डिजिटल युगमा बाको मुख हेर्ने ‘ईजिटल’ आईडिया !

प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार १४:०५

-केशवराज गजुरेल

 

आज बुबाको मुख हेर्ने दिन । बुबा जिउँदै हुनेले प्रत्यक्ष तनबाट, नहुनेले अन्तरमनबाट श्रद्धा गर्ने हो । मुख त सधैँ पनि हेरिन्छ तर आजको दिन बुबाले गरेका सकारात्मक कामको सम्झना गर्ने हो । वहाँको जीवनमा हौसला भर्ने हो ।

तर, आजकाल हामी बुबाको मुख हेरि रहेका छौँ की मुखमा कालो दलि रहेका छौँ ? मुख हेर्नुको अर्थ  जुँघा मुनिको ओडारको दर्शन गर्ने हैन । तर हामी  त्यतीमात्र गरिरहेका छौँ । बुबाको मुख हेर्ने दिनको प्रतिकात्मक अर्थलाई बुझ पचाई रहेका छौँ  ।

अरुबेला बुबाका कुरा सुन्दै नसुन्ने , आमाका कुरा गुन्दै नगुन्नी तर बर्षमा एकदिन बुबा आमाको मुख हेरेर के गर्नु ? अगाडीबाट कुराले हान्नु, पछाडीबाट छुराले हान्नु तर फेसबुकमा एकदिन चिप्लो घस्नु के अर्थ भयो र !

मुटु बिझाउने गरि वचन लाउनु, मन कुँडिनेगरी  उनकाे कुरा काट्नु , आँखा अगाडी उनैलाई  ढाँट्नु, आफुले कुनै पौरख नगर्नु, बाबुको कमाइमा लडाईँ गर्नु अनि एकपल्ट ‘आई लभ यु बाबा’ भनेर के अर्थ हुन्छ !

बाबुसँग कलह गर्नु, मनमा सधै द्वैष पाल्नु, काममा भाँजो हाल्नु,  बर्षभरी मन दुखाउँनु, एकदिन आएर चिल्लो लाउनुको लागि हैन आजको दिन । यसो गर्नु ढाेङ् हाे, स्वाङ हो, बिचारमा परेको भ्वाङ हो ।

बाबाको सम्मान भनेको सानो छउन्जेल भनेको मान्ने, पढ्ने गुन्ने ग्यानी बन्ने ! वयस्क भएसी काममा लाग्ने, पौरख गर्ने ! परिवारको लागि समृद्धि भर्ने ! नाम कमाउने, दाम कमाउने, गौरव बढाउने, बुबाआमाको इज्जतमा श्री चढाउँने !

बुबा बृद्ध छन् भने स-प्रेम स्याहार गरोस् ! साना बच्चाबच्ची लाई झैँ   केयर गरोस् ! जाडोमा न्यानो लुगा किनि देओस् । लठ्ठी टेकाएर पछि पछि हिँडि देओस् ! खाना, पानी सधै गरम गरोस्, बोली चाली अझै नरम गरोस् ! साना तिना कमजोरी लुकाई देओस् ! स्रद्धाले शीर सधैँ झुकाओस् !

यतिमात्र गर्न सके फेसबुकमा फोटो पोष्ट्याउँनै पर्दैन । यो पनि गर्न नसक्नेले केही नदेओस् तर बाकाे चित नदुखाओस्

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com