स्वास्थ्य सेनाले कब्जा गर्यो भोजपुर बजार, भन्यो- ‘अब भोज पुर्ने होईन, भोज खुवाउने हो !’

प्रकाशित मिति: २९ फाल्गुन २०७८, आईतवार १३:३२

‘भोजपुर’को न्वारान कसरी भयो ? यस बारेमा बिभिन्न तर्क गरिंदै आएको छ । सबैभन्दा प्रचलित तर्क हो, भोज पुर्ने कथा । नेपाल विस्तार गर्दै हिंडेको गोर्खाली फौजले त्यो अनाम डांडामा पुगेर भोज खाएको थियो जसको कुनै नाम थिएन । बढी भएको भोज त्यहीं पुरेर हिंडेपछि यस ठाउँको नाम ‘भोजपुर’ भएको रे !

पृथ्वी नारायाण शाहले नेपाल विस्तार गरेझैं नेपाल चिकित्सक संघले स्वास्थ्य सेवा विस्तार गर्ने क्रममा त्यही ‘भोजपुर’मा हालै दुईदिने स्वास्थ्य शिविर खडा गऱ्यो । त्यस अवसरमा आफ्ना १२५ जनाभन्दा बढी डाक्टर तथा प्यारामेडिक्सको ‘फौज’ले भोजपुरेहरुलाई नि:शूल्क तथा भब्य स्वास्थ्य सेवाको ‘भोज’ दिएको थियो ।

दुई दिनसम्म चलेको उक्त ‘भोज’मा चार हजार बढि ‘भोजनार्थी’ सहभागी भए । भोजपुरेलाई एउटा सुविधासम्पन्न एम्बुलेन्स समेत उपलब्ध गराएपछि ‘फौजी कमाण्डर’ डा. लोचन कार्कीले भने- “अब भोजपुरलाई ‘भोज पुरेको’ले हैन, ‘भोज दिएकाले’ भोजपुर भनिएको मान्दा हुन्छ ।”

डा. कार्कीको कमाण्डिङ्मा गएको स्वास्थ्य यो फौजलाई दावाँली मिलन क्लबले मेनेजमेन्ट गरेको थियो भने लजिस्टिक सर्पोट माछापुच्छ्रे बैंक लागायतले गरेका थिए । त्यसैगरी सेल्टरको चाँजोपाँजो भोजपुर नगरपालिकाले मिलाएको थियो । ‘सुबेदार मेजर’ रोशन श्रेष्ठ, ‘फ्रल्टलाईन प्रेसीडेन्ट’ नवराज पाण्डे तथा ‘चिफ स्टाफ अफ भोजपुर’ कैलास कुमार आलेले ब्याटल ग्राउण्डको मेनेजमेन्ट तथा सेक्युरिटीको तारतम्य मिलाएका थिए ।

स्वास्थ्य सेवा ‘भोज’कालागि भगवान स्वयम् भोजपुर आउने कुरा पब्लिकले पत्याएका थिएनन् । तर, ब्याटल ग्राउण्डमा डा. भगवान कोईरालालाई देखेपछि भुतपुर्व, वर्तमान तथा भावी मुटुरोगीहरु दंग, फुरुंग तथा चंगा भएका थिए ।

त्यसैगरी बरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द कुमार श्रेष्ठ, डाक्टरहरुका पनि डाक्टर डा. गोर्खाली लगायत बरिष्ठ स्वास्थ्य सेनाहरुले भोजपुरेको नि:शूल्क रेकी तथा ट्रिटमेन्ट गरेका थिए । त्यसैगरी बरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द कुमार श्रेष्ठ, डाक्टरहरुका पनि डाक्टर डा. गोर्खाली लगायत बरिष्ठ स्वास्थ्य सेनाहरुले भोजपुरेको नि:शूल्क रेकी तथा ट्रिटमेन्ट गरेका थिए ।

भोजपुर पुगेको रोग प्रतिरक्षक लडाकुहरुमा ग्यास्ट्रोलोजिष्ट डा. भुपेन्द्र बस्नेत, छाला तथा यौनरोग विषेशज्ञ डा. सञ्जुवाबु श्रेष्ठ, न्यूरो सर्जन डा.प्रत्यूस श्रेष्ठ, डा. प्रमोद जोशी, हाडजोर्नी विषेशज्ञ डा. बद्री रिजाल, डा. अनिल कार्की (नाक, कान, घांटी), डा. मनोज लाखे (मुटु), डा. शिवजी पौडेल (क्यान्सर) डा. दीपक सिग्देल (फिजिसियन), दन्तरोग प्रतिरक्षक डा. फरवार्ड सिलवाल लगायत लगभग सयजना लडाकुहरु थिए ।

यसैगरी संयुक्त राष्ट्रसंघकालागि पूर्व राजदुत दुर्गा प्रसाद भट्टराई, पुर्व आईजी दुर्जकुमार राई, सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठपनि यो स्वास्थ्य सेवा ‘भोज’मा सहभागी भए । नेपाल सरकारका राज्यमन्त्री माननीय उमेश श्रेष्ठले आफ्नो जन्मथलोमा क्याम्प खडा गरेकोमा स्वास्थ्य सिपाहींहरुलाई पिर्के सलामी अर्पण गरे ।

भोजको अन्त्यमा सिस्नुपानी नेपालका जोकोलोजिष्ट टंकराज आचार्यले टेन्सनको उपचार गरेका थिए भने ह्युमर थेरापिष्ट डा.मनोज गजुरेल (स्वघोसित) ले भोजपुरलाई आधा घण्टासम्म कब्जामा लिएर मोजपुर बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com