सि फर्किएको भोलिपल्ट ‘विप्लव’ भेटिए

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलवार १०:५१

 

सि फर्किएको भोलिपल्ट ‘विप्लव’ भेटिएका छन् । मेरो अत्याधिक खोजीमा रहेका उनलाई बाबु मिरोजले भेटेको हो ।

हिजो ‘सर्च एण्ड सफाई’ अन्र्तगत घरको अज्ञात कुनामा उनि भेटिएका हुन् । सोधपुछ क्रममा विप्लवले दिएको वयान यस प्रकार छ :

‘२०४८ सालको कुरा हो । ‘युगान्तर साप्ताहिक’ नामको पत्रिका चल्दथ्यो । प्रेम कैदी सम्पादक थिए भने गिरिश पोखरेल संवाददाता । सोही पत्रिकामा मायानाथ गजुरेलको नाममा ‘सम्पादकलाई चिठ्ठी’ प्रकाशित भएको थियो ।

त्यतिखेर अपसेट प्रेस थिएन । एक एकवटा अक्षर खोजेर ‘कम्पोज’ गर्नु पर्दथ्यो । एकदमै झण्झटिलो । एकदिन ‘मायानाथे जगुरेले’ भएर छापिएछ । गिरिशदाईसँग खुब रिसाएँ– ‘मलाई यस्ता नाथे बन्नु छैन ।’

गिरिश दाईले मलाई फकाए– ‘तिम्रो नाम लामो छ । अक्षर खोज्न एकदमै झण्झट छ । मनोज लेख !’ त्यसपछिको अंकदेखी ‘मनोज गजुरेल’को नाममा युगान्तर साप्ताहिकमा स्तम्भ लेख्ने शुरु गरें ।

२,४ अंकपछि फेरी भने– ‘मनोजपनि कमन नाम भयो, एउटा टाईटल राख ।’ कुरो मन पऱ्यो तर टाईटल के राख्ने होला † कतै सुन्या थिएँ– जीवनमा एकपटक जो पनि क्रान्तीकारी हुन्छ रे ! मैले पनि त्यही दिन आफ्नो नामको पछाडी क्रान्तीकारी उपनाम झुण्ड्याएँ– मनोज ‘विप्लव’ गजुरेल ‘विप्लव’ !

त्यसपछि सोही नाममा नियमित लेख्न थालें– ‘यथार्थको
धरातल’ स्तम्भ अन्र्तगत । २०४८ सालदेखी २०५१ सालसम्म राजनैतिक, सामाजिक, सांस्कृतिक बिषयमा कलम चलाएँ । २०५२ सालदेखी यो ‘विप्लव’लाई त्यो विप्लवको जिम्मा लगाएर कलाकार मनोज गजुरेल बन्न थालें ।

ईतिहास अनुभव हो जो कहिल्यै मेटेर मेटिन्न । ती सबै जीवनका सिकाईहरु हुन् । आरोह, अवरोह, उकाली, ओरालीबाटै सिक्ने हो । सुखद, दुखद जे भएपनि सबै बिगतप्रति म सधैं कृतज्ञ छु ।

बिशेषत मायानाथलाई मनोज बनाउने गिरिशदाई प्रति, मनोजलाई ‘विप्लव’ बनाउने युगान्तर साप्ताहिकप्रति, सामान्य बिद्यार्थीलाई स्तम्भकार बनाउने पत्रकार प्रेम कैदीप्रति, बिषयवस्तु जुटाईं दिने तत्कालिन साथी, सहकर्मी र समय परिस्थितिप्रति ।

साँच्ची, २०४८ तिर चन्द कमरेड ‘विप्लव’ भैसक्नु भएको थियो कि नेत्र बिक्रम नै हुनुहुन्थ्यो होला ? जिज्ञासामात्र हो है, कपिराईट हैन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com