‘अफ द रेकर्ड’ भित्रको ‘गफ द रेकर्ड’ !

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार ०९:३७

-केशबराज गजुरेल

कुरो हप्तादिन पुरानो हो तर कहानी महिनौसम्म चल्नेछ।  गतहप्ता  राष्ट्रपति महोदयाले केही सम्पादकहरुलाई चिया चपाउन बोलाएर कुरा चपाउन अनुरोध गर्नु भएछ । अर्थात्  ‘गफ दि रेकर्ड ‘ गरेपछि  अकस्मात  ‘अफ दि रेकर्ड’ भन्नु भो रे। यसलाई हाम्रो गाउँघरतिर भनिन्छ- चुपचाप चारआना, हल्ला गरे बाह्र आना !

बडो अचम्म भो !  बोलाएको किन होला ! बोल्न किन नमिलेको होला ? आउनोस्- गजुरीयल अनुमान गरौँ-

पत्रकार महोदयहरुलाई लागेको हुन सक्छ – ठुलो स्वरमा चरी कराएपनि समाचार हुन्छ ।  राष्ट्रपतिले नै बोलाएपछि झन् केही बिशेष होला  ! तर डायरी-कलम बोकेर गएकालाई प्लेट चम्चा थमाएर खाजा खुवाउनु भएछ !  हिस्स आमै हरिया दाँत बनाउनु भएछ !

प्रश्न उठ्छ – राष्ट्रपतिले  भोज खान पाहुना बोलाए झैँ किन बोलाउनु भयो होला ?

सायद  विगतका समाचारहरु पढ्नु भएथ्यो होला !  वहाँसंग सम्बन्धित टिप्पणी हेर्नु भएथ्यो होला ! कति समाचारले वहाँलाई गुन लाएथ्यो होला ! कुनैले त नुनचुक नै पिलाएथ्यो होला ! लाखका सारीका कुरा होस् वा करोडका गाडीका कुरा होस् ! अरबको जहाजको ल्याउने कुरा होस् वा शुभकामनामा समबेदना पठाउने कुरा ! यस्ता समाचार देख्ने राष्ट्रका चार नम्बर आँखा यिनै हुन भन्ने बझ्नु भयो क्यारे  !

त्यसैले, वहाँ संबैधानिक राष्ट्रपति भएकाले लागेका कुरा प्वाक्क बोलिहाल्न मिलेन  ! यी त सरकारले गरेका काम न हुन् ! वहाँले त केवल मौनता साँधेकोमात्र हो ! आफै माथि तातोपानी खन्याउदा रिस त उठ्दो होला नि ! रिसको पोको खोलिहाल्न पनि मिलेन होला !

कसो गर्दा हुन्छ भनेर सल्लाह लिनुभो ! बोलाएर खाजा पार्टी दिनुभो ! यसैलाई भनिन्छ- एक तीर दुई सिकार ! पत्रकारलाई बोलाउनु भयो, खाजा खुवाउनु भयो। बिरोध गर्न नमिल्नेगरी गुन लगाउनुभो, नजानिँदो पाराले नुन खुवाउनु भयो ! चुपचाप चार आना, हल्ला गरे बाह्र आना भनेको यही होला ! कि  कसो ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com