जनताले कांग्रेसलाई ‘रामराज्य’ फर्काउने सुझाव दिए !

प्रकाशित मिति: १६ पुष २०७६, बुधबार १२:५४

जनतालाई कांग्रेसको प्रश्न : ५ वर्ष जेल बस्न तयार हुनुहुन्छ ?

कांग्रेसलाई जनताको उत्तर :कठिन भयो हजुर ! कसरी जिउँने होला ? बितेको २० बर्षे ‘रामराज्य’को यादले सारै सतायो । आहा ! अवधिको सुरुवात मै मध्यावधि सुन्न पाउने बाटो हराएको छ ! जिताउने र हराउने कथा बुन्ने खेलाडीहरुको सातो हराएको छ । भुल्नै कठिन छ हजुर ! हजुरले मागेको जति पाएको दिन, टोक्नै नसकेर टुक्रा पारेको दिन ! बोकाकोमुखमा कुभिन्डो झैं बोक्नै नसकेर भुइमा झारेको दिन ! त्यो दिन झल्झल्ली सम्झन्छु, मन चसक्क चस्किन्छ ! अहंकार र स्वार्थले भाइ- भाई रुटाएको दिन, तानातान गरेर पाकेको खाना भएको भाँडो फ़ुटाएको दिन ! कहाँ बिर्सिन सकिन्छ र, छिमेकीसंग कलह मच्चाएएको, घुमाई घुमाई उनैलाई भुँइमा थच्च्याएको दिन ! छिटै फर्किन मन छ हजुर, त्यो रामराज्यमा ! खै, कहिले हट्ला र अरुले समाएको यो कुदिन, अब फर्केला त हजुरकै हातबाट चिप्लिएको सुदिन् !

हिजोको झझल्कोमात्र आएपनि त ५ बर्ष बिताउन सजिलो हुन्थ्यो नि ! कोलाहाल सुन्ने मन थियो, खै त सडकमा खासै लाठी चल्दैनन् । कुहिरिमंडल कान्तिपुर देख्ने रहर थियो,टायर कतै जल्दैनन् ! त्यहि त अचम्म छ हजुर ! हिजो आज सडकमा जिउँदाहरुको मोक्षका निम्ति मुर्दावादका भजन खासै गाँइंदैनन्, बैकुण्ठवासा होस् भनेर धारे हात पनि लाइंदैनन् ! जिउँदाहरू मोक्ष भएर सबै भित्र लुकेका हुन या भजन गाउँनेकै ओठमुख सुकेका हुन ! लौन, छिट्टै खोजि गरियोस , ५ बर्ष सम्म टिक्नै सकस भयो हजुर मलाई त्यै सुनौलो दिन फर्काइयोस् !

फोटो साभार : ( सामाजिक संजालबाट )

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com