युक्रेनमा कमेडियन राष्ट्रपति : महजोडी, मनोज गजुरेल, कपिल शर्मादेखि रसेल पिटरको प्रतिक्रिया…

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार ०५:३१

 

युक्रेनका हास्य कलाकार भ्लोदिमिर जेलेन्स्कीले त्यहाँको राष्ट्रपतीय चुनावमा ७० प्रतिशत मत ल्याएकाछन् । यदि भोटिङ्मा सेटिङ् नभएको खण्डमा सम्भवतः उनि विस्वकै पहिलो ‘कमेडियन प्रेसिडेन्ड’ बन्छन् । बिपिसिका अनुसार, नेपालका केपी शर्मा ओलीपछि जेलेन्स्की हास्य रसकारका दोश्रा पावर–फुल प्रमुख हुँदैछन् ।

राजधानी किभको बिजय सभामा हजारौं समर्थकलाई संबोधन गर्दै जेलेन्स्कीले भने, ‘अब युक्रेनी जनताले कहिल्यै रुनु पर्दैन, म हास्यब्यंग्यको फुल प्याकेज लिएर आएको छु ।’ उनले थपे, ‘ढुक्क हुनोस्, जसको जोकले दुनियाँ हास्छ उसले बिजोग बनाउँदिन । विकास नगरेपनि कम्तीमा विनास गर्दैन ।’

टेलिभिजन कमेडियन जेलेन्स्कीसर्वेन्ट अफ द पिपल’ नाटकबाट चर्चित भएका थिए । पछि उनको पार्टीको नाम पनि यही राखियो, ‘सर्वेन्ट अफ दि पिपल ।’ निवर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोको सरकार त्यहाँको महंगी, बेरोजगारी र गरिबि कम गर्न असलफल भएपछि जेलेन्स्कीको उदय भएको थियो ।

चुनाव प्रचारको क्रममा उनले दिएको एउटा भाषण विश्वमा निकै लोकप्रिय भएको थियो जसमा उनले पोलिटक्स र कमेडीको तुलना गरेका थिए । युठ्युबमा भेटिएको उक्त भाषण युक्रेनी भाषामा छ जसको बिचमा ‘नेपाल’ भन्ने शब्द पनि आउँछ । रुसी तथा युक्रेनी भाषाबिज्ञ डा. जुगल भुर्तेल भन्छन्– ‘हो, त्यसमा उनले नेपालको नाम लिएका छन् । त्यसमा जेलेन्स्कीले भनेकाछन्–अबको विश्व रुंने रुवाउनेको हैन, हाँस्ने र हँसाउनेको हो । नपत्याए नेपालको प्राईमिनिस्टरलाई हेर्नोस् !’

जेलेन्स्की राष्ट्रपति भएको औपचारिक घोषणा नभएपनि उनलाई विश्वभरीबाट शुभकामनाको ओईरो लागेको छ । क्यानेडियन कमेडियन रसेल पिटरले भनेकाछन्, ‘नाउ, द वोर्ल्ड ईन रुलिङ् बाई लाफ्टर ।’ भारतका कपिल शर्माले ट्विटेकाछन्, ‘ओए जेलेन्स्की पाजी, हमे भि कुछ टिप्स भेजो ।’ सिस्नुपानी नेपालले बक्तब्य निकालेरै स्वागत गरेको छ । अध्यक्ष लक्ष्मण गाम्नागेको हस्ताक्षरमा आएको बक्तब्यमा भनिएको छ, ‘जेलेन्स्की भाइ, तिमीलाई बधाई । तिम्रो कार्य सफल रहोस्, काल बिफल होस् ।’

चलचित्र ‘दाल–भात–तरकारी’को प्रमोसनमा ब्यस्त रहेका लोकप्रिय कलाकार हरिवंश आर्चायले गजुरीयल डटकमलाई भने, ‘धेरै अघि रसिया जाँदा उनिसंग एउटै मञ्चमा हँसाएका थियौं । आज राष्ट्रपति बन्दैछन् भन्दा मलाई पनि कुछ-कुछ भैरहेको छ । कमेडी पावर ईज मोर पावरफुल देन पोलिटिकल टावर !’

‘के नेपालले पनि कमेडियन राष्ट्रपति पाउला ?’ चिनियाँ समाचार संस्था हिन्वाको प्रश्नमा बरिष्ठ कमेडियन मदनकृष्ण श्रेष्ठले भने, ‘यो पटक प्रधानमन्त्री पाईसक्यो, अर्को पटक राष्ट्रपति पनि मिल्ला भन्ने आशा छ ।’

उता कमेडियन एक्टिभिष्ट मनोज गजुरेलले सिएएनएनएनलाई जवाफ थियो, ‘जसको जे क्षमता हो त्यो नगरेर उ गर्न थालेपछि त्यो बिगिन्छ । त्यसैले जो जुन क्षेत्रमा दख्खल राख्छ त्यसले त्यही क्षेत्रको प्रमुख बन्नु पर्छ । भावनामा बहकिएर नजाने गाउँको बाटो हिंड्न खोजियो त्यहाँ पुगिन्छ जहाँ केही पनि हुँदैन ।’

                                                                          -एजेन्सीको सहयोगमा गनोज मजुरेल गजुरीयल डटकमको इन्टरनेशनल डेष्क

 

*डिस्कलेमर
-गजुरियल डटकम नेपालको व्यंग्य न्युज अनलाईन हो । यसमा प्रकाशित सामाग्रीहरु अर्धसत्यमात्र हुन् । ध्रुवसत्य मानेर भ्रम पर्न गएमा तपाईंलाई हँसाउने हाम्रो प्रयास सफल भएको ठानिनेछ । यसमा प्रकाशित सामाग्रीहरु बिना सौजन्य कपि गर्ने, पोष्ट गर्ने, भिडियो बनाउनेलाई साईबर कानुनको दफा तिनले तोके अनुसार संचारमंत्री गोकुल बाँस्कोटाको भाषण एक घण्टा सुन्न बाध्य पारिनेछ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com