‘सबैभन्दा चांडो फकाउन सकिने जात, नेपाली !’ -राष्ट्रीय मनुसंधान केन्द्र

प्रकाशित मिति: १५ बैशाख २०७६, आईतवार ०४:४५

सायद हामी नेपालीहरु संसारका सबैभन्दा खुशी नागरिक हौं । हामीलाई खुशी हुन ठुल्ठुला कुरा चाहिन्न । मसिना कुराले हामीलाई दंग बनाउँछ ।

हामी घरमा बिजुली आउँदा खुशी हुन्छौं । वाईफाईको पासवर्ड पाउँदा खुशी हुन्छौं । फुलट्यांकी पेट्रोल भर्दा हामीलाई चुनाव जितेजस्तो हुन्छ । लाईन नबसी ग्याँस प्राप्त गर्दा संसारै जितेजस्तो लाग्छ ।

प्रहरीले आफ्नो नियमित दायीत्व पुरा गर्दा दंग हुन्छौं । कर्मचारीले सामान्य कर्तब्य निभाउँदा उमंग हुन्छौं । बिदेशी नेपाल मन पर्दैन भन्दा आफैंलाई आगो लगाउन तम्सिने हामी उसैले नेपाली गीत गाउ“दा त्यसैलाई पुज्न थाल्छौं । सरकारले कर्तब्य बिर्संदा कराउन हामी कानुन अनुसार चल्दा तुरुन्तै खुशी भैहाल्छौं ।

यो साता केही खुशीका खबर आएकाछन् । जस्तो कि राष्ट्रपति बिद्यादेवी भण्डारीले चिनमा नेपाली भाषामा बोल्नु भयो । ईदर दिदरको अंग्रेजीले दुनियाँ हँसाउनुभन्दा नेपालीमा बोलेर दोभाषे मार्फत् कुरा बुझाउनु धेरै राम्रो हो ।

प्रधानमन्त्रीको ठाडो आदेशमा खुलामञ्चमा डोजर कुद्यो । योपनि खुशीको कुरो हो । अब भ्रष्ट कर्मचारी र दुष्ट ठेकेदार पक्राउ परे झन् खुशी हुन्थ्यो ।

वालुवाटार जग्गा प्रकरण सरकारकै छानविन समितिले बाहिर ल्याएको हो । यसकालागि पनि हामी खुशी छौं । अब दोषि जतिसुकै उच्च होस्, उपनि कारवाही परे झन् खुशी हुन्छौं ।

उता भैरहवामा अन्तराष्ट्रिय एयरपोर्ट तयार हुनै लाग्यो । हामी यतिमै खुशी छौं । पोखरामा पनि चांडै ठूला जहाज उतार्ने तयारी छ । बहुत खुशी छौं ।

हामीलाई खुशी हुन ठुलो कुरै चाहिन्न । अन्तरिक्षमा सेटेलाइट पुग्नुभन्दा घर-घरमा खानेपानी पुग्दा खुसि लाग्छ ।आकासबाट जुन ल्याउनु पर्दैन, चाहिएको बेला बिजुली आए पुग्छ । चाईनाबाट रेल होईन, सार्वजानिक सवारीमा बस्ने सिट पाए हुन्छ । देशको समृद्दी एसियाली मापदण्डमा पुग्ने ‘कुरो’ भन्दा अन्तराष्ट्रिय मंचमा राष्ट्रपतिले मातृभाषामा आफ्नो कुरा राख्ने कार्यले हामीलाई खुशी बनाउँछ ।

जनताको खुशीकालागि सरकारले ठूल्ठूला काम गर्नै पर्दैन । यस्तै मसिना काम गरिदिए पुग्छ । हामी हाम्रो खुशी सपनाको सुपर मार्केटमा हैन, यर्थाथको रिटेल सपमा खोज्दछौं । सबैभन्दा चांडो फकाउन सकिने जात – नेपाली ! सरकारले यति सानो कुरो नबुझेको त छैन । मचाहिँ जान्ने भएर किन बोल्नु पर्या होला 🙂

 

*PIC: Social Media

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com