अबको प्रधानमन्त्री : कमल थापा, नथापा भए अब था’पा !

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार १४:२८

लाप्रपा नेता कमल थापा दाजुले भन्नु भएछ- ‘कांग्रेस र कम्युनिष्टले जनताको बिश्वास गुमाए ।’ यो कुरा दाजुले भाद्र २३ गते गृहनगर हेटाैंडामा बक्नु भएको हो ।

नेपाली राजनीतिको चर्चामा आइरहने एक नेताले सरकारमा छाई रहने पार्टीलाई किन यसो भने होला !? सरकारलाई हल्लाई रहने पार्टी नेपाली काङ्ग्रेसलाई किन त्यसो भने होला !?

यो प्रश्न हामीले केही अ-सर्वसाधारणलाई सोध्याैं। जवाफ निम्न छन् ।

रत्नपार्कमा भेटिएका मनप्रसाद भन्छन्- ‘आफ्ना पालामा झिंगा  नमार्ने, अर्काका गालामा डिंगा मार्ने भनेको यही हो । समुहमा टिक्न नसक्ने, जनतामा  बिक्न नसक्ने, आफु माथीको अविश्वास भुसुक्क बिर्सने, अरुले गुमाएको बिश्वास सधैं सम्झिने कमल काईदा ‘जस्ट फर लाफ’मात्र हो ।’

बानेश्वरमा भेटिएका भनप्रसादको बिचारमा कमन थापाको कुरा नमच्चिने पिंगको सय झट्कामात्र हो । ‘कहिले पार्टी एकताको झड्का हान्छन्, कहिले पार्टी फोडताको तड्का खान्छन् ।’

सुनसरीका सुन बहादुर भन्छन् – ‘कम्युनिष्ट /कांग्रेस घोडा चढेको देखेर कमल दाजु धुरी चढ्न खोज्छन् तर उक्लन सक्दैनन् । रानिबनबाट सिंह कराएकालेमात्र कमलदाजु जङ्गिएका हुन्, सिंहदरबारबाट बिल्ली कराएपछि   दुलो पस्न खप्पिस छन् ।’

संसद भवनको अखडामा भेटिएका एक राजनैतिक साधुको भनाई यस्तो छ-  ‘यिनि पुराना  हिँग ब्यापारी हुन्  । हिँग सकिए पनि टालो छोडेका छैनन् क्या !’

अब कस्को कुरो पत्याउने क्या ! कमल दाजुको यही भनाईलाई आधार मानेर कुन फनलाईनले लेखिदिन बेर छैन- ‘अबको प्रधानमन्त्री कमल थापा कि नथापा !’

 

  • डिस्क्लेमर
  • गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्य मात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी-ब्यहोरासंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधार गर्ने सुन्दर अवसर पनि मिल्नेछ । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् 🙂 (तस्विर सौजन्य : सामाजिक संजाल )
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com