रुकुम काण्डले झापा हल्लाउँदै, वाहुनडाँगी दलितसाथमा (Real Kura)

प्रकाशित मिति: ११ असार २०७७, बिहीबार १२:३८


-नारायण कडरिया

वाहुनडाँगी, झापा

मान्छे मारिएको, काटिएको, कुटपिट भएको, बलात्कार भएको समचारलाई सनसनिपूर्ण समाचार मात्र बनाएर आफ्नो ‘टिआरपिकारिता’ चलाउने पत्रुकारहरुले महोदय ! तपाईंले देखेका ‘टिआरपी न्युज’ बाहेक पनि संसार छ । त्यतातिर पनि ध्यान दिनु भए सहि अर्थमा राज्यको चौथो अंग बन्न सक्नु हुन्थ्यो ।

जस्तो कि रुकुमको चौरजहारी, सोतीमा जेठ १० ६ जना युवाहरुको ज्यान लिने गरि भएको निर्मम हत्याकाण्डको समुदायस्तरमा सम्भवत: पहिलोपटक जेठ २३ गते झापाको बाहुण्डाँगीमा बिरोध र्याली र सभा भयो । त्यहाँ जातीय विभेद विरुद्ध, मानवताको पक्षमा मानिसहरु घर-घरबाट स्वतस्फूर्त निस्किए । कुलो पैनी बनाउन हिंडेका जनताहरु समेत सहभागी भेला भए । र, बाहुण्डाँगी बजारमा बिरोध सभामा आयोजना गरे । सानो र्याली र सभा भएपनि विभेदको अन्त्य र न्यायपूर्ण समाजको निर्माण गर्ने दिशामा समुदायले देखाएको साहस महत्त्वपूर्ण थियो जुन ‘टिआरपिकारिता’ देख्न सकेन ।

र्याली र सभामा सहभागी दलित र गैरदलित साथीहरूले जातीय विभेदको विषयमा थप बुझ्ने चाहना देखाएपछि हामीले आमडाँगीको ‘ नव किरण युवा परिवार’ को प्राङ्गणमा ३ दिने प्रशिक्षण चलायौँ । सहभागी साथीहरूले थप गर्न आग्रह गरेपछि २ दिन थप गरेर ५ दिनको प्रशिक्षण चलायौँ ।

उक्त प्रशिक्षणमा सहभागी भएका दलित साथीहरूले ‘दलित’ शब्दको अर्थदेखि लिएर सयौं बर्षदेखि सत्ता र समाजले उनिहरुमाथी गरेको दमनका बारेमा बुझ्नुभयो भने, गैरदलित साथीहरूले पनि यो दमन र जातीय विभेद दलितको मात्र नभएर यसमा गैरदलितहरु आफैं पनि कैद भएको थाहा पाउनुभयो । दुवै समुदायको परस्पर सहकार्यले नै समाज समृद्धितर्फ उन्मुख हुँने हुँदा विभेदको अन्त्यका लागि सबैले निश्पक्ष, विवेकशील र जिम्मेवार भएर काम गर्ने प्रतिवद्दता सहित कार्यक्रम सम्पन्न भयो ।

समापन कार्यक्रममा सहभागीहरुले आ-आफ्नो सिकाई, बुझाई सबैलाई सुनाए । समापनमा रेडियो साथीका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थी नेता आशिष प्रधान, बाहुण्डाँगीका सामाजिक राजनीतिक अगुवा व्यक्तित्व अर्जुन कार्कीको समेत उपस्थिति थियो । दुवैले प्रशिक्षणको सान्दर्भिकताबारे आफ्ना भनाईहरु राख्नुभएको थियोे । साथै स्थानीयबासीहरु, शिक्षक श्याम आचार्य, प्रशिक्षक बिनय कार्की, रिसब आचार्य पनि उपस्थिति रहेको थियो ।

लौ, न यस्ता उत्प्रेरणा, उत्साह र जागरणका कुरालाई पनि समाचार बनाउँ । हत्या र हिंसालाई खाली ट्रेण्डिङ्ग र सस्क्राईब बढाउने माध्याम मात्र बनाउनु भएन क्या ! त्यस्ता घटना दोहोरिन नदिने धर्म पनि गरिदिनुस् न हौ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com