पि.ए.को तलब पिएपछि राष्ट्रिय सभाका ड्राईभरले दिए दह्रो जवाफ : ‘ म गतिलो रहेछु !’

प्रकाशित मिति: २३ बैशाख २०७६, सोमबार ०४:२२

ताननीय संसद सदस्यज्युहरु,
मेरो आर्थिक आचरणलाई लिएर धेरै प्रश्न उठेकाछन् । यस सन्दर्भमा केही गोप्य कुरा छरप्रष्ट पार्न चाहान्छु । राष्ट्रिय-सभा अध्यक्षको हैसियतले मैले पिए, गार्ड र ड्राइभरको सुबिधा पाउँछु । उनीहरुले पाउने तलब मैले नै मर्काएको समाचार राम्ररी सुझेको छु । यस्तो नगरेको भए हुन्थ्यो, यो पनि बुझेको हुँ । तर, ‘लोभले लाभ, लाभले पतासाफ’ हुन्छ भन्ने कुरा मार्क्सबादमा लेखिएको छैन, त्यसैले बुझेरपनि बुझ पचाएकोमा स्खलित छु ।

सांसद सदस्यज्युहरु,
वास्तवमा पैसामा मेरो रस हैन तर लोभ मान्छेको बसमा छैन । उहिले ढिंडो-रोटो खाएकै हुँ । थोत्रा-थाङ्ग्ना लाएकै हुँ । जनताका गीत गाएकै हुँ । पैदल हिंड्दा रमाईलो लाउँथ्यो । झुप्रामा बस्दा आनन्द आउँथ्यो । अहिले पार्टीले चुनाव जित्यो, माननीय बनायो । प्रतक्ष लड्ने इच्छा थियो, तानानीय बनायो । राजधानी आ’को छु । सभा-अध्यक्ष भा’को छु !

सदस्यज्युहरु
क्वाटरको बास छ, कार्यकर्ताको रास छ । पाहुनाको लर्को, मान्नु भएन झर्को । खाना-साना खिलाउनै पर्यो, बाटो खर्च मिलाउनै पर्यो । यति नगरे रिसाउलान्, भोट अन्तै मिसाउलान् । पैसा टिप्ने रुख छैन, चन्दा माग्न मुख छैन । त्यसैले ड्राइभर र पिएको हो , घुमाएर तलब लिएको  हो !

ज्युहरु,
राम्रै बाटो रोज्या थिएँ, शन्देश दिन खोज्या थिएँ । श्रमलाई गर्छु सम्मान, काम गर्न लाज नमान । मेरो पिए मैं बन्छु, ड्राईभरपनि मैं हुन्छु । यसैको झण्डा गाडेको हो, त्यसैले गति छाडेको हो !

हरु,
कत्रा-कत्रा भ्रष्टाचार अरुले लुकाउछन् जहिले । लोभको भाँडो फुटाउन सकेनछु मईले । जे हुनु थियो भैगयो, अलेली इज्जत गैगयो । मार्ने भए मर्दिउला, पैसा फिर्ता गर्दिउला !

अरु,
‘गतिलो’ भन्थे पहिले, अहिले भन्छन्- ‘अत्ती भो ।’ यति सोझो नेताको, किन बाङ्गो मति भो ? जे हुनु थियो भैगयो, एउटा कुरा कहन्छु, यो काण्डमा चिप्ले’नी, सधैं ‘गतिलो’ रहन्छु ! धन्यबाद ।

उही तपाईंहरुको
 गतिलो अर्थात्  गनेश तिम्सिनालोभी

 

*डिस्क्लेमर
ताननिय अध्यक्ष तथा सदस्यज्युहरु , गजुरीयल डटकम रियल कुराहरूको गजुरियल टिप्पणी हो । यहाँ प्रकाशित सामाग्रीहरू अर्धसत्य मात्र हुन्  ।कसैको जीवनसँग मेल खान गएमा संयोगमात्र हुने छैन, भूलसुधारको सुन्दर अवसर पनि बन्नेछ  😆 तस्विर : सामाजिक संजाल 

 

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com