आठ करोडको आरोप लागेका चन्द्रदेव जोशीलाई अख्तियारको हुस्सु पुरस्कार ! 

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार १०:२३

-केशवराजा

हिजोआज ललिता निवास काण्डले निकै चर्चा पाएको छ । यसै मेसोमा सरकारी पक्षको दाबी छ – ‘पहिलो पटक ठुला माछा समातिए ।’ बिपरित बिचार राख्नेहरुको तर्क छ – ‘केवल भुरा माछा जालमा पारेको हो ठुला माछा मारेको होइन !’

उता प्रतिपक्षको कुरा सुन्दा लाग्छ- सरकारले संरक्षण गर्नुपर्ने कछुवालाई माछा भनेर पछार्न खोज्दैछ ! कछुवा संरक्षित स्थान उर्फ बुढानिलकण्ठलाई नै लछार्न खोज्दैछ !

सडकको चिच्याहट सुन्दा लाग्छ, कुनाकानी लुकेर बसेका कछुवाको पनि बिचल्ली होला कि भन्ने डर छ ! समातेको एउटामात्र कछुवा भगाउँने रहर छ !

यी त भए बालुवाटार जग्गा प्रकरणका पक्ष र विपक्षका कुरा, अब गरौँ  एउटा ‘मध्यक्ष’ कुरा अर्थात् यताउताका कुरा ।

उमेर अस्सी तिरका, कपाल फुलेका, तालु खुलेका, छाला सुक्दै गएका,  नाक फुक्दै गएका एक निरिह भुरा माछाको कुरा ।

न उनमा सत्ता प्राप्तीको सम्भावना थियो, न चुनाव उठ्नेको चाहना थियो । न मंत्री हुने रहरले जनतामा सपना साटेका थिए, न चुनावमा उठेर खोक्रा भाषण नै छाँटेका थिए । उनले मंत्री हुने डंका पिटेर चन्दा पनि उठाएका थिएनन् ।

झण्डा डण्डा बोकेर गुण्डा पनि जुटाएका थिएनन् । चुनावको ऋण तिर्न आफ्नालाई ठेक्का पार्नु पनि थिएन, धेरै कुम्ल्याउन कमिशन झार्नु पनि थिएन !

गाैंडो ढुकेर बस्नेले नै हात्तीलाई धाप लगाउँन पाउँछ भनेझैं ख्याल ख्यालमै उनको पार्टीलाई पनि अवसर आयो, नेकपा संयुक्तले मंत्री पायो ! सानो पार्टी, थोरै नेता । अगुवा ठानेर यिनैलाई दिए होला !

दशकौं सम्मको राजनीतिक लगानीको ब्याज ठाने होलान्, मन्त्रीमा जान माने होलान् !

आज मिडियामा उनि गिडगिडाउंदै न्यायको भिख माग्दै भन्दैछन् – ‘आठ करोड भनेको कस्तो हुन्छ, जान्न पाको  छैन, आठ लाख पनि गन्न पाको छैन !  चार महिने मंत्री बर्षौं झैं रह्यो, त्यहि पद मलाई अभिसाप भयो ! कसले मलाई न्याय गर्ने हो, अन्यथा म जेल मै मर्ने हो !

यिनको कुरा सत्य हो भने, हामीले पनि पत्याउनु पर्छ । उनका कुरा मान्ने हो भने यिनलाई हुस्सु मंत्री भन्नु पर्छ ! हुस्सु मन्त्रीलाई हुस्याउने चतुर ब्युरोक्रेसीलाई कानूनमा कस्तो दण्ड ब्यवस्था छ कुन्नी !

(फोटो साभार : सामाजिक संजाल )

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com