कमेडी च्याम्पियन २ : ‘जज’को नजरमा आफ्नै ‘जजमेन्ट’ !

प्रकाशित मिति: ३ आश्विन २०७८, आईतवार ११:४२

कमेडी च्याम्पियनको दोश्रो सिजन सकिएको छ । हजारौंबाट सयौं, सयौंबाट दर्जनौं, दर्जनौंबाट उत्कृष्ट तीनहुँदै बिजेताघोषणा भैसकेको छ । यो बिचमा धेरै राम्रा र प्रतिभाशाली कमेडीयनहरुलाई भेट्यौं । उनिहरुलाई आफ्नो कला अनुभव सुनाउने र उनिहरुका ‘कमेडी ट्रेण्ड’ सिक्ने सुन्दर अवसर मिल्यो ।

परम्परागत कमेडीको बिरासतलाई सम्मान गर्न, समसामयीक शैलीबाट सिक्न र  भविस्यको हास्यब्यङ्ग्य ‘फर्म्याट’लाई आत्मसात गर्न यो ‘प्लेटफर्म’ले ठूलो मद्धत गर्यो । परिकल्पनाकार विशाल भण्डारी लगायत  सम्पुर्ण टीमप्रती आभार ब्यक्त गर्दछु ।

‘जज प्यानल’मा रहनु भएका अग्रज सन्तोष पन्त, प्रदीप भट्टराई र रिचा शर्मासँगको सहकार्य अविस्मरणीय, आत्मीय र अर्थपुर्ण रह्यो  । कमेडी च्याम्पियनको मन्चकी मुटु रिमा बिश्वकर्मा, कलेजो मेक्सम गौडेल, फोक्सो केकी अधिकारी लगायत सिङ्गो च्याम्पियन शरीरसँग गहिरो सम्बन्ध स्थापित हुनपुग्यो । 

‘जज प्यानल’मा रहेर नयाँ प्रतिभाहरुलाई जाँच्ने, तिनका क्षमतालाई परख्ने, हौसला दिने र समीक्षा गर्ने काम सहज थिएन । एकातिर ‘कन्टेन्ट’मा सामाजिक मुल्य र मान्यता, राष्ट्र र राष्ट्रियता र ब्यक्तीको आत्मसम्मानप्रती गम्भीर हुनु पर्दथ्यो । अर्कातिर मनोरन्जनको स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन पनि दिनु आवस्यक थियो । 

‘निर्णायक’को कुर्सीमा बसेर हामीले त्यो जिम्मेवारी बहन गर्न सक्यौं सकेनौं, त्यो आदरणीय दर्शकलाई छोड्न चाहान्छु । तरपनी हास्य ब्यङ्ग्य कलालाई मनोरन्जक, शिष्ट, सभ्य र समाजोपयोगी बनाउने हाम्रो प्रयास थियो, छ र रहनेछ ।

यद्यपि कमेडी च्याम्पियनको निर्णायकको भुमिका निभाउने क्रममा हामी (बिशेषत मबाट) थुप्रै कमी कमजोरी भए होलान् , मेरो वाणीबाट कसैको चित्त दुखाएँ होला । मेरो शैलीले कसैको भावनामा चोट पुग्यो होला । त्यो नियत नभएर मानवीय कमजोरी बुझी क्षमा दिनुहोला । 

समिक्षाका क्रममा प्रतियोगीलाई रुखो बोल्यौँ हाेला, त्यो तपाईंको प्रतिभा निखार्नकोलागी  थियो न कि निरुत्साहित  पार्नकालागी ! कमेडीमा तपाईंहरु जति माथी पुग्नु भयो, हामी त्यति खुशी हुनेछौं । जति परिस्कृत कला पस्कनु भयो, हामीलाई त्यतिनै गौरव महसुस हुनेछ ।

अन्त्यमा, भुलचुक लिने/दिने ! हास्ने, हसाउने, प्रेरणा लिने र उत्प्रेरित गराउने अभियान जारी रहनेछ । अब केही फरक  ‘खाना-खजाना’कासाथ कहिँ कतै भेट हुने नै छ । अहिलेलाई यति, बाँकी चाडैँ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com