‘चन्द्रयान २’ एलियनले कब्जा गरेको आशंका, युट्युबरहरुले मुक्त गराउने !

प्रकाशित मिति: २२ भाद्र २०७६, आईतवार ००:४३

‘चन्द्रयान २’ भारतको योजना भएपनि यसमा करोडौं मानिसको चासो थियो । यदि ‘बिक्रम ल्याण्डर’ले चन्द्रमामा टेक्न पाएको भए धर्तीबासीलाई वरदान सावित हुन्थ्यो । दुर्भाग्य, चन्द्र धरातलभन्दा २ किमि माथीबाट ईसरोसंग यसको सम्पर्क टुट्यो । अर्थात् चन्द्रयान चन्द्रमाको सतहबाट बेपत्ता भयो !


तरपनि वैज्ञानिकहरुले आस मारेका छैनन् । अहिले विश्वमा च्याउसरी युट्युब च्यानल खोलिएका छन् । झ्याउसरी समाचार र सुचना पस्किन्छन् । विश्वका युट्युबरहरु युट्युबरहरुले बेपता यान पत्ता लगाएरै छोड्ने वैज्ञानिकहरुको विश्वास छ ।

युट्युबको शिर्षक पढ्दा यस्तो लाग्छ, युट्युबरहरु विज्ञानभन्दा पनि यर्थाथबादी, धर्मभन्दा पनि सत्यवादी, कानुनभन्दा बलवाशाली, सत्यभन्दामाथी सत्यवादी र नेचुरलभन्दा पर सुपर नेचुरल कुरापनि पत्ता लगाउन सक्छन् ।

‘लाग्छ, जहांबाट विज्ञान असफल हुन्छ, त्यहांबाट युट्युब शुरु हुन्छ ।’ भारतीय अन्तरिक्ष एजेन्सीका सदस्य वाई क्रिस्ननले भने –‘हामी आशावादी छौं, चन्द्रयान जुनसुकै ग्रहमा बेपत्ता भएको भएपनि युट्युबरहरुले पत्ता लगाउनेछन् ।’ ‘झुठ खबर’ नामको च्यानल चलाउने चञ्चल राजले एउटा भिडियोमा भनेका छन्, ‘चन्द्रमासे गायब यान मंगलका जंगलमें मिला !’

‘भाईरल’ र ‘ट्रेण्डिङ’को मात्रै ‘ईस्यू’ खोज्ने युट्युबरकालागि यो ‘हटकेक कन्टेन्ट’ हो । छिटो गर्नोस् । टाईटलको पहिलो शब्द ‘चन्द्रयान २’ राख्नोस् । त्यसपछि जे लेखेपनि नहेरी सुखै छैन । लाईक, शेयर र सस्क्राईबको बाढी आउनेछ ! केही हेडलाईनहरु तल नि:शुल्क उपब्लध छन् ।

‘चन्द्रयान २ बेपत्ता हुनुको पत्ता लाग्यो’ ‘चन्द्रयान २ को पर्दाफास ।’ ‘चन्द्रयान २ को हत्यारा पत्ता लाग्दै ।’ ‘चन्द्रयान २ को रहस्यमय दुर्घटना’ ‘चन्द्रयान २ लाई यसरी हाईज्याक गरे एलियनहरुले ।’ ‘चन्द्रयान २ मा किन यस्तो आवाज आयो ?’ ‘चन्द्रयान २ मा चढ्ने यी दुई अनुहार को हुन् ?’ ‘चन्द्रयान २ का पाटपुर्जा चन्द्रगढिमा भेटियो ।’ ‘चन्द्रयान २ भारतले नै लुकाएको आशंका ।’ ‘चन्द्रयान २ अहिल्यै हेर्नोस् तर देखिन्न क्यारे !’ ‘चन्द्रयान २ चन्द्रगढीमा अवतरण ।’ आदि इत्यादि । छिटो गर्नोस् । मौका आउंछ फर्खंदैन, चन्द्रयान फर्कंदैन ।

  • डिस्क्लेमर
    गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्य मात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी-ब्यहोरासंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधार गर्ने सुन्दर अवसर पनि मिल्नेछ । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् 🙂 (तस्विर सौजन्य : सामाजिक संजाल )
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com