गोबरलाई गुँदपाक बनाउँदा ७० करोडको जोक बन्यो…

प्रकाशित मिति: ९ फाल्गुन २०७६, शुक्रबार २०:५८

-केशवराजा

‘प्रधान बा’ सजिलै सबैलाई बिश्वास गर्दैनथे । बालाई घर चलाउन एउटा विश्वासिलो ‘हतियार’ चाहिएको थियो । गाउँघर जान्न सक्ने, कडा डाईलग हान्न सक्ने ठेट्नो खोज्दै जाँदा गोक्लु बाबुलाई फेला पारे ।

आफुले भनेको मान्ने, अरुलाई हप्काउन जान्ने ‘प्रतिभा’ पाएर प्रधान बा मक्ख थिए ! गोक्लुको बोली सुन्नासाथ छिमेकीले प्रधान बालाई सल्लाह दिएका थिए – ‘होस गर्नोस् , यसले तपाइंको नाकमा गोब्र्याउन सक्छ !’ तर, प्रधान बाले गोक्लुको गोबरलाई गुँदपाक ठानिरहे ।

तर बा को ठनाई लामो समय टिकेन। ग्यास्टिकलाई घिउ नपचे झैं गोक्लुको हावा खुस्कन थाल्यो । दुर्गन्धले परिवारका सदस्यहरु निकै डराए । असह्य भएपछी छिमेकीहरु पनि कराए !

बाहिरै कुटिहाल्नु पनि भएन । ढोका बन्द गरेर बा ले भनेका थिए रे –  ‘बल्लबल्ल जागिर पाको छस्, मेरै घरमा बसेर खाको छस् । यसरी छरछिमेकीलाई कोट्याउने काम नगर ! जागीरको आयु छोट्याउने काम नगर !’

बाका कुरा गोक्लुले सुन्दै सुनेनन् । छिमेकीलाई गन्दै गनेनन् ! हान्ने घोडा झैं अगाडी बढीरहे । आफ्नैसँग लडिरहे !

साथीभाइले पनि भनेकै हुन् – ‘अत्ति गरे खति हुन्छ ! धेरै चढ्नु हुँदैन, लडिन्छ !’ गोक्लुले साथीभाईलाई आलु पण्डित मान्यो ! आफुलाई पुराण सुन्ने भालू पण्डीत ठान्यो । कैलेकाही कथा सुन्नु परेको झोकमा झम्टीन थाल्यो !

आखिर अत्तिले खत्ति हुन्छ भन्ने जानेकै हो । यस्तो नगरिदेउन बाबा भनेकै हो ! अजिवसंग सजिवले प्रतिशोध नलिने कुरै भएन । रिसले शत्रु खोज्छ भन्ने सुजेकै हो, शत्रुले बदला रोज्छ भन्ने बुझेकै हो !

बदला लिनेहरु गौंडामा ढुकेर बसेका थिए, मौका छोपेर बदला लिए ! आज ‘प्रधान बा’ लाई सबैले भन्दैछन् – ‘देख्नु भयो त, गोक्लुले नाकामा गोबर दलेरै छाडेन त !’ प्रधान बा केही बोल्नु भएन तर मनमनै भन्नू भो – ‘यो त ७० करोडको जोक हो ।’

कुराकानी सकियो
सन्देश लेख्नुहोस् …

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com