हार्नुको मज्जा- खेमराज पौडेल भर्सेस रवीन्द्र मिश्र !

प्रकाशित मिति: २० मंसिर २०७६, शुक्रबार ०९:२१

-केशवराज गजुरेल-

चुनावी परिणामको प्रसंगमा कास्कीका पराजित कांग्रेस उमेद्वार खेमराज पौडेलको भनाइ यसरी आयो, सुन्नेहरुको मनमा खुशी छायो । उनले भनेछन् – सम्झीदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन । म इमान्दार रहेछु, कास्कीको प्रत्येक  मत , अनि देश बिदेशका हरेकको मायाँ प्रति । राजनीति जितें, मत जितिनं तर  मन जितें कि जस्तो लाग्छ । बिजयी नानीलाई हृदयले बधाई – राम्रो गर्नु ।’

त्यसैगरी परिणाममा आफ्नो पार्टी कमजोर रहेपछि, जमानत समेत जफत भएपछि  साझा पार्टीका नेता रवीन्द्र मिश्रले मनको तितो पोखेछन्- ‘जनताले गल्ती गरे, भ्रष्टचारीलाई नै भोट भरे !’

बितेको बैंस, पाकेको केश भएका खेमराज बालाई बधाई छ । तपाईंको मनले जीवन र जगतलाई बुझेको रहेछ । चुनाव त जित्नु भएन तर हारको पीडालाई सामान्य बनाएर प्रशन्नता प्रकट गरेर दुनियाँलाई खुशी पार्नु भयो । उता साझा पार्टीका एकल नेताज्युको मल्हम बिनाको जलन सुन्दा भने टुप्पाबाट पलाउनुको अर्थले मेल खाएको अनुभूति भयो ।

हामीले उहिल्यै देखि  बिभिन्न प्रसंगमा सुन्दै आएको यो भनाइ निकै अर्थपूर्ण छ । ‘टुप्पाबाट पलाएकाहरुको के कुरा गर्नु ?’ ‘टुप्पाबाट पलाएपछि यस्तै हुन्छ  ! टुप्पाबाट पलाएकासंग कुरा मिल्दैन’ आदी ।

टुप्पाबाट पलाउनु भनेको बेमौसमी फल फल्नु ,आँतमा नभएको बल चल्नु हो । कर्म बिनाको आश लाग्नु, लोभले निम्त्याएको त्राश जाग्नु हो ।

मिश्र सर देश / विदेश खाई विशेष हुनु भएको मान्छे हुनुहुन्छ । वहाँलाई केही सोध्ने इच्छा जाग्यो, केहि सुझाव दिन मन लाग्यो । तपाईं अलि हतारिनु भएको त हैन ? एउटा बिरुवा पनि रोप्ने बित्तिकै कहाँ फल फल्छ र ! वर्तन नहाली बत्ति कहाँ बल्छ र ! आखिर गोडमेल, मलजल र संरक्षण पछिकोलामो पर्खाईबाट पो फल खान पाइन्छ त । हैन र  ?

बर्सौंसम्म बारी बाँझो छाडेर परदेश धाउनु भो, ढिलै भए पनि फर्किएर आउनु भो । बालीनाली फलाउन खेताला लाउनु भो ! न तपाईंसंग बलिया  हल नै छन् , न प्रशस्त औजार छन्  !  न राम्ररी  जोत्नु भएको छ बाँझो, न फुटेकोछ राम्ररी राँटो, न मलिलो भएकोछ त्यहाँको माटो ! न सघाउने आफ्ना भाई, न खेताला नै पाउनु भो स्थाई !

धन्न बारीको एक छेउबाट जोत्न पाउनु भयो, त्यसैमा मोहियानी लाउनु भयो ! तपाईं यसैमा रमाउनुस, इमान्दार भएर काम समाउनुस् ! बिस्तारै दाना लाग्न थाल्नेछन् बोटमा, मल्हम लाग्न सुरु हुनेछ पुरानो चोटमा ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com