डुल्दै हिंड्दा बंगालादेशमा गोर्खालीको गाथा भेटियो, डेढयस बर्ष पुरानो नाता भेटियो

प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलवार ०५:११

 

‘हाम्रा बाजेहरु चार भाइ थिए रे ! ति मध्ये एक भाइ नुन लिन बिजनबारी गएका, कहिल्यै फर्किएनन् !’

‘कान्छा हजुरबा सानैमा लाहुर गएका थिए रे ! मरे कि बाँचे, अत्तोपत्तो छैन !’

‘राणाकालमै मावली हजुरबा बनारसतिर भासिए ! साठी बर्षसम्म हजुरआमाले कुरिन् तर न हजुरबा आए न खबर आयो !’

गाउँघरमा अहिलेपनि यस्ता कहानीहरु थुप्रै सुनिन्छ । हामी मध्ये धेरैको कथा पनि हुनसक्छ । आजभन्दा ८०–९० बर्ष अघि परदेसिएर संपर्क बिहिन भएका हाम्रा बाजे-बराजुहरु कहाँ बेपत्ता भए होला ! कतै तिनका सन्तान-दरसन्तानहरु दुर-देशमा जीवितै छैनन् ?

कतै न कतै अवस्य होलान् । भारतका दुर्गम गाउँमा दुःख गर्दै हुन सक्छन् । बर्माका पहाडहरुमा संघर्ष गर्दै हुन सक्छन् । फिजीको बस्तीहरुमा अड्किएका हुन सक्छन् । वेष्ट ईण्डिजका पाखाहरुमा फँसेका हुन सक्छन् । मलेसियाको गोर्खा भिलेजमा भेटिन सक्छन् । अथवा, बंगालादेशको चटगाउँ स्थित रंगमाटीमा पनि हुन सक्छन् ।

हो, बंगालादेशको रंगमाटीमा पनि हाम्रा गोरखालीहरु छन् । ‘अल्पसंख्य गोर्खा ट्राईब‘हरु आफ्नो भाषा, संस्कृति र परम्परा जोगाउन संघर्ष गरिरहेका छन् । आफुलाई ‘बंगालदेशी गोर्खा’ भन्न रुचाउने उनिहरु आफ्नो पितृभुमी नेपालसंग जोडिन चाहान्छन् । तर, उनिहरुलाई आफुसंग जोडि राख्ने मूलभुमी नेपालको बलियो नीति छैन । त्यसैले मूलभुमीबाट छुटेका ती नेपाली मनहरु बिस्तारै हामीबाट टाढा हुने खतरा बढ्दैछ ।

रंगमाटीका मनोज बहादुर गोर्खा टुटे फुटेको नेपाली मिसाएर बंगालीमा बोल्छन् । साठी बर्ष पार गरेका उनि स्थानीय संगीतकर्मी, साहित्यकार तथा बंगालदेशी गोर्खा अभियन्ता हुन् । बंगालादेशी गोर्खाहरु मध्ये नेपाली भाषा, संस्कृति, कला, साहित्य भनेर मरिमेट्ने उनको शेषपछि त्यहाँ नेपाली भाषा संस्कृतिपनि हराउने खतरा देखिन्छ ।

अनलाईनबाट मेरो ‘मितदाजु’ बनेका मनोज बहादुर गोर्खा गायक हुन् । चटगाउँमा उनि लोकप्रिय छन् । उनका थुप्रै चेला चेलीहरु छन् । उनको आफ्नै गोर्खा संगीतको टोली छ, ‘सुर निकेतन ।’ उनका पुर्खाले एकसय पचास बर्ष बर्षअघि मूलभुमी छोडेर अर्कै देश, अर्कै भेष, अर्कै भाषा, अर्कै परिस्थिति अंगाले । तरपनि गोर्खा सन्तान ‘मनोज दादा’को मुटुभरी पितृभुमीको माया छल्कि रहेको छ ! टुटे फुटेको नेपाली मिसाएर बंगालीमा गाउँछन्-
‘जेखाने थाकी, जेभावे थाकी, 
मोन आमार गोर्खाली !’

उनै मनोज दादा ‘शूर निकेतन’का साथीहरु सहित पहिलो पटक नेपाल आउँदैछन्– ‘बंगालादेशी गोर्खा सांस्कृतिक साँझ’ लिएर । सांस्कृतिक संस्थान संगको सहकार्यमा सिस्नुपानी नेपालले यो कार्यक्रमको आयोजना गर्दैछ– जुलाई १० तारिखमा । परिस्थितिले टुटेको नेपाली नाता संस्कृतिले जोड्ने यस कार्यक्रममा सुझाव, सल्लाह र सहकार्य सहित तपाईंलाई पनि हार्दिक निमन्त्रणा छ । -मनोज गजुरेल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com