भू-माफियाको चंगुलमा समृद्दिको सपना !

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार ०३:५८

एकपाको सरकार बनेको ३६५ दिन पुरा भएको छ । यो अवधिमा उसले जनअपेक्षा अनुरुप काम गर्न  नसकेको गुनासो  छ । तर, सरकार भन्छ – बहुत कुछ भएको छ !

जनता : के सोच्थे पहिले ?

१.लामो समय देखि झांगिएको कुशासन र नाङ्गिएको शासन भित्रका भ्रष्टाचार, अनियमितता, कमिशनखोर, कामचोर, नाताबाद, कृपाबादका बिरुद्ध जेहाद छेडेर सुशासनको सुरुवात गर्ला !

२. जनताको दैनिकीलाई सहज हुने खालका विकाश निर्माणको कामलाई पारदर्शी ढंगले अघि बढाउला !

३. आधारभुत उपभोग्य समग्री सर्वसुलभ ढंगले पाउन सक्ने वातावरणको श्रृजना गर्ला !

४. स्वास्थ, शिक्षा र रोजगारीमा आम जनताको सहज पहुँच रहने वातावरण श्रृजना होला !

५. मुलुकको राजनीतिक स्थायित्व स्थापित गर्दै संमृद्ध नेपालको निर्माणमा दिर्घकालिन महत्वका ठुला योजना अघि बढाउँदै रेलगाडी, चिलगाडी, मोनोगाडी,पानीगाडीले भरपुर नेपाल बनाउला !

के भयो अहिले ?

जनता भन्छन्- सरकार टुप्पाबाट पलाउन खोज्यो । गोरेटो नै नखनी मुलबाटो रोज्यो । समुद्रै नसुनेकालाई पानी जहाज देखाउन खोज्यो ! , मनोरेल, तनोरेल, उत्तर दक्षिण-पुर्व पस्चिम माहारेलको कुरा केवल प्रचारको बाटो मात्र रोज्यो । आधारभुत  आवस्यकताका अगाडी उपरोक्त कुरा केटाकेटीलाई अल्मल्याउन ढुङ्गो उसिनेर आलु पाक्दैछ भने झैँ मात्र भयो भन्छन् ।

भ्रष्टाचारको जालो तोड्न खोजे-खोजे जस्तो लाग्छ तर जालो च्यात्दा जालोमा आफ्नै बन्धु टुप्लुक्क भेटिन्छ । कारबाहीको कुरा चलाउँदा  डराउने र कोर्रा हान्दा कराउने पहिलो स्वर पार्टीभित्रै गुन्जिन्छ । कारवाही गर्ने  हतियार नै अपराधीको मतियार भएपछि कसरी हुन्छ सुशासनको सुरुवात !

नभनुन् पनि किन ! सिण्डिकेट तोड्न खोज्दा भित्रैबाट तगारो हालिन्छ । सुन काण्डमा आफ्नै सहयोगी,  नातेदार, हातेदार, नीजी सहयोगी, चुनावी सहयोगी भेटिन्छ !

‘वाइडबडी काण्ड’ ह्वाईट भएर सिखरमा पुग्नु र व्ल्याक भएर सतहमा ओर्लनुको कारण मन्त्रीदेखि जन्ती सम्म, पक्ष देखि बिपक्ष सम्मका हुलैले, ठुलैले खल्ती फुलाए, पार्टी चलाए भन्ने कुरा चुहिएकै हो, त्यसैले कारबाही प्रकृया तुहिएकै हो ।

सरकारी जग्गा आफ्नो बनाउने भु-माफियाको चंगुलमा दरवारिया  देखि घरबारिया सम्म संलग्न भएको सुनिन्छ ।  तरपनि हामी बाँचीरहेका छौं- सम्रिद्दीको सपना देख्दै !

(तस्वीर साभार: सामाजिक सन्जाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com