‘संसद भवनको AC मा पानी बेसी भएपछि प्राविधिकहरु सेण्टिफ्ल्यांट !’ -गुरु प्रसाद

प्रकाशित मिति: २४ श्रावण २०७६, शुक्रबार ०२:५३

गाईजात्रा वर्षमा एकपटक आउँछ तर संसद भवनमा सधैँ जात्रा देख्न पाईन्छ । यता व्यंग्य कलाकारहरु प्रदेश-प्रदेशमा गाईजात्रा देखाउन रिहर्सलमा ब्यस्त छन् । उता हास्य सांसदहरु पालैपालो हँसाई रहेका रहेका छन् ।

सांसदको पछिल्लो हास्य शृंखला हो – संसद भवनको एसी ! जनता पिउने पानीको अभावमा काकाकुल छन्, भाकाभूलहरु अरबमा पानी सप्लाई गर्ने जोक हान्दै छन् । थोकमा आफ्नो कमिसन गन्दैछन् ।

कुनै बेला हाते पङ्खा चलाउन सामर्थ्य नहुनेहरु ‘संसदको एसीमा पानी सक्किएर ४ दिन देखि बैठक नै हुप्प तात्यो होस्’ भन्दै ध्यान आकर्षण गर्दैछन् । मानौं, जनताले उनीहरुलाई देशको होईन, एसीको चिन्ता गर्न पठाएका हुन् ।

‘सांचै एसीमा पानी सक्किएर गर्मी हुन्छ त ?’ हामीले अनुसन्धान शुरु गर्यौं । अनुसन्धानको पहिलो सुई यसो भन्ने मान्यानीज्यु स्वयंतिर सोझ्यायौं ।

सोधपुछ पश्चात पत्ता लाग्यो कि चुनावताका गाउँ घुम्ने क्रममा खोलामा पानीघट्ट देख्नु भएछ । माथिबाट आएको पानीले घट्टको हाते तर्बाईन घुमेको आफ्नै आँखाले दर्शन गर्नु भएछ । त्यहि दिन उहाँले ठम्याउनु भयो- शहरका घरहरुमा हुने फ्रिज, पंखा र एसीहरु सबै पानिले चल्छन् ।

चुनाव जितेर आएअछि यो कुरा सार्वजानिक गर्ने मौका पाउनु भएको थिएन । बल्ल यस पटक मौका प्राप्त भएकोले उहाँले ‘पानीले चल्ने एसी’को कुरा सार्वजानिक गर्नु भएको हो । यसमा उहाँको कुनै व्यक्तिगत इच्छा, गुनासो र चासो रहेको छैन । माननीयाज्यु एउटै सदिक्षा छ- ‘पानीबाट चल्ने एसी’को बारेमा विश्वले थाहा पाओस् र विदेश लगानी भित्रियोस् ।

                                            -गुरुप प्रसाद  । काठमाडौँ, साउन २४ गते

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com