अधुरै रह्यो ‘राई-गजुराई साँझ’😢देहत्याग गर्न मातृभुमी !

प्रकाशित मिति: ८ कार्तिक २०७८, सोमबार १५:५७

केही दिनअघि मात्र मित्र वाङ्ला लामाको नम्बरबाट फोन आयो- ‘हाओ, के छ हौ गाउँले ?’ नंबर वाङ्लाजीको भएपनि स्वर अर्कैको थियो । मैलेपनि पुर्वेली शैलीमा जवाफ दिएँ- ‘ठिकै छ हौ, को पो बोलि पठाउनु भो ?’ उताबट पनि उस्तै शैलीमा भेद खुल्यो- ‘बोली पठाको हैन, म किसन राई बोलेको हौ ।’

छोटो र स्पट बोल्ने किसनले भने- ‘अहिले हामी मुस्ताङ घुम्नु आको छौँ, फर्केपछि एकदिन ‘राई-गजुराई साँझ’काे आयोजना गर्नुपर्छ है ।’ यस्तो वाचा गरेर पुर्व लागेका मित्र किसन राईले हिजो शरीर छोडे भनेको सुन्दा म मर्माहत भएको छु😭

हङकङमा बसेर पत्रकारिता गर्ने किसनजी आफ्नो पुर्ख्यौलीभुमी ओखलढुंगा घुमेर फर्कने क्रममा खोटाङमा भिरबाट लडेर बितेको समाचार छ । प्रिय किसनको भौतिक देहप्रती हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनलाई सुम्निमा र पारुहाङले सहन गर्ने क्षमता प्रदान गरुन् 🌷

१९९८-२०१६ को बिचमा म लगभग १२ पटक कार्यक्रमकालागि हङकङ पुगेँ । ती प्रत्येक कार्यक्रममा किसन कहिले आयोजक त कहिले दर्शकको रुपमा आउँथे, ‘कमरेडको कमेडी हेर्नू आको नि’ भन्दै ! मेरामात्र हैन, हङकङमा हुने हरेक कार्यक्रमका नियमित श्रोता, दर्शक, आयोजक र समिक्षक हुन् उनी ।

कहिले ‘धरान मञ्च’को अध्यक्षका रुपमा, कहिले ‘नेपाल खबर’को सम्पादकको रुपमा, कहिले मातृभाषा अभियन्ताका रुपमा, कहिले नेपाली संस्कृति प्रवर्द्धकका रुपमा किसन राई हङकङमा सकृय रहे । अबपनि उनको नाम हङकङ्गेली नेपालीबिच जीवन्त रहने विश्वास छ ।

जीवनको लामो समय जन्मभुमि बाहिर बिताएका किसन, दुर्भाग्य भनौं वा भाग्य- अन्ततः आफ्नै जन्मभुमिको माटोमा समाहित हुन पुगे ।

हक्की, निडर, प्रष्ट वक्ता, रमाईलो व्यक्तित्व भएका किसनको त्यो अन्तिम आवाज अझै मेरो कानमा गुन्जी रहेकोछ- “एकदिन ‘राई-गजुराई’ साँझ गर्नुपर्छ है हाउ गाउँले !”

…यो जीवनमा त ‘त्यो साँझ’ जुरेन गाउँले,😢अर्को जीवन मिलेछ भने पुरै एक महिना सँगसँगै देश-दर्शन गरौंला किसनजी !

अहिलेलाई तपाईंको आत्मीक यात्रा मङ्गलमय बनोस् 🙏पारुहाङ र सुम्निमासँग यही प्रार्थना छ । हरि ॐ तत्सत् अर्थात् यही नै सत्य हो 🌐

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com