भूकम्पले केही नगरेपछि मोदी दु:खित, समाजसेवीहरु निरास, जस्ता ब्यापारी हैरान…

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार ०५:४०

 

-कवि कालिदास 

‘आई मिस यु काठमाण्डौं !’ भन्दै आज ०७६ को बैशाख ११ गते बिहान काठमाण्डौंमा दुईपल्ट भूकम्प आयो । नेपालीलाई अरुले नसंझेपनि भूकम्पले भने गहिरोसंग संझिरहेको रहेछ भनेर काठमाण्डौंबासीहरु जुर्मुराए, सड़क, आँगनमा ओर्लिए ।

‘बा, आज हामी स्कूल नजाने !’ बच्चाहरु खुसी भए । स्कुलहरु भुकम्पजत्ति पनि रोचक नभएको ठान्दै मनमनै सम्झिए- ‘वाह ! अब फेरि चौरमा पाल टॉगेर केही हप्ता पिकनिक खान पाइने भयो ! ‘

चार बर्षअघि ०७२ को बैशाख १२ पछिका दिनहरु याद गर्दै उत्साहित भए उनीहरु । तर अहिले दुई घण्टा भैसक्दा पनि तेस्रो भूकम्प नआएकोले उनीहरु निरास भएर गारो मानीमानी स्कूलड्रेस लगाउन थालेका छन् ।

यसैबीच, उता भारतमा पनि यस्तै निरासा फैलिएको कुरा नयॉ दिल्ली, बसन्तबिहारमा कार्यरत सस्ता र इमान्दार मनिएका नेपाली चौकिदारहरुले जनाएका छन् । उनीहरु निकट समाचारस्रोतका अनुसार प्र. म. नरेन्द्र मोदीले नेपालमा भुकम्प जानासाथ विदेशमन्त्री लाई फोन गरे – ‘हलो, सुषमा ! देखो नेपालमे फिरसे भूकम्प आनेका ख़बर है।’

 

यसो भन्दै उनले सुषमा स्वराजलाई अह्राए- ‘ठूलो भूकम्प आउन नपाई पहिलेजस्तै तुरुन्त यहॉ भारतबाट राहत सामग्री र केही हावादारी पत्रकारहरु नेपाल पठाउने तयारी तिमी गर । म चाहिँ त्यसको केही महिनापछि नाकाबन्दी लगाउने निहुँ खोजेर नेपाललाई सताउने तयारी गरौंला ।’ ‘ठीक है जी, पहले भूकम्प और बादमे भारतकंप ! “ सुषमाले हॉस्दै फोन राखिन् । श्रोतले भन्यो ।

तर बैगुनी भूकम्प भने तेहर्याएर आउने छॉटै छैन । यसकारण दुखी भैरहेछन् मानिसहरु । यता देशभित्र पनि राहत सामग्री आधा बॉड्ने र आधा खाने समाजसेवा गर्न पाइन्थ्यो कि भनेर उत्साहित भएकाहरु निदाउरो मुख लगाएर बसिरहेछन् । नुवाकोटमा त यस्तो कुराकानीसम्म भएको सुनियो – ‘महत दाजु, एक ट्रक जस्तापाता आफ्नै घरमा अनलोड गरिदिएर देशसेवा गर्ने चानस फेरि आउला कि ?’, ‘आयो भने त गजव हुन्थ्यो । तर आस नमारौं । भगवानले ज़रूर हेर्नेछ हामीलाई ।’ आदिआदि तथा अन्य ।

यता आमजनता भने भूकम्पको त्रासले त्राहिमाम् ! यो देखेर मनलाई सान्त्वना दिनेहरु पनि तत्काल सक्रिय भए । यसपल्ट भूकम्पको केन्द्रबिन्दु बारबिसे नभएर नौबिसे मात्र भएकोले ३ मात्रा घटेकोमा चियापसलमा उपस्थित डा. गफान बकबकले यो पक्ष सकारात्मक भएको जनाएका छन् । सर्वज्ञाता माता ठगानीदेवी र नामुद ज्योतिष दोबाटेन्द्र शर्माको सुझाव छ- ‘आत्तिनु पर्दैन, हामीले पराकम्पशान्ति महायज्ञ शुरु गरेका छाैं, यस यज्ञका लागि जतिसक्दो दान गरेका खण्डमा भूकम्पको मात्रा घटेर गई बारबिसेबाट तीनबिसेमा र बारपाकबाट चारपाकमा पुगेपछि सबै कुरा ठीक हुनेछ ।’ यो ख़बर पाएर नेपालका पढेलेखेका मानिसहरु, पार्टीका केही नेताहरु तथा समस्त टुपीधारी मनुवाहरु सक्रिय हुन थालको ख़बर छ ।

यसैबीच मनोज गजुरेलले आज घर हल्लिएलगत्तै भूकम्पले एनिभर्सरी मनाएको ब्यहोरा पोष्ट गरेका छन् । उनको यो कथनलाई लिएर देशभरी चर्चा चुलिएको ख़बर छ । यो कवि कालिदासले मनोजजीलाई तुरुन्तै सन्देश भेजेर बताएको छ- अहिले आएर पनि यस्तो एनिभर्सरीको प्रसंग चलाउनु भनेको देश र स्वयम् गजुरेलजीका लागि पनि हितकर कुरा हैन ।

 

 

*डिस्क्लेमर
कवी कालिदास हास्य व्यंग्यको स्थापित नाम हो । उप्रान्त उहाँले गजुरियल डटकममा नियमित कलम चलाउनु हुने अपेक्षा गरिएको छ । अनियमित भएको खण्डमा कवीजी काममा ब्यस्त हुनु भएछ भन्ने बुझिदिनु होला, धन्यबाद ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com