सिद्धबाबाको ‘क्यारिकेचर’ गर्ने पक्राउ, मनोज गजुरेल तारेखमा, सुमन कार्की रिहा, कमेडी च्याम्पियन सुचारु !

प्रकाशित मिति: १० पुष २०७६, बिहीबार १०:०५

महान् तपस्वी ‘सिद्धबाबा’को आवाज ‘क्यारिकेचर’ गरेर बदनाम गर्ने ब्यक्ति पक्राउ परेको छ । यो कुरा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले बताएको हो ।

एक अनुयायीले बलात्कारको आरोप लगाएपछि प्रहरीले सिद्धबाबालाई गिद्ध शैलीमा समातेको थियो । बाबाका हनुयायीहरुले भने हावाका भरमा पक्रिएको आरोप लगाएका थिए ।

आरोप पुष्टी गर्नेगरी ‘गुरु–चेली संवाद’को एउटा अडियो सार्वजानिक भयो । तर सिद्धबाबा स्वयम्ले त्यो आवाज आफ्नो नभएको बताई बक्सियो । यहांसम्म कि आफ्नो आवाज प्रमाणित भएर ‘जिब्रो र लिब्रो’ काटेर फ्यांक्ने घोषणा समेत गरि बक्सियो । त्यसपछि प्रहरी निकै अप्ठेरोमा परेको थियो ।

षडयन्त्रकारीहरुले बाबालाई फसाउन कुनै क्यारिकेचरिष्टलाई प्रयोग गरेको आशंकामा जब प्रहरीले अपराधी खोज्न थाल्यो तब बाबालाई प्रेसर, सुगर, उगर र नगरले समात्यो ।

सिद्धि, योग र तन्त्रका ज्ञाता सिद्धबाबामाथी षडयन्त्र गर्नेको खोजी गर्ने क्रममा हरिवंशदेखी मनोज गजुरेलहुँदै कमेडी च्याम्पियनका सुमन कार्कीसम्म शंकाको घेरामा परे । पक्राउ पर्ने डरले राजा राजेन्द्र डेरा सरे । रेडकर्नरमा परिने डरले सुबोध गौतम झण्डै मरे । दिनेश काफ्लेले मोबाईल अफ गरे ।

अन्ततः सत्यको जीत भएरै छाड्यो । त्यो अडियो न कुनै चर्चित कलाकारको थियो न त सिद्धबाबाको नै थियो । त्यो त एक गेरुवस्त्रधारीको थियो ।

लामो खोज, अनुसन्धानपछि प्रहरीले घोषणा गर्दै भन्यो– ‘वास्तवमा सिद्धबाबाको आवाज भनिएको त्यो अडियो सोलुखुम्बुमा जन्मभै हाल सुनसरीको चतरामा बाबागिरी गर्दै हिंड्ने कृष्ण बहादुर गिरीको थियो ।’

त्रिशुलधारी, त्रिकालदर्शी, चमत्कारी श्री सिद्धबाबाज्यूको बदनाम गर्ने नीज गिरि अहिले मामाघरमा छन् । बाबाको बदनामी,  धर्मको मानमर्दन, अध्यात्मको बेईज्जती, अनुयायीमाथी धोकाधडीको आरोपमा अभियुक्त गिरिमाथी कारवाही हुने प्रहरीको दाबी छ ।

अनाहकमा सिद्धबाबामाथी लागेको यो लाल्छनाप्रति हामी खेद प्रकट गर्दछौं । श्री हनुमानजीले बाबालाई बदनामी सहने बलियो शक्ति प्रदान गरुन् । जय गुरुदेव !

*डिस्क्लेमर

-गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी, ब्यहोरा, शैलीसंग मेल खाएमा संयोगमात्र हुने छैन, भुल सुधार गर्ने सुन्दर अवसर पनि बन्नेछ  । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com