भारी बहुमतके बाद मोदीलाई ओलीको बधाई : फोनवार्ताको अडियो सार्वनजिक भयो ! Fakclusive Report

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार ०२:५४

बिजयउन्मुख प्रधानमन्त्री भारतेन्द्र मोदीलाई भारी बहुमतका प्रधानमन्त्री नेपी ओलीले बधाई दिएका छन् । पुरा परिणाम आई नपुग्दै बधाई दिनुलाई बिभिन्न अर्थमा लिईएको छ ।

कसैले भारतसँग संबन्ध सुधारको अभ्यास भनेकाछन् भने कसैले सरकार जोगाउने प्रयास मानेका छन् । केहीले त हिजोआज ओली–मोदी सम्पर्क नै नभएको दाबी गरेका छन् ।

हाम्रो गोप्य श्रोतले भने हिजो भएको फोनवार्ताको अडियो नै आफुसँग रहेको दाबी गर्यो । प्रश्तुत छ, सोही अडियोबाट उतारिएको मोदी–ओली वार्ता, जस्ताको त्यस्तै !

(नेपथ्यमा चराचुरुंगीको आवाज सुनिन्छ । भित्र सन्नाटा छ । त्यसैबेला कल बेल बज्छ । कोठामा मान्छेको पदचाप सुनिन्छ ।)

प्र.म. ओलीः ‘ए राजेश, खै बुढालाई फोन लागेन !’

राजेशः       ‘को बुढा ठूल्बा, प्रचण्ड ?’

ओलीः       ‘पुष्पकमल भन । पुष्पजी भन्दा बुढो त मैं हुँ नि । मोदी बुढालाई फोन लाउनु भन्याथें। खै ईन्द्र ?’

(यसैबेला प्रमुख स्वकिय सचिब ईन्द्र भण्डारीको आवाज आउँछ ।)

ईन्द्रः   ‘म यहीं छु । मोदी भन्दा त तपाईं नै बुढा होला नि।’

प्र.म.: ‘ तपाईं भुँडी घटाउनोस्, मभन्दा बुढो देखिनुभा’छ ! (हांसेको आवाज आउंछ) राजन बुढालाई भन्याथें- मोदी बुढालाई फोन लाउनु भनेर ! सुति रहेका छन् कि क्या हो बुढा ?’ (फेरी हांसो)

(मान्छे हाँसेको आवाज आउंछ । त्यसै बेला बिदेश सल्लाहाकार डा.राजन भट्टराई हस्याङ् फस्याङ् गर्दै आई पुग्छन् )

राजनः ‘उठ्यो, उठ्यो !’

प्र.म.: यति चाँडै किन उठ्नु भएको ! सुत्नोस्, समृद्धिको सपना देख्नुपर्छ ।’

राजनः ‘मोदीको फोन उठ्यो भनेको । लिनोस् ।’

(मोबाईल प्रधानमन्त्रीलाई दिन्छन् ।) 

ओलीः (मुसुमुसु हाँस्दै) ‘हेलो एक्सीलेन्सी, हाउ आर यु ?

मोदीः ‘मित्रों, आई एम फाईन, थ्याङ्क्यू हैं…। आपका प्रेसर–स्रेसर तो नही बढा है ?’

(मोदी हाँसेको सुनिन्छ)

ओलीः ‘मोदीले जित्छ, ओलीलाई थिच्छ’ भनेजस्तो कुरा नगरिए न ! बधाई दिन फोन गर्या है ।’

मोदीः (लामो स्वास तान्छन्)   बहुत बहुत धन्यवाद है…।

ओलीः ‘कंग्राचुलेसन फर दुई तिहाई बहुमत फ्रम मि प्राईम मिनिस्टर ओली, माई कन्ट्री ओपाल एण्ड ओपाली पिपुल ।’

मोदीः ‘मित्रों, योर कंग्राचुलेसन ईज एसेप्टेड बाई मि मोदी, माई कन्ट्री मोदिस्तान एण्ड मोदीस्तानी जनता ।’

(त्यसै बेला प्रमुख राजनैतिक सल्लाहकार बिष्णु रिमालको आवाज आउंछ)

बिष्णुः (सानो स्वरमा) ‘ह्याण्ड्स फ्रि गर्नु न ह्याड्स् फ्रि !’

(प्र.म.ओली अप्ठेरो मान्दै चस्मामाथीबाट रिमाललाई हेर्छन् । चोर औंला ओठमा लगेर चुप् लाग्ने संकेत गर्छन् अनि फोनवार्तालाई निरन्तरता दिन्छन् ।)

मोदीः ‘यह जीत में सिर्फ मेरा नही, बाबा मुक्तिनाथ, बाबा पशुपतिनाथ और माता जानकीका भि हात है…।’

ओलीः ‘उहाँहरु पनि भोट दिन आउनु भएको थियो र ?!’ (मान्छे हाँसेको आवाज आउँछ ।)

मोदीः (मज्जाले हाँस्छन्) ‘अरे कमरेडजी, भगवान भोट नही, आर्शिवाद डालते है ।’

ओलीः ‘आर्शिवाद त मार्क्सवाद-लेनिनबाद भन्दापनि ठूलो होता रहेछ नि !’

मोदी: (कुटिल हाँसो सुनिन्छ) अच्छा तो कोल्हीजी, फिर बात करते हैं । हम दोनों दुई तिहाईवाले है । मिलजुलकर काम करेंगे ।

ओलीः (वरिपरि हेर्दै मुसुक्क हांस्दै सोध्छन्) ‘मुखमा राम राम, बगलीमा छुरा त नही है नि ?’

मोदीः (अट्टहास गर्छन्) ‘अरे, ढुक्क हो जाईऐ ! कुछ नहुन्जेलसम्म कुछपनि नही होता है !!’ (फोन काटिन्छ ।)

(एकछिन मान्छेहरु बोलेको सुनिन्छ । केही बुझिन्न । त्यसपछि सन्नाटा छाउँछ ।)

#डिस्क्लेमर
फोनवार्ताको टिपोट पठाउने गोप्य सुत्रलाई यसको अडियो माग्दा भन्यो, रेकर्ड गर्नै बाँकी छ । र, अन्त्यमा यो पनि भन्यो कि, गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्यमात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी, ब्यहोरा र शैलीसंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधान गर्ने सुन्दर अवसर पनि बन्नेछ  । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् !

तस्विर सौजन्य : सामाजिक संजाल  

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com