‘यती’ भेटिएपछि WWF उत्साहित, अध्यक्ष रोबर्टले गरे प्रधानमन्त्री ओलीसंग फोनवार्ता !

प्रकाशित मिति: ७ पुष २०७६, सोमबार १३:४०

 

विश्व वन्यजन्तु कोष (WW-UF) ले नेपाल सरकारलाई ठुलो मात्रामा अनुदान दिने भएको छ । कोषका अध्यक्ष्य रोर्बट कार्टरले एक भक्तत्य जारी गर्दै यो कुरा बताएका हुन् ।

यकिन रकम नखुलाईए पनि अनुदान पचास करोड डलर बराबरको हुनेछ । बनमन्त्री भक्ति बहादुर बस्नेत र अध्यक्ष कार्टरले आजै गोकर्ण रिसोर्टमा संझौता–पत्रमा हस्ताक्षर गरेकाछन् ।

कार्यक्रममा अध्यक्ष रोर्बटले भने, ‘यती खोज्नकालागि हामीले कति धेरै दुःख गर्यौं । अहिले काठमाण्डौमै भेटिंदा हामी दङ्ग छौं । विश्वका प्रकृतिप्रेमीहरुमा खुशीको तरङ्ग आएको छ । ’

जवाफमा मन्त्री बस्नेतले विश्वका जन्तुबिद्लाई आह्वान गर्दै भने, ‘अब दुर्गम हिमालमा हैन, यती खोज्न गोकर्ण फरेष्ट रिसोर्ट, दरबारमार्ग, नेपाल ट्रष्टका बिभिन्न स्थान आउनोस् । सजिलै देख्नु हुनेछ, भेट्नु हुनेछ ।’

कार्यक्रमको संयोजन ‘एसोसियन अफ पावर ब्रोकर्स, नेपाल (AOPBN) ले गरेको थियो । यती संरक्षणमा योगदान दिने ब्यक्तिलाई सम्मान पनि गरेको छ । सम्मानित हुनेमा नाम चलेका बिभिन्न पार्टीका भिन्न भिन्न नेता र मन्त्रीहरु छन् । यती संरक्षणकर्ताको सम्मानार्थ कोषले आजै रात्रीभोजको आयोजना गर्दैछ, खाने भए जानोस् ।

काठमाण्डौमै यती भेटिएको समाचार सार्वजानिक भएपछि एनिमल प्लानेट, डिस्कोभरी लगायतका मिडियाकर्मी प्लेन चार्टर गरेरै आउन थालेका छन् । नेशनल जोग्राफिक च्यानलले त नेपालमै कार्यालय राखेर ‘यती’ नामको नयाँ च्यानल शुरु गर्दैछ ।

अपुष्ट श्रोतका अनुसार, अध्यक्ष रोबर्टले प्रधानमन्त्री केपी शर्मा ओलीसंग फोनवार्ता पनि गरे । रोबर्टको भनाई उदृत गर्दै श्रोतले भन्यो, ‘यतीको संरक्षण गर्न केपीको सरकारले कुनै कसर बाँकी राख्नु हुन्न, साह्रो गाह्रोमा सघाउन यती छँदैछ ।’

 

 

*डिस्क्लेमर

-गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी, ब्यहोरा, शैलीसंग मेल खाएमा संयोगमात्र हुने छैन, भुल सुधार गर्ने सुन्दर अवसर पनि बन्नेछ  । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com