के हो, तपाईंहरु बोल्नु हुन्न त ?!

प्रकाशित मिति: २० फाल्गुन २०७८, शुक्रबार ११:१५

‘तपाईं किन बोल्नु हुन्न ?’
‘म बोलिरहेको छु ।’

‘तपाईं कसको पक्षमा त ?’
‘म न्यायको पक्षमा ।’

‘अन्याय कसलाई परेको हो ?’
‘कुरो अदालतमा पुगिसक्यो, त्यो उसैले बताउला ।’

‘तपाईंको विवेकले के भन्छ ?’
‘निर्दोष फंस्नु हुन्न, दोषी उम्कनु हुन्न ।’

‘त्यसो भए दोषी को हो ?’
कसको नजरमा ! कानुन, समाज कि मेरो ?’

‘कानुनको नजरमा ?’
‘म कानुनविद् हैन तर कानुनभन्दा माथी कोही पनि छैन ।’

‘अनि समाज र तपाईंको नजरमा ?’
‘मेरो नजरमा म र समाजको नजरमा हामी सबै दोषी छौं ।’


‘गल्ती अरुको अनि दोषचाहीं व्यक्ति र समाजको ?’
‘हो । किनभने, मैले सामाजिक दायीत्व पुरा गर्न जानिनँ होला ! सार्वजानीक ब्यक्तिहरुले सामाजिक मर्यादामा रहन सकेनन् होला ! त्यसको प्रत्यक्ष असर समाजमा पर्यो ।’

‘यसरी घुमाएर उत्तर नदिनोस् । सिधा प्रश्नको सिधा उत्तर दिनोस्, तपाईं उनको पक्षमा कि तिनको पक्षमा ?’
‘भनें त, म सत्यको पक्षमा ।’

‘त्यसोभए सत्य के हो ?’
‘तपाईंको नजरमा यो सत्य होला, मेरो नजरमा त्यो ! तर, तपाईं र मेरा यी बुझाई वास्तविक सत्य हैनन्, नीजी धारणामात्र हुन् ।’

‘वास्तविक सत्य के हो त त्यसोभए ?’
दोषिलाई दण्ड र पीडितले न्याय कानुनले दिन्छ । कानुनले नदिए समाजले दिन्छ । र, समाजले पनि नदिए समयले दिन्छ, ढिलो वा चाँडो ।’

‘यो त सैद्धान्तिक जवाफ भयो । व्यवहारिक उत्तर दिनोस्- गल्ती कसको होला ?
‘गल्तीमा क्षमा हुनसक्छ, अपराधमा दण्ड जरिमाना । तर, अपराध यही हो र गल्ति यसैको हो भन्ने ठोकुवा गरेर अनुसन्धानलाई प्रभावित पार्ने अधिकार हामी कसैलाई छैन ।’

‘तपाईंको प्रष्ट जवाफ आएन, मैले अब के बुझौं ?’
‘मेरो जवाफ प्रष्ट छ- बिषय कानुनी प्रकृयामा प्रवेश गरिसकेको छ । र, यो न्यायसंगत हिसाबले टुंगिनुपर्छ, मेरो बिचार यही हो । आरोप प्रमाणित भए दोषीले मात्र सजाय पाउँछ । तर, हाम्रा नीजि धारणाहरु सामाजिक सञ्जालमा गिजोलिंदा पिडक र पीडित भनिएका ब्यक्तिहरु कस्तो मानसिक अवस्थाबाट गुज्रनु परेको होला ?! घटनासंग असम्बन्धित उनिहरुका आफन्तले कति पारिवारिक तनाव र सामाजिक सामाजिक अवहेलनाबाट व्यहोर्नु परिरहेको होला ?! अब यतातिर पनि संवेदनसिल हुने कि ?’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com