा नराम्रो संबेदना आएका बेला सकेसम्म मौन बस्नाले जिब्रो चिप्लिने खतरा कम हुन्छ ।

चौथो, मिठाई चुसि रहने । चुइंगम चपाई बस्ने । पान खाई रहने । सुपारी टोकी रहने । त्यसो गर्नाले मनमा आएका कुराहरु नियन्त्रण हुन्छन्, बेला न कुबेला फुत्किंन पाउंदैनन् । नराम्रा शब्द उच्चारण भएकाछन् भनेपनि राम्रो बनेर बाहिर निस्किन सक्ने गजुरीयल अनुमान छ ।

जिब्रोलाई सकेसम्म सात्विक भोजन गराउनु उपयुक्त हुन्छ । बियर नपिउने, ह्विस्की नचुसाउने, आक्रमक शब्द बोल्न नदिने, गुलियो, पिरो, चर्को, चिल्लो खानाले पनि जिब्रो चिप्लिने डर हुन्छ । खानै परे जिब्रले थाहा नपाउनेगरी घुटुक्क पार्नुपर्छ ।

हाम्रो जिब्रो पुग-नपुग २०० ग्राम होला तर शरीरमा यसको ठुलो महत्व छ । दुई इन्चको जिब्रोको स्वादकालागि सिंगो शरीर अस्वस्थ नबनाऔं । त्यती सानो जिब्रो कारणले सिंगो नामलाई बदनाम नगराऔं । जिब्रो नियन्त्रण गरौं, मानव जीवन सफल बनाऔं ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com